वर्षकै सबैभन्दा ठन्डीका बेला राजधानी काठमाडौंका विभिन्न क्षेत्रको सडकको चिसोमा छटपटाइरहेका ५० जनालाई सोमबार राति उद्धार गरी न्यानो कोठामा पुर्याइएको छ ।
नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानवसेवा आश्रमलगायतका सरकारी निकाय र सङ्घ–संस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहाराविहीन फेला परेका छन् । कतियप भने मजदुरी गरेर सडकमा सुत्ने, लागू पदार्थ वा मदिरा सेवन गरेर सडकमा भौंतारिने तथा माग्दै सडकमा जीवन बिताउने रहेका छन् ।
उनीहरुलाई बुढानीलकण्ठस्थित आश्रममा राखिएको आश्रमका प्रदेश ३ नम्बर प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनीहरुमध्ये परिवारमा बस्न सक्नेलाई परिवारको जिम्मा लगाएर पठाइने तथा असहाय–अशक्तलाई संरक्षण गरेर आश्रममा नै राखिने बताइएको छ ।
काठमाडौंको महाँकाल, सङ्कटा, भद्रकाली र नक्साल महादेव मन्दिर, पशुपति क्षेत्र, गौशाला, चाबहिल, बौद्ध, बानेश्वरलगायतका क्षेत्रबाट उनीहरुको उद्धार गरिएको हो । उनीहरु सहित आश्रममा १ सय ३५ जना पुगेका छन् ।
सडक सेवाअन्तर्गत सोमबार भएको खोजी तथा उद्धार अभियानमा आश्रमका प्रतिनिधि, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुली, महानगरपालिको कानुन शाखाका निर्देशक वसन्त आचार्य, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा, श्रीकृष्ण प्रणामी युवा परिषदका अध्यक्ष नमराज ढकाल, पूर्वसचिव सुरेशमान श्रेष्ठ, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ, कविर आश्रम बानेश्वरका प्रमुख आदर्श सायद र आश्रमका अभिभावक सुरेन्द्र रिमाललगायत सहभागी थिए ।
पछिल्लो समयमा सडकमा असहाय र अशक्तहरु घट्दै गए पनि माग्ने कामलाई नै ‘पेशा’ बनाएर हिँड्ने, मदिरा पिएर र मजदुरी गरेर सडकमै सुत्ने अवस्था चुनौतीपूर्ण बनेकाले यसको व्यवस्थापन जरुरी रहेको कोषका सदस्य सचिव डा. ढकालले बताए ।
चिसो सिँढीमा बस्ने अवस्थाको अन्त्यका लागि सहकार्य गर्न प्रहरी तयार रहेको प्रहरी परिसर काठमाडौंका प्रमुख लामाले बताए । यसअघि परिसरको पहलमा काठमाडौंका विभिन्न क्षेत्रबाट १५ जनाको उद्धार गरिएकामा वास्तविकता अध्ययन गरेर अभिभावक ल्याई सडकमा छाडेर पैसा कमाउने उद्देश्य बोकेकालाई कारबाही गर्ने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
आश्रमले २०६९ देखि नै सडकका असहाय, मागेर खान नसक्ने, मनोरोगी र अशक्तलाई उद्धार गरी पालन–पोषण गर्नुका साथै मनोविमर्श सेवा दिएर परिवारमा पुनस्र्थापन गर्ने प्रयास गर्दै आएको छ । २०८२ सम्ममा यस्ता असहाय, अशक्त सडकमा रहने अवस्थाको अन्त्य गर्ने अभियानको लक्ष्य छ ।
यस कार्यका लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । १२ जिल्लामा आश्रम सञ्चालन गरेर सेवा दिँदै आएको र अहिलेसम्म १ हजार ७ सय जनाको उद्धार गरेको दावी गर्दै ५ सय जनालाई परिवारमा पुनस्थार्पना गरिसकेको अधिकारीले बताएको राससले जनाएको छ ।