newskoseli.Com

‘परिवर्तन उल्टाउने दिवासपना नदेख’ : शुभकामनासँगै प्रचण्डको चेतावनी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विचारको विकास गरी नेपाली मौलिकताअनुरुपको समाजवाद स्थापना गर्नु नै अबको राजनीतिक अभिभारा भएको उल्लेख गरेका छन् । अब यसरी अगाडि बढ्नुपर्ने अवस्थामा कसै–कसैले हालसम्मका परिवर्तन नै उल्टने र उल्टाउनुपर्ने चर्चा चलाइरहेकोतर्फ कटाक्ष गर्दै त्यस्तो दिवासपना नदेख्न उनले चेतावनी समेत दिएका छन् ।

चौथो संविधान दिवसको अवसरमा शुभकामना सन्देश प्रेषित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले वर्तमान संविधानले प्रष्ट रुपमा समाजवादी व्यवस्थातर्फ अघि बढ्न मार्गप्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्– ‘यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्सर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यस क्रममा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेसलगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश भएको उनले बताएका छन् । नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पीडित, पिछडिएका वर्ग, क्षेत्रलगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक–अधिकार र अवसरको सुनिश्चिततालाई संविधानले संस्थागत गरेको दावी अध्यक्ष प्रचण्डले गरेका छन् ।

‘जनताको लामो र वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवासपना केही अराजक तत्त्वहरुले देख्ने गरेका छन्‚’ प्रचण्डले सन्देशमा लेखेका छन्– ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्त्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध हुन संविधान दिवस, २०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर