newskoseli.Com

चितवनमा दुईथरी प्रदर्शन : रविका ‘समर्थक’ द्वारा प्रहरी भ्यानमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज (पुडासैनीको भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा शुक्रबार र शनिबार दुइथरी प्रदर्शन भए । अनुसन्धानका लागि प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण भएको हो ।

रविलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा ‘समर्थक’ हरूले प्रदर्शन गरे । प्रदर्शनले उग्ररुप लिएपछि शुक्रबार साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो । झडपमा एक असईसहित सात प्रहरी घाइते भए । चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो ।

शुक्रबारसम्म ‘समर्थक’ हरूकाे मात्रै एकपक्षीय प्रदर्शन भए पनि शनिबार भने पुडासैनीले न्याय पाउनुपर्ने भन्दै अर्को समूहले समेत प्रदर्शन गरेको छ । शनिबार पनि रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय बाहिर प्रदर्शन गरिरहेका ‘अन्धभक्त’ हरू र प्रहरीबीच झडप भयो । एउटा प्रहरी भ्यानमा ‘समर्थक’ हरूले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन् । प्रदर्शनकारीले हानेको ढुंगाले लागेर प्रहरी भ्यानको अगाडिको सिसा फुटेको कोइरालाले बताए ।

‘अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने– ‘ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ, प्रदर्शनकारी पनि ठूलो संख्यामा सडकमा आएका छन् ।’ जिल्ला अदालत चितवनले रविसहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको छ ।

पुडासैनीले साउन २० मा चितवनमा आत्महत्या गरेका थिए । नुवाकोटका पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीन जनाको नाम उल्लेख गर्दै उनीहरुले नै आफूलाई मर्न बाध्य बनाएको भनी रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न बाध्य भएको हो ।

हेर्नोस्, पुडासैनीले आत्महत्याअघि रविलगायतलाई आरोप लगाएको भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर