newskoseli.Com

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा के–के भयो ?

प्रधानमन्त्री केपी ओलीले सबै दलहरुबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सबै मुद्धाहरुमा सहकार्य गरेका दलहरु अहिले राष्ट्र निर्माणको चरणमा थप एकताबद्ध भएर सहकार्य गर्नुपर्ने बताए ।

बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेका उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता समेत जनाए । बैठकमा शान्ति प्रक्रियाका बाँकी काम बारेमा पनि छलफल भयो । बेपत्ता आयोग र सत्यनिरुपण आयोगमार्फत् द्वन्द्वकालीन मुद्धाको किनारा लगाउने तथा ती आयोगलाई पूर्णता दिनेसहित बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा लान दलहरू सहमत भएका छन् ।

हिंसात्मक गतिविधि गरेको भनिएको नेत्रविक्रम चन्दसहितका पार्टी र समूहसँग पनि वार्ता थाल्नुपर्नेमा दलहरू सहमत भएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकतामा जोड दिएका थिए । ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौं । समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ,’ ओलीको भनाइ उद्धृत् गर्दै श्रेष्ठले भने– ‘प्रधानमन्त्रीले मुख्यतः तीन वटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो ।’

प्रधानमन्त्रीले गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयतामाथि आक्रमण भइरहेको बताउँदै विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि बढ्नुपर्ने बताए । देशमा हिंसात्मक गतिविधि हुन नदिन सबै एक भएर अघि बढ्न उनले अपिल गरे। ‘शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन,’ प्रधानमन्त्रीले भने– ‘यस्ता गतिविधि नहोउन् भन्नका लागि शान्ति दिगो बनाउन एकजुट हुनुको विकल्प छैन ।’

प्रधानमन्त्रीले बोलेपछि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि एकताबद्ध रहेको दोहोर्याए । बैठकमा सहभागी दलहरु शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्न र देशमा फेरि हिंसा हुन नदिन एकजुट हुने कुरामा सहमत भएकाे जानकारी श्रेष्ठले दिए । आवश्यक परे वार्ता पनि गर्नुपर्छ भन्ने निचोड निस्केको छ– दलहरुको छलफलको निचोड उल्लेख गर्दै श्रेष्ठले भने ।

त्यसैगरी, हिजो विस्थापित भएकै शक्तिहरू अहिले चलखेलमा लागेको निचोड पनि सर्वदलीय बैठकले निकालेको छ । ‘हिजो जुन शक्ति र तत्त्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो,’ श्रेष्ठले भने– ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो निचोड होइन तर केही खतरा भएको भन्ने हाम्रो निचोड रह्यो ।’

बैठकमा प्रधानमन्त्रीले बाहिर चर्चा चलेजस्तो आफ्नाे स्वास्थ्य अवस्था जटिल नरहेको जानकारी दिए । ‘राजनीतिक पार्टीका नेतालाई प्रधानमन्त्रीले बाहिर चर्चा चलेजस्तो स्वास्थ्य गम्भीर नरहेको बताउनुभयो,’ श्रेष्ठले भने–  ‘डाक्टरहरूले दिएको सुझावअनुसार पर्सि प्रधानमन्त्री सिंगापुर जाने बताउनुभएको छ, सबै नेताहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुभयो ।’

प्रतिपक्षीले के भन्यो ?

सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको कांग्रेस नेता कृष्ण सिटौलाले बताए । ‘विधेयकबारे हामीले प्रश्न उठायौं, सच्याउनुपर्ने कुरा सुधार गर्नु जरुरी छ,’ बैठकपछि बाहिरिँदै उनले भने–  ‘प्रधानमन्त्री आफैंले शक्ति हातमा राखेको कुरा उठायौं, उहाँले हाम्रा कुरा नकारात्मक रूपमा लिनुभएन ।’

प्रधानमन्त्री भएपछि पहिलो पटक बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि सकारात्मक रूपमा प्रस्तुत भएको जानकारी सिटौलाले दिए । ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुरा भएको छ’ भन्दै प्रधानमन्त्रीका कुरा कांग्रेसले पनि सकारात्मक लिएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर