newskoseli.Com

‘माथिको आदेश’ मा प्रदर्शनीमार्गको सडक बन्द : हप्तौंदेखि सास्ती खेप्दै यात्रु

एक सातादेखि राष्ट्रिय सभागृहदेखि पदमोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौं सवारी साधन र हजारौं यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा सहरका मुख्य भागमा ट्राफिक जाम हुने गरेको छ ।

यो सडक बन्द भएको निहुँ पारेर उपत्यकामा सञ्चालन भइरहेका यातायात व्यवसायीले मन लाग्दा सवारी चलाउने मन नलाग्दा ‘बाटो बन्द छ’ भन्दै ग्यारेजमा थन्क्याउने गर्दा यात्रु दोहोरो मर्कामा परेका छन् । सवारी साधन नपाउँदा यात्रु राति अबेरसम्म पैदल हिँड्न बाध्य छन् ।

साँखु घर भई न्युरोडस्थित एक पसलमा कार्यरत समिना श्रेष्ठ यो सडक बन्द भएकैले बेलुकी सवारी साधन पाउन नसकिएको सुनाउँछिन् । “बेलुकी सवारी नपाउँदा कहिले दुई–तीनवटा सवारी परिवर्तन गरेर घर जानुपर्छ त कहिले हिँडेरै जानुपर्छ । सडक थोरै बन्द गरे पनि हामीले धेरै दुःख पाउनु परेको छ । जनप्रतिनिधि निर्वाचित भएपछि हाम्रा समस्या समाधान गर्लान् भनेको त सुरुमै सास्ती पो खेप्नुपर्‍यो”– उनले भनिन् ।

रमाइलो त के छ भने ‘यो सडक कसले बन्द गरेको’ भनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक लोकेन्द्र मल्लसँग जिज्ञासा राख्दा उनी ‘माथिको आदेशमा बन्द गरिएको’ बताउँछन् । ‘माथि’ को कुन निकायको आदेशमा बन्द गरिएको भन्ने उनले खुलाउन चाहेनन् ।

ट्राफिक प्रहरीले ‘माथिको आदेशमा’ सडक बन्द गरेको बताएपछि गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीसँग सम्पर्क गर्दा उनले भने मन्त्रालयले सडक बन्द गर्ने आदेश नदिएको बताए । “माथिको आदेशमा सडक बन्द गरिएको भनी अमूर्त कुरा गर्न मिल्दैन, कसले सडक बन्द गर्न भनेको छ चिठ्ठी छ भने देखाउन सक्नुपर्छ”– उनले भने ।

मत परिणाम सुन्न आउनेको भीड व्यवस्थापनकै लागि सडक बन्द गरिएको भन्ने तर्कसँग सहमत हुन नसकिने सडक प्रयोगकर्ताको भनाइ छ । सामाजिक सञ्जाल नहुँदाका बेला सभागृहमा मत परिणाम सुन्न लागेजस्तो भीड अहिले छैन । मत परिणामका विषयमा सूचना सम्प्रेषण गर्न प्रमुख सञ्चार माध्यमका पत्रकार सभागृहभित्रै बसेका छन् । सूचना सार्वजनिक हुने बित्तिकै राष्ट्रियस्तरका सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

अझ फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका कारण मत गणनास्थलमा रहेका दलका प्रतिनिधि, सञ्चारकर्मीले नयाँ सूचना प्राप्त हुनासाथ सार्वजनिक गरिरहेकै छन् । यसैले गर्दा सभागृह परिसरमा मतपरिणाम सुन्न पहिले जति भीड छैन । कुनै दलले वडा विजय गर्दा सामान्य र्‍याली निस्कने गरेको छ । यसका लागि सडक बन्द गरेर यात्रुलाई दुःख दिनु नपर्ने सवारी खोज्दै भौंतारिएका श्यामसुन्दर श्रेष्ठ बताउँछन् ।

वैशाख ३१ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन भएपछि त्यसै रातिदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिको मतगणना भइरहेको छ । अहिले १३ स्थानमा मतगणना भइरहे पनि सबै मतगणना सक्न अझै एक साता लाग्ने देखिन्छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा सभागृहबाट पदमोदय मोड सडकमा सवारी रोकेकै कारण मतगणना स्थललाई व्यवस्थापन गर्न सकिएको दाबी गर्छन् । “सभागृहबाट पदमोदय मोडसम्म सवारी चलाउन दिने हो भने सवारी र मानिसको भीड व्यवस्थापन गर्न सकिँदैन, अहिले सडकमा सवारी रोकेकैले मतगणनामा सहज भएको छ”– उनले भने ।

ट्राफिक प्रहरी महाशाखाले शङ्करदेवबाट पुरानाे बसपार्कसम्मको सडकको दायाँबायाँ दोहोरो सवारी पार्किङ गर्न दिँदा सवारी चलाउन अप्ठ्यारो भएको चालकको गुनासो छ । यो क्षेत्रमा पार्किङ निषेध नगर्दा पनि घन्टौं जाममा बस्नुपर्ने बाध्यता रहेको चालक ज्ञानबहादुर तामाङले बताए ।

अघिपछि सडकमा पार्किङ गर्ने सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिए पनि एक सातादेखि स्थानीय तह निर्वाचनकै कारण वास्ता नगरेको स्थानीय व्यापारीको भनाइ छ । एकतर्फी मात्र भए पनि सभागृह हुँदै सडक खुलाइए यात्रुले सास्ती खेप्नु नपर्ने बताउँछन् उनीहरु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर