पश्चिममा विकास भएको न्यूनचापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली विस्तारै सर्दै शुक्रबार बिहान काठमाडौंसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलको भनाइ छ ।
बेलुकीपख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरिई हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविदको भनाइ छ । मौसमविद् पौडेलका अनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रने भएको छ । वायुमण्डलको माथिल्लो सतहसम्म जलवाष्पयुक्त हावाको प्रभाव कायम रहेमा मनसुन सुरु हुने गर्छ ।
हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रने सम्भावना रहेको हो । सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । गत वर्ष जुन ८ मा भित्रिएको थियो ।
शुक्रबार राति देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
आइतबार देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानका साथै मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको खबर राससले प्रेषित गरेको छ ।