पुनर्स्थापनालगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घन्टा काम छाडी विरोध जनाए ।
स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, लामो समय स्वयंसेविकाका रुपमा काम गराएर भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सको पुनर्स्थापनालगायतका माग राखी नेपाल नर्सिङ संघ पुस २७ देखि देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ ।
माग पूरा नभएको भन्दै नर्सले सोमबारदेखि ३ गतेसम्म दिनको तीन घन्टा काम छाडेर विरोध जनाउन थालेका हुन् । माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् ।
उनले भनिन्– “अझै माग पूरा नभए माघ ७ देखि २४ सै घन्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौं ।” आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघ–संस्थाको समर्थन रहेको कार्यवाहक अध्यक्ष थापाको भनाइ छ ।
पुस २६ र २७ गते कालो पट्टी बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए ।
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशिघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरुपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रमशोषण बन्द गर्नुपर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ ।
श्रम ऐन २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पीएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ ।