newskoseli.Com

अबका बैठकको आह्वान र अध्यक्षता प्रचण्डले गर्ने

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठकको अध्यक्षता गर्ने भएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता र सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक सञ्चालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि बिहीबारै (आजै) सिंगापुर जाँदैछन् । उपचारका क्रममा प्रधानमन्त्री ८–१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकीकरणलगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड दुवै जना अध्यक्ष भए तापनि बैठकको अध्यक्षता र बैठक आह्वान प्रधानमन्त्री ओलीले मात्रै गर्दै आएका थिए । बिहीबारको सहमतिपछि भने अब ओलीको अनुपस्थितिमा प्रचण्डले बैठकको आह्वानका साथै अध्यक्षता गर्ने भएका छन् । बिहीबारको सचिवालय बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर