newskoseli.Com

मुख्यमन्त्रीको चेतावनी : ‘ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारबाही गरिन्छ’

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने ‘जनप्रतिनिधि’ लाई कारबाही गरिने बताएका छन् । विदुर नगरपालिका– ५ को वडा कार्यालय भवनको मंगलबार माझीटारमा उदघाटन गर्दै जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैं डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारबाहीे गरिने मुख्यमन्त्री पौडेलले बताए ।

‘जनताको काम गर्न आउनुभएका जनप्रतिनिधि आफैंले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो । कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पुरानो पेशा छोड्नुपर्छ’– उनले भने । ‘जनप्रतिनिधि भएर ठेकेदारी गर्न पाइँदैन, आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएरै छाड्छ ।’ ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुख समेत क्रियाशील भएको पाइएको मुख्यमन्त्री पौडेलले बताए । जनताका काम गर्न छाडेर विभिन्न बहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने मुख्यमन्त्रीले बताए ।

प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले सङ्घीयताको आभाष दिने आधार कार्यालय वडा कार्यालय भएकाले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र सङ्घीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताए ।

जनताको काम छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई आफ्नो कर्तव्यअनुसारको काम गर्न सचेत गराइने र सचेत गराउँदा पनि नटेरमा कारबाहीको प्रक्रिया थालिने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । मुख्यमन्त्री पौडेलले मंगलबारै बट्टारमा रहेको सङ्गम बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारणसभा तथा सङ्गम प्लाजाको समेत उदघाटन गर्दै सहकारीले व्यावसायिक क्षेत्रमा काम गर्नुपर्ने बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर