newskoseli.Com

नेपालले आफ्नै स्याटेलाइट वैशाखमा प्रक्षेपण गर्दै !

नेपालले आउँदो वैशाखमा आफ्नै भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनियरको सहयोगमा नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो ।

‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई २ करोड रूपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम सरकारले पठाएको जानकारी उनले दिए ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको दैनिक रूपले सङ्कलन तस्बिर तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भूउपग्रह निर्माण हुने र अमेरिकाबाट प्रक्षेपण गरिने बताइएको छ ।

सङ्काय प्रमुख ढकालले भने– ‘वि.सं. २०७६ को सुरुआतसँगै नास्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भूउपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’ हालसम्म नेपालको आफ्नै भूउपग्रह नहुँदा ठूलो रकम खर्चेर अन्य मुलुकसँग सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अब अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनियर अन्य मुलुकका भन्दा कम छैनन् भन्ने समेत प्रमाणित हुनेछ ।

उक्त भूउपग्रहले नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्बिर र सूचनालाई नास्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेसन’ मा भण्डारण गर्नेछ । अहिलेसम्म नेपालले भाडाका भूउपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर