दिवंगत वरिष्ठ माओवादी नेता पोस्टबहादुर बोगटीको स्मृतिमा गत शनिबार राजधानीमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा गर्ने सन्दर्भमा पार्टीका नेता–कार्यकर्ताले ‘अरिंगालको जति पनि बुद्धि देखाउन नसकेको’ अभिव्यक्ति दिएका थिए ।
ओलीको सो अभिव्यक्तिले व्यापक ‘मिडिया कभरेज’ पाइरहेकै सन्दर्भमा सत्ताधारी पार्टीकै नेताहरुबाट शंखलाबद्ध र बिम्बात्मक रुपमा पार्टी नेतृत्व, सरकार र मन्त्रीहरुका कमजोरीकै कारण सरकारको प्रतिरक्षा गर्ने क्रम कमजोर भैरहेको अभिव्यक्ति सार्वजनिक भएका छन् ।
‘भविष्यका आशालाग्दा नेता’ का रूपमा हेरिएका तत्कालीन एमालेका केन्द्रीय सचिवद्वय एवं युवापुस्ताका ‘प्रभावशाली’ नेकपा नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले सोझो भाषामै प्रधानमन्त्री ओलीको कार्यशैली एवं पार्टीभित्र ‘विधि–विधान मेन्टेन हुन नसकेको’ परिवेशका कारण पार्टी तथा नेताहरुले सरकारको प्रतिरक्षा गर्ने स्थिति नभएको प्रतिक्रिया दिइसकेका छन् ।
यसै मेसोमा सरकार र मन्त्रीहरूका सुझबुझहीन व्यवहार तथा हालै प्रकाशमा आएको ‘द्वन्द्वमा भागेका सैनिकलाई सर्वश्वसहित जन्मकैद’ शीर्षक समाचारप्रति आफ्नो धारणा प्रकट गर्दै नेकपाका युवापुस्ताकै अर्का नेता एवं पूर्वशिक्षामन्त्री डीआर (धनीराम) पौडेलले निकै मर्मस्पर्शी, शालीनतापूर्ण र मर्यांदित भाषाशैलीमा सरकारको कमजोर कार्यशैलीलाई कठोरतापूर्वक उजागरर गरिदिएका छन् ।
भलै, पौडेलका अभिव्यक्ति घनश्याम भुसाल र योगेश भट्टराईहरुको भन्दा नितान्त बेग्लै कोणबाट आएको छ । पूर्वमन्त्री पौडेलले पार्टी नेतृत्व, सरकार, प्रधानमन्त्री र मन्त्रीहरुको आलोचना गरेका छैनन्, केवल प्रतीकात्मक ढंगले समस्याहरु प्रकट गर्दै सुझावहरु पेस गरेका छन् ।
सामाजिक सञ्चाल ‘फेसबुक’ मा मंगलबार लामो ‘स्ट्याटस’ लेख्दै पूर्वमन्त्री डीआर पौडेलले ‘द्वन्द्वमा भागेका सैनिक’ प्रति सरकारको कर्तव्य स्मरण गराउँदै समग्रतः सरकार र मन्त्रीहरुको कार्यशैली सच्याउनु अनिवार्य रहेको सन्देश प्रकट गरेका छन् ।
‘द्वन्द्वमा भागेका सैनिकलाई सर्वश्वसहित जन्मकैद’ शीर्षक समाचारको तस्बिरसहित ‘फेसबुक पोस्ट’ मा पूर्वमन्त्री पौडेलले लेखेका छन्– ‘जतिबेला जनयुद्ध चलिरहेको थियो, म माओवादी थिइँन । कतिले मलाई आफ्नो पार्टी छोडेर (विद्रोह गरेर) माओवादी बन्न आह्वान गरेका थिए, मैले त्यसो गरिनँ । पछि माओवादीसँग मेरो पार्टीको एकता भयो र म पनि माओवादी भएँ, यसमा मलाई गर्व छ ।’
उनले अगाडि लेखेका छन्– ‘जनयुद्ध चलिरहेका बेला कमरेड प्रचण्ड, बादल, वैद्य, बाबुराम, अनन्त, पासाङ, बलदेव, जनार्दनलगायतका नेता–कार्यकर्ताहरूको आह्वानमा तत्कालीन शाही नेपाली सेना र नेपाल प्रहरीको जागिर छोडेर, त्यहाँबाट विद्रोह गरेर हतियारसहित वा हतियाररहित कयौं व्यक्ति जनयुद्धमा सामेल भए, जनमुक्ति सेना बने । त्यसरी विद्रोह गरेर आउनेलाई विशेष सम्मान गरियो, उनीहरूको साहसको प्रशंसा गरियो, ठाउँ–ठाउँमा अभिनन्दन गरियो ।’
पूर्वमन्त्री पौडेल लेख्छन्– ‘ती सबैको योगमा पुरानो सत्ता पराजित भयो, सत्ता परिवर्तन भयो भनियो । शाही नेपाली सेनाको नामै परिवर्तन भएर नेपाली सेना भयो पनि भनियो । आज त्यही परिवर्तित नेपाली सेनाले शाही सेनाबाट विद्रोह गरेर जनमुक्ति सेना भएका योद्धाहरुलाई छानी–छानी सर्वस्वसहित जन्मकैद गरिरहेको छ ।’
कम्युनिस्ट धाराहरुको एकता र ध्रुवीकरणको सन्दर्भ जोड्दै उनले अझ अगाडि लेखेका छन्– ‘म ‘चैते माओवादी’ लाई पनि यो कुरा हजम हुन सकेको छैन भने हिजो विद्रोहका लागि आह्वान गर्ने नेता साथीहरू, जो अहिले परिवर्तित नयाँ सत्ताको शीर्षस्थानमा हुनुहुन्छ, आफ्नो आह्वानमा तत्कालीन शाही नेपाली सेना वा नेपाल प्रहरीबाट विद्रोह गरेका विद्रोही जनमुक्ति सेनाको संरक्षणमा कुनै ठोस कदम चाल्नुपर्दैन ?’
सुझाव दिँदै उनले भनेका छन्– ‘अतः सरकार ! हिजो शाही नेपाली सेना र नेपाल प्रहरीबाट विद्रोह गरेर जनमुक्ति सेना बनेका योद्धाहरूले अहिले पनि गौरव (गर्व) गर्न सक्ने वातावरण बनाऊ ! अन्यथा–
– या त उनीहरुले फेरि विद्रोहको झन्डा बोक्नेछन् ।
– या त आफ्नो सिप र क्षमताको दुरुपयोग गरेर अवाञ्छित क्रियाकलापमा संलग्न हुनेछन् ।
– या त हिजो तपाईं–हामीले लगाइदिएको अभिनन्दन र सम्मानको टीका पुछेर ‘तत्कालीन माओवादीले आफूहरूलाई कब्जामा लिएर ‘युद्धबन्दी’ बनाएको’ बताउँदै स्वाभिमान बेचेर आत्मसमर्पण गर्नेछन् ।’
अन्त्यमा उनले लेखेका छन्– ‘उपरोक्त तीनै काम गर्न नसक्ने वा नचाहनेहरू सर्वस्वसहित जन्मकैदको सजाय पाएर ‘कैदी’ बन्नेछन्, जहाँ तपाईं–हामी परिवर्तित सत्ताको रसास्वादन गरिरहेका हुनेछौं ।’
सरकार र पार्टी नेतृत्वलाई स्पष्ट शब्दमा उनको सुझाव छ– ‘म अहिले जहाँ छु, त्यहाँबाट माथितिर फर्केर भन्न चाहन्छु– आदरणीय कमरेडहरू ! के यसले अर्को विद्रोह जन्माउँदैन ? समयमै विचार गरौं ! विवेकलाई बन्दकी नराखौं !!’