newskoseli.Com

वैद्य माओवादीको ‘कालापानी जाऔं’ अभियान : केन्द्रीय समितिको बैठकले लियो यस्ता निर्णय

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतीय सीमा अतिक्रमणविरुद्ध ‘कालापानी जाऔं’ अभियान चलाउने भएको छ । सो पार्टीको मंसिर २६–२९ मा राजधानीमा बसेको भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणमा पुस महिनामा पार्टी, जनवर्गीय संगठन मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तर्क्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने तथा आफ्नै पहलमा देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने, दोस्रो चरणमा माघदेखि देशव्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जवस मोर्चा सहितलाई समावेश गरी विभिन्न संयुक्त अभियानहरु सञ्चालन गर्ने र तेस्रो चरणमा देशभक्त जनगणतान्त्रिक मोर्चा तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा ‘कालापानी जाऔं’ अभियान चलाउने निर्णय गरेको छ ।

सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले बैठकका निर्णय सार्वजनिक गर्न आइतबार जारी गरेको विज्ञप्तिमा ‘कम्युनिस्ट नामधारी’ वर्तमान सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल सावित भएको आरोप लगाउँदै भारतीय विस्तारवादद्वारा बनाइएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभागलाई भारतमा गाभिएको गम्भीर स्थितिमा मुख्यतः राष्ट्रिय स्वाधीनता र पहिचानसहितको सङ्घीयतालगायत उत्पीडित वर्ग र समुदायका जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर संघर्ष अगाडि बढाउने, आफ्नै पहलकदमीमा सङ्घर्ष सञ्चालन गर्ने र मिल्न सकिने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिइएको उल्लेख छ ।

यस्तो छ महासचिव वैद्यको विज्ञप्तिको पूर्णपाठ–

२०७६ मंसिर २६ देखि २९ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक महासचिव कमरेड किरणको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा लिइएका महत्त्वपूर्ण निर्णयहरुबारे प्रेस विज्ञप्तिमार्फत निम्नानुसार सार्वजनिकरुपमा जानकारी गराइएको छ–

१. बैठकको प्रारम्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विभिन्न जनआन्दोलन, क्रान्ति र दस वर्षको जनयुद्धमा शहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेटमौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२. बैठकमा पोलिटब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारीको असार र केन्द्रीय सल्लाहकार कमरेड राममणि अधिकारीको भदौ महिनामा दुःखद् निधन भएकामा उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको छ । यसैगरी, एक नम्बर प्रदेश समितिका सदस्य क. रमेश अधिकारीको दुर्घटनामा परी असामयिक तथा दुःखद निधन भएकामा १ मिनेट मौनधारण गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

३. महासचिव कमरेड किरणद्वारा वर्तमान राजनीतिक परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको रुपरेखाबारे उल्लेख गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । व्यापक छलफल गरी आवश्यक संशोधन तथा परिमार्जनसहित सो प्रतिवेदन सर्वसम्मतरुपमा पारित भयो ।

४. सो प्रतिवेदनमा गत समयमा सङ्गठन र सङ्घर्षका क्षेत्रमा भएका कामको आवश्यक समीक्षासहित कतिपय सीमा, समस्या र कमी–कमजोरी रहे पनि पार्टी काममा प्रगति हुँदै गएको कुरा दर्शाइएको छ ।

५. वर्तमान कम्युनिस्ट नामधारी सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल बन्न गएको र भारतीय विस्तारवादद्वारा बनाइएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभागलाई भारतमा गाभिएको गम्भीर स्थितिमा मुख्यतः राष्ट्रिय स्वाधीनता र पहिचानसहितको सङ्घीयतालगायत उत्पीडित वर्ग र समुदायका जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर संघर्ष अगाडि बढाउने, आफ्नै पहलकदमीमा सङ्घर्ष सञ्चालन गर्ने र मिल्न सकिने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिइएको छ ।

६. संघर्षलाई चरणबद्ध रुपमा अगाडि बढाउने ठेगान भएको छ । तदनुसार पहिलो चरणमा पुस महिनामा पार्टी, जवस मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तर्क्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने र आफ्नै पहलमा देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने । दोस्रो चरणमा माघदेखि देशव्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जवस मोर्चासहितलाई समावेश गरी विभिन्न संयुक्त अभियानहरु सञ्चालन गर्ने र तेस्रो चरणमा देजमो तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा ‘कालापानी जाऔं’ अभियान चलाउने । आवश्यकताअनुसार संघर्षका कार्यक्रमलाई परिमार्जित तथा समृद्ध तुल्याउँदै जान सकिनेछ ।

७. सामान्यतः विकसित पुँजीवादी देशहरु र मुख्यतः संयुक्त राज्य अमेरिकाबाट हुने अनियन्त्रित हरितग्यास उत्सर्जनका कारण विश्वभर पैदा भएको वातावरणीय असन्तुलन र त्यसले निम्त्याउने खतराबारे जनतालाई सचेत गराउने र त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरिएको छ ।

८. बैठकको अन्त्यमा महासचिव कमरेड किरणद्वारा बैठक सफलतापूर्वक सम्पन्न भएकामा सम्बन्धित सबै कमरेडहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै तथा सबै कमरेडहरुसित लिइएका निर्णयहरुको दृढतापूर्वक कार्यान्वयन गर्न विशेष जोड दिँदै बैठकको समापन गरियो ।

मितिः २९ मंसिर, २०७६

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर