newskoseli.Com

‘राजा–महाराजाजस्ता भयौं, सत्ता उल्टिन सक्छ’ : प्रचण्डको चेतावनीपूर्ण स्वीकारोक्ति

सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो पंक्ति कम्युनिस्ट भनिए पनि आचरण र व्यवहार राजा–महाराजाजस्तो भएको स्वीकारोक्ति प्रकट गर्दै वर्तमान राजनीतिक व्यवस्था उल्टिन सक्नेसम्मको चिन्ता व्यक्त गरेका छन् ।

जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको प्रचण्डले बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सत्तामा जानुअघि जनतासँग गरिएका प्रतिबद्धता भुल्दै जाने र आफ्नै योगदान समेतलाई बिर्संदै जाने हो भने प्राप्त उपलब्धिहरू सजिलै गुम्न सक्ने खतरा प्रचण्डले औंल्याए ।

कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचारभन्दा भिन्न र बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता उनले औंल्याए । पूर्वी युरोप र सोभियत संघको उदाहरण दिँदै कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन र सिद्धान्तको कार्यशैली बिर्सनु नहुने प्रचण्डले बताए ।

‘कम्युनिस्ट नेता नै राजा–महाराजा जस्तो हुँदै गएपछि, कम्युनिस्ट पनि राजा महाराजा जस्ता देखिएपछि राजा–महाराजविरुद्ध लडेका जनताहरु यिनलाई पनि लखेट्नु पर्छ भन्ने अवस्था आइलागेको विडम्बना देखियो इतिहासमा,’ उनले भने– ‘हामीकहाँ पनि यसो हेर्दा लक्षणचाहिँ त्यतैतर्फ उन्मूख देखिँदैछ, सिस्टमचाहिँ कता–कता त्यस्तै देखिँदैछ ।’

दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारीबोधमा विचलन देखिएको भन्दै प्रचण्डले असन्तुष्टि जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिस्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको प्रचण्डको टिप्पणी छ ।

जनतासँग गरेका प्रतिद्धताहरु सत्तामा पुगेपछि बिर्संदै जाने प्रवृति विश्वभरिका कम्युनिस्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत्त हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैंले गरेका काम र आफ्नै योगदान समेतको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुनु नहुनेतर्फ सधैं सचेत र सजग हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर