newskoseli.Com

प्रधानमन्त्रीको गुनासो : ‘मरिहालोस् भनेर विरोधीले प्रचार गरे, अझै १५ वर्ष मैदानमै डट्छु’

विरोधीहरुले आफूलाई ‘मरिहालोस्’ भनेर प्रचार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो गरेका छन् । आगामी निर्वाचनमा अस्तित्वरक्षाका लागि अहिल्यै तयारी थाल्न समेत उनले विरोधीहरुलाई चुनौती दिएका छन् । आफू अझै १५ वर्ष मैदानमै रहने समेत उनले उदघोष गरेका छन् ।

‘अचम्म लाग्छ– विरोधीहरु कति कमजोर भएछन्, ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन, मरिहाले हुन्थ्यो भनेर… मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन, मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु,’ प्रधानमन्त्रीले चेतावनी दिए– ‘आउँदो चुनाव टफ हुनेछ, अस्तित्वरक्षाको लडाइँ अहिल्यैदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भने मरिहालोस् भनेर खूब प्रचार गर्या हुनाले फेरि निराश होलान् पछि भनेर, धेरै निराश नहोउन् भनेर । अझै १५ वर्ष अखडामा हुन्छु त्यसकारण पूजा–अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको पनि उनले बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको उनले बताएका हुन् ।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहना पूरा हुन नसकेको उल्लेख गर्दै जिद्धी र अडानलाई छाडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी प्रधानमन्त्रीले गरे । ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन, तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको, गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो’– प्रधानमन्त्रीको भनाइ छ ।

केही दिनअघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली उपचारकै लागि बिहीबार फेरि सिंगापुर जाँदै छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर