गत बिहीबारदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने भएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।
सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।
सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको हुनसक्ने उनको भनाइ छ ।
सूर्यबाट निस्किने पदार्थ पृथ्वी नजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ । ‘सूर्यमा चुम्बकीय गतिविधिले गर्दा तापक्रममा हुने परिवर्तनले गर्दा देखिएको ए आर २५४६ नामको सो दागलाई हामीले पनि नियमित अवलोकन गरिहेका छौं, उनले भने ।
सूर्यमादेखिएको दाग खुल्ला आँखाले पनि देख्न सकिने भएपनि त्यसरी हेर्न हुँदैन । सुरक्षित चश्माबाट भने हेर्न सकिने छ । कसैलाई हेर्ने चाहना भएमा गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको छ ।