newskoseli.Com

‘प्रेस स्वतन्त्रता भनेकै राष्ट्रको स्वतन्त्रता’ : कांग्रेस महामन्त्री

नेपाली काङ्ग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने कुरा देखाउने उनले बताए ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्नु हुँदैन भन्दै त्यो स्वतन्त्रतामा नै रहनुपर्ने उनले बताए । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आफू र आफ्नो पार्टीले त्यसको निन्दा गर्ने उनले बताए । महामन्त्री कोइरालाले भने– ‘नेपाली काङ्ग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।’

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसकै पालामा भएको दाबी उनले गरे । अहिले दुईतिहाइको सरकार भएर पनि देश विकासका लागि कुनै स्पष्ट दृष्टिकोण र सपना नभएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रेस स्वतन्त्रताविना मुलुकको समृद्धि सम्भव नरहेको बताए । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले पनि मन्तव्य राखे ।

युनियनले गत वर्षदेखि कागतिहारका दिन सेलरोटी खाएर शुभकामना आदान–प्रदान गर्न सुरु गरेको हो । कागलाई सन्देशबाहकका रुपमा लिइँदै आइएको छ खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर