newskoseli.Com

‘हेमोडायलाइसिस’ गरी डिस्चार्ज भए प्रधानमन्त्री : भने– ‘म ठीकठाक छु’

फाइल तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ उनले आफू ठीकठाक रहेको प्रतिक्रिया दिए ।

अस्पतालबाट फर्कंदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने– ‘म ठीक छु ।’ निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगे । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महशुस गरेको भाव उनको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाउँथ्यो । उनी हाँस्दै गाडी चढेका थिए ।

शीर्ष सहितका नेताद्वारा स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री तथा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओली स्वास्थ्योपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतृत्वले भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । बिहीबारै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सर्वसधारण, पार्टी कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

‘प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’ : अस्पताल

ग्राण्डी इन्टरनेसनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलाइसिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताए । प्रधानमन्त्री भोलिदेखि नै नियमित काममा फर्कन सक्ने उनले बताए ।

प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आईसीयू) मा नराखिएको अस्पतालले दावी गरेको छ । प्रधानमन्त्रीलाई हेमोडायलाइसिस गर्ने क्रममा आईसीयू कक्षको डायलाइसिस गर्ने कोठामा मात्र राखिएको डा. पाण्डेले बताए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण हुन नपाओस् भनेर सुविधासम्पन्न कक्षमा डायलाइसिस गरिएको हो,’ उनले भने– ‘बाहिर आएजस्तो आईसीयूमा राखिएको होइन ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय–सुझावका आधारमा उनको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर