newskoseli.Com

सूचनाको हक र सूचना अधिकारीको कर्तव्य

के हो सूचनाको हक ?

सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वका सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ ।

सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायका काम–कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्माणकार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामग्रीको प्रमाणित नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएका सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकारलाई समेत जनाउँछ ।

को हुन् सूचना अधिकारी ?

सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने अधिकारीलाई सूचना अधिकारी भनिन्छ । सूचनाको हक कार्यान्वयन गर्ने–गराउने सवालमा सबैभन्दा बढी जिम्मेवार सूचना अधिकारी नै हुन्छ ।

सूचना अधिकारी जति सूचनामैत्री एवम् जनसहयोगी हुन्छ, सूचनाको हक कार्यान्वयन त्यति नै सहज हुन्छ । ऊ जति सूचनामैत्री नहुने तथा जनसहयोगी नहुने हुन्छ, सूचनाको हक कार्यान्वयन त्यति नै असहज हुन्छ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ मा प्रत्येक सार्वजनिक निकायमा सूचना अधिकारी हुनुपर्ने व्यवस्था छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ (१) मा आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने दायित्व सूचना अधिकारीको हुने उल्लेख छ ।

सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीको सबैभन्दा बढी र महत्त्वपूर्ण जिम्मेवारी रहेको कुरा ऐन–कानुनमा भएका सूचना अधिकारीको दायित्व एवं काम, कर्तव्य र अधिकारबाटै प्रष्ट हुन्छ ।

के–के हुन् सूचना अधिकारीका दायित्व ?

– नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने–गराउने ।
– सूचनाको वर्गीकरण र अद्यावधिक गरी समय–समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने–गराउने ।
– सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने ।
– आफ्ना काम–कारबाही खुला र पारदर्शी रुपमा गर्ने ।
– उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने ।

सूचना अधिकारीका काम कर्तव्य र अधिकार

– ऐनबमोजिम प्रवाह गर्न मिल्ने (र नमिल्ने सूचना भए प्रवाह गर्न नमिल्ने सूचना छुट्टयाएर) सूचना निवेदकलाई उपलब्ध गराउने ।
– सूचना प्रवाह गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चार माध्यमबाट गर्ने ।
– सम्भव भएसम्म यो ऐन लागू हुनुभन्दा २० वर्षअघिसम्मका आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गरी राख्ने ।
– आफ्नो निकायसँग सम्बन्धित ऐन–नियमले तोकेको सूचना सूचीकृत गरी प्रत्येक ३–३ महिनामा स्वतः सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने ।
– आफ्नो कार्यालयको सूचना नियमित रुपमा प्राप्त गर्ने ।
– सूचनाको उचित सुरक्षा, संरक्षण र भण्डारण गर्ने ।
– सूचना मागकर्तालाई सूचना माग्न प्रोत्साहित एवं आवश्यक सहयोग गर्ने ।
– लेखपढ गर्न नजन्ने सूचना मागकर्ताको निवेदन सुनेर तयार गरिदिनुपर्ने र निवेदकलाई त्यसबारे जानकारी गराएर दर्ता गराई दिनुपर्ने ।
– कानुनअनुसार सूचना अधिकारीले आफूकहाँ सूचनाको माग गर्दै प्राप्त निवेदनमा १५ दिनभित्र सम्बोधन गरिसक्नु पर्ने ।
– सूचना अधिकारीले निवेदकद्वारा माग भएको सूचना सम्भव भएसम्म माग भएको स्वरुपमा नै उपलब्ध गराउनु पर्ने ।
– निवेदकले माग गरेको स्वरुपमा सूचना उपलब्ध गराउँदा यदि सूचनाको स्रोत बिग्रने, भत्कने वा नष्ट हुने सम्भावना भएमा सूचना अधिकारीले सोको कारण खुलाई उपयुक्त स्वरुपमा निवेदकलाई सूचना उपलब्ध गराउन सक्ने ।
– कुनै व्यक्तिले कुनै लिखत, सामग्री वा काम–कारबाहीको अध्ययन वा अवलोकन गर्नका लागि निवेदन दिएको भए सोको लागि मनासिव समय उपलब्ध गराउनु पर्ने ।
– कुनै सूचना तत्काल उपलब्ध गराउन नमिल्ने भए सूचना मागकर्तालाई सोसम्बन्धी जानकारी दिनु पर्ने ।
– नागरिकले माग गरेको सूचना निजको जिउ–ज्यानको सुरक्षासँग सम्बन्धित भए सूचना अधिकारीले २४ घन्टाभित्र उपलब्ध गराउनु पर्ने ।
– सूचनाको मागसम्बन्धी निवेदन सोझै दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने ।
– सूचना शाखाको प्रमुखको रुपमा काम गर्ने ।

सूचना अधिकारीले उच्च मनोबलका साथ नागरिकले माग गरेको सूचना यथासक्य चाँडो उपलब्ध गराई अभिलेख राख्ने, लिखित वा मौखिक जसरी सूचना मागे पनि दिनुपर्ने, आफ्नो फोटो, सम्पर्क नं. सहितको फ्लेक्स बोर्ड प्रकाशन गर्नुपर्ने, माग गरिएको सूचना आफ्नो निकायमा नभएमा वा उपलब्ध गराउन नसकिने भएमा तत्कालै सोही व्यहोराको लिखित जानकारी गराउनु पर्ने, प्रत्येक ३–३ महिनामा आफ्नो निकायसँग सम्बन्धित गतिविधि सार्वजनिक गर्ने, सार्वजनिक गर्न मिल्ने सूचनाहरु वेबसाइटमा राखी सुरक्षित राख्नेलगायतको कर्तव्य निर्वाह गर्नु पर्दछ ।

लोकतन्त्रमा सूचनाको हकलाई प्राणवायुका रुपमा लिइन्छ । सूचनाको हकले अधिकतम खुलापनको सिद्धान्तलाई आत्मसात् गर्दछ । यसले नगरिकका नाममा हुने काम–कारबाहीबारे नागरिकलाई जान्न पाउने अधिकार हुने मान्यता राख्दछ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ तथा नेपालको संविधान, २०७२ ले समेत नागरिकलाई सूचनाको हक दिए तापनि ती अझै आफ्नो अधिकारप्रति सजग हुन सकेका छैनन् । सार्वजनिक निकायमा सूचना लिने–दिने संस्कृतिको विकास सुरु भएको छ ।

सूचना अधिकारीले आफूले पाएको जिम्मेवारीलाई अवसरका रुपमा लिई असल सूचना अधिकारी बन्नु पर्दछ । राज्य व्यवस्थामा रहेका बेथितिहरुको समूल अन्त्यको अभियानमा सरिक भई राष्ट्रमा सुशासन, सामाजिक जवाफदेहिता र पारदर्शिता कायम गरेर भ्रष्टाचारमा कमी ल्याउन मद्धत गर्नु पर्दछ ।

समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्‍याउने महत्त्वपूर्ण अवसर सूचना अधिकारीले समेत प्राप्त गरेको छ । यसैले सूचनाको हक कार्यान्वयन गर्ने–गराउने महत्त्वपूर्ण जिम्मेवारी सूचना अधिकारीकै भएको कुरामा दुईमत छैन ।

सन्दर्भसामग्रीहरू

सूचनाको हकसम्बन्धी ऐन, २०६४
सूचनाको हकसम्बन्धी नियमावली, २०६५
सूचनाको सन्देश, राष्ट्रिय सूचना आयोग : काठमाडौं नेपाल, २०७४ असोज
मैनाली, श्यामप्रसाद : शासकीय स्वरुप, संविधान र सुशासन, २०७१ साउन
नाथ, बासुदेव : यसकारण जनतालाई सूचनाको हक, जनसवाल राष्ट्रिय दैनिक, २०७४ मंसिर ८, शुक्रबार, पृष्ठ– ४

(केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा पशु विकास अधिकृत (सूचना अधिकारी) रहेका लेखक २० असोज, २०७४ मा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित ‘सूचनाको हक’ निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरी पुरस्कृत भएका हुन्– सम्पादक ।)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर