newskoseli.Com

नेकपा स्थायी समिति : के–के बोले अध्यक्ष ओलीले ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्यायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार आफ्नो धारणा राख्दै राजनीतिक प्रतिवेदन र विभिन्न विषयमा अरु नेताहरुले उठाएका सवाल र विज्ञासाको जवाफ दिए ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले एकता प्रक्रियाका क्रममा टुंगिन बाँकी साङ्गठनिक कामहरुलाई पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरे । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गराए ।

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुर्‍याउने बताएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनियरिङ, निर्माण व्यवसायी र कानुन व्यवसायी सङ्गठनमा मात्र एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै छ ।

बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार पारेको अध्यक्ष ओलीले उल्लेख गरे । पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकतामा ढिलाइ गर्नु नहुने उनको भनाइ छ । ‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्त्व लागेका छन्,’ अध्यक्ष ओलीले भने– ‘तिनलाई परास्त गरेर जानु पर्दछ ।’ माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठक समेत आयोजना गर्ने प्रधानमन्त्री ओलीले बैठकमा बताए ।

पार्टी एकतालाई अझ बलियो बनाउनका लागि फागुन–चैतमा राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने जानकारी स्थायी कमिटी सदस्य योगेश भट्टराईले दिए । अध्यक्ष ओली र प्रचण्डको राजनीतिक प्रस्तावमा माघ–फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख छ । संसद् चलिरहेकाले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन–चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याएको नेता भट्टराईले बताए । प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजाने समेत बैठकमा बताए ।

मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसमा अझ दृढ भएर लाग्ने ओलीले बताए । ‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रण गर्नेमा सरकारको पहिलो प्राथमिकता रहेको छ’– उनले बैठकमा भने । ‘सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ र सरकारले सफलता पनि प्राप्त गर्दै गइरहेको छ’– प्रधानमन्त्री ओलीले बैठकमा बताए । पार्टी सञ्चालनका क्रममा केही कमी–कमजोरी भए पनि अबका दिनमा त्यस्ता कमी–कमजोरी हुन नदिने समेत उनले बताए ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको ओलीले बताए । नेकपाको तेस्रो स्थायी कमिटीको बैठक मङ्सिर २९ देखि जारी रछ । बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर