newskoseli.Com

‘एक इन्च भूमि मिच्न दिँदैनौ‌ं, छिमेकीले सेना फिर्ता लैजाओस्’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

तस्बिरः रामेश्वर तिमल्सिना

सरकारले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न दिँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा बसिरहेका भारतीय सेना समेत तत्काल फिर्ता लैजान खुला चेतावनी दिएका छन् ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको प्रधानमन्त्री ओलीले जिकिर गरे । आफ्नो एक इन्च भूमि पनि मिच्न नदिने दृढता उनले व्यक्त गरे ।

नेपालको सीमा मिच्ने काम अघिल्लो शताब्दीदेखि नै जारी रहँदै आएको उल्लेख गर्दै सीमा मिचिएको कुरालाई अहिलेकै मात्र हो भनेर कतिपयले आफूलाई ‘हिरो’ देखाउने र जनतालाई उचाल्ने काम गरेको उनले बताए । सीमा समस्या समाधान गर्न वर्तमान सरकार सक्षम रहेको जिकिर गर्दै नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान समेत उनले भारतसँग आग्रह गरे ।

‘यो नेपाली जनताको सरकार हो, नेपाल राष्ट्रको सरकार हो, देशभक्त सरकार हो त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन; हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन,’ प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाऊन्, हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ ।’

नेपालीहरु शान्तिको पक्षमा रहेको उल्लेख गर्दै छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उनले बताए । सरकारले संवादमार्फत सीमासम्बन्धी समस्या समाधान गर्ने जानकारी दिँदै कतिपयले नक्सा सच्याउने कुरा उठाए पनि भूमि फिर्ता लिने विषय चाहिँ महत्त्वपुर्ण भएको उनले बताए । ‘सबैलाई आग्रह गर्न चाहन्छु, सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ’– प्रधानमन्त्री ओलीले भने ।

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यबद्धता जनाएकामा खुसी प्रकट गर्दै पछिल्लो समय राजनीतिक पूर्वाग्रहका आधारमा र आत्मकेन्द्रित भएर सरकारको विरोध हुने गरेको भन्दै दुवै ढंगका विरोध उचित नरहेको उनले बताए ।

‘दुनियाँमा एउटा आइडियोलोजिक क्लास छ, आइडियोलोजिक पूर्वाग्रह छ र नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ, एउटा विरोध आइडियोलोजिक छ– कम्युनिष्ट सरकार छ त्यसकारण विरोध गर्नुपर्छ, जे गरे पनि विरोध गर्नुपर्छ, जसो गरे पनि विरोध गर्नुपर्छ; गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ भन्नेखाले वैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ,’ प्रधानमन्त्रीले भने– ‘अर्को, मैले केही पाइँन, मैले केही पाएको छैन, मैले भनेजस्तो पाइनँ, मैले पाउनुपर्ने नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रित स्वार्थी विरोध छ, यी दुईवटै विरोध उचित छैनन् ।’

प्रधानमन्त्री ओलीको सम्बोधन हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर