newskoseli.Com

प्रचण्ड–घनश्याम भुसाल ‘दोहोरी’ : ‘झन् बढी कमाउन अझ ठूलो पद !’ (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार राजधानीमा रोचक ‘दोहोरी’ चल्यो ।

सो पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ शीर्षकको पुस्तक विमोचन समारोहमा सहभागी दुई नेताबीच आमने–सामनेमै दोहोरी चलेको हो । पुस्तकका अन्तर्वस्तुको चर्चा गर्दै नेता भुसालले एउटा महत्त्वपूर्ण पुस्तक त लेखियो तर लेख्नै बाँकी झन् बढी महत्त्वको अर्को पुस्तक लेखाउने चुनौती अध्यक्ष प्रचण्डको काँधमा रहेको भन्दै सो पुस्तक लेखिने कि नलेखिने हो, स्पष्ट जवाफ दिन माग गरे ।

‘नलेखिएको एउटा च्याप्टर छ, नलेखिएको च्याप्टर नेपाली क्रान्ति हो; आज हामी जहाँ छौं, त्यसको विश्लेषण हो, आज जति वर्गहरु छन्, ती वर्गहरुको विश्लेषण हो,’ नेता भुसालले भने– ‘यो किताब लेख्ने काम सजिलो कुरा छैन, यो किताब लेख्नका लागि आज मैदानमा आठ लाख संगठित सदस्य छौं हामी पार्टीका र त्यसको नेता कमरेड प्रचण्ड यहीं हुनुहुन्छ ।’

‘यो प्रश्न आज यहीं म अध्यक्षलाई सोध्न चाहन्छु कि कमरेड प्रचण्ड ! यो किताब लेखिन्छ कि लेखिँदैन ?’ चुनौतीपूर्ण भाषामा प्रचण्डसँग प्रश्न गर्दै नेता भुसालले भने– ‘जस्तो देश छ, अधिरचना (सुपरस्ट्रक्चर) त्यस्तै हुन्छ; देश कस्तो छ ? दलाल पुँजीवादी छ; त्यसो भए राजनीति कस्तो छ ? दलाल पुँजीवादी छ कि छैन ? दलाल पुँजीवादी नै छ ।’

‘दलाल पुँजीवाद निरन्तर चलिरहने प्रक्रियालाई केले वैधानिकता दिन्छ ? चुनावले दिन्छ; प्रजातन्त्र–लोकतन्त्रका नाममा दलाल पुँजीवादले निरन्तर आफूलाई पुनर्उत्पादन गरिरहने ! किनभने यहाँ यस्तो पद्धति कायम छ, जहाँ पैसा नहुनेले चुनाव लड्न मिल्दैन; यसर्थ, चुनाव लड्नका लागि पैसा चाहिन्छ, पैसा हुनेहरुले नै चुनाव लड्छन्,’ समकालीन राजनीतिक प्रणालीको विकृत पक्षमा प्रकाश पार्दै नेता भुसाले अझ अगाडि खुलाए– ‘चुनाव किन लड्छन् भन्दा पद लिनका लागि; किन पद लिन्छन् त भन्दा पद भयो भने अझ धेरै पैसा कमाइन्छ; झन् बढी पैसा किन कमाइन्छ भन्दा हिजोको भन्दा झन् ठूलो पदमा जानका लागि । अझै ठूलो पद किन चाहियो भन्दा हिजोभन्दा झन् बढी पैसा कमाउनका लागि ।’

सोही कार्यक्रममा भुसालभन्दा लगत्तै पछि बोलेका प्रचण्डले भुसालका प्रश्नहरुको जवाफ दिँदा हलमा एक प्रकारको ‘दोहारी’ कै वातावरण देखियो । ‘घनश्यामजीले मलाई ठाडठाडै प्रश्न गर्नुभयो, के हुन्छ कमरेड भनेर; समाजवादको रुसी मोडल हामीले देख्यौं, त्यसको सकार, त्यसको नकार, त्यसका सबल पक्ष, त्यसका दुर्बल पक्ष हामीले देख्यौं,’ प्रचण्डले भने– ‘पूर्वी युरोप र अरु सबै समाजवादी मोडल पनि हामीले देख्यौं, पछिल्लो पटक प्रयोग गर्न कोशिस भएका मोडलहरु पनि हामीले देख्यौं, हेरिरहेका छौं र हामीले पनि एउटा नयाँ मोडलको विकास गर्ने जमर्को गरेका छौं ।’

‘समाजवादी मोडल कस्तो हुने नेपालमा ? विश्वभरिका अनुभवहरुको संश्लेषण कसरी गर्ने भन्ने ग्रेट डिबेटमा हामी छौं,’ नेता भुसालको प्रश्नतिर लक्षित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘मैले हिजो जानेमानेको चिनिया मोडल, रुसी मोडल, भियतनामको मोडल, कोरियाको मोडल, क्युबाको मोडल– कुनै मोडलको यान्त्रिक रुपले भन्न सक्छु तर एक्काईसौं शताब्दीको, हिजोका क्रान्ति र प्रतिक्रान्तिका तमाम अनुभवको संश्लेषणसहित अबको मोडल यो छ भन्नका लागि एउटा ठूलो बहस र संघर्षको बीचबाट गुज्रिनु जरुरी छ; त्यसका निम्ति एउटा नयाँ प्रयोगको बीचबाट गुज्रिनु जरुरी छ र हामी त्यही प्रयोगमा छौं ।’

‘कमरेड घनश्याम ! म के भन्न चाहन्छु भने मेरो इच्छा छ– म जीवित रहुञ्जेल नेपालबाट संसारका लागि समाजवादको अबको मोडल यो हो भनेर दिन सक्ने ठाउँमा हामी छौं,’ ठोस जवाफ दिँदै प्रचण्डले भने– ‘हामीले हिम्मत हार्नु हुँदैन, पहल गरिराख्नुपर्ने हुन्छ, हामीले आफ्नो प्रयास छाड्नु हुँदैन, …रातारात चमत्कारको खोजी मानिसहरुले गरेका छन्, चमत्कार चाहिँ हुँदैन, …हामी सबै नेतादेखि कार्यकर्ता एउटा ऐतिहासिक अग्निपरीक्षामा छौं, हामी एउटा ऐतिहासिक चुनौतीको सामना गर्ने प्रक्रियामा छौं, हामी समाजवादी बाटोतिर नै अगाडि बढ्छौं, समाजवादको नयाँ मोडल खोजेर अगाडि बढ्छौं या पुँजीवादका अगाडि आत्मसमर्पण गर्छौं ? हाम्रा अगाडि यक्षप्रश्न यही नै छ । हामी दलाल पुँजी र नोकरशाही पुँजीका अगाडि आत्मसमर्पण गर्छौं या समाजवादी बाटोमा जान्छौं ? यो लडाइँ जारी छ । … म चाहिँ समाजवादी कित्तामै रहेर मर्नेछु, समाजवादकै लागि लडाइँ लडेर मर्नेछु, म आफ्नो बारेमा पूरै विश्वासका साथ भन्न सक्दछु र म साथीहरुलाई पनि समाजवादी कित्तामा उभिनका निम्ति अपिल गर्न चाहन्छु । …हामीले ल्याएका छौं क्रान्तिलाई यहाँसम्म, हामी यहीं रोकिन चाहँदैनौं, योभन्दा अगाडि जान चाहन्छौं, नेपालबाट समाजवादको एउटा नयाँ मोडल दिन चाहन्छौं, हामी दिन सक्छौं । …मैले भनेको छु– समाजवादको झन्डा झुक्न दिइने छैन, पुँजीवादका अगाडि घुँडा टेकिने छैन, …आउने दशक वास्तवमा समाजवाद निर्माणको दशकमा रुपमा नेपालबाट, सगरमाथाबाट समाजवादको नयाँ झन्डा फहराउने इच्छा छ ।

नेता भुसालका प्रश्न र अध्यक्ष प्रचण्डका जवाफ हेर्नोस् तलका दुई भिडियोमा–

नेता भुसालको प्रश्न

अध्यक्ष प्रचण्डको जवाफ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर