newskoseli.Com

सभामुख चयनको लफडा र ‘बन्धक’ संसद : शीर्ष नेताकाे निर्णय क्षमतामै प्रश्न !

प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझैसम्म पनि प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको विश्लेषण हुन थालेको छ । नेकपाकै कारण सभामुख छनोट प्रक्रिया लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र प्रणाली नबसेका देखिएको हो ।

नयाँ सभामुख निर्वाचनका लागि आह्वान गरिएका प्रतिनिधिसभाका बैठकहरु पटक–पटक सूचना टाँस गरी स्थागित हुँदै आएका छन् । यो अनिर्णीत अवस्थाप्रति सोही दलका नेता नै वाक्कदिक्क भएका छन् । छिनभरमै सम्बोधन गर्न सकिने विषय भए पनि प्रवृत्तिगत कमजोरीका कारण सभामुख छनोटमा अनावश्यक विलम्ब भैरहेको नेकपाका नेता एवं सांसद सुरेन्द्रकुमार (राम) कार्कीले बताए । नेकपामा बौद्धिक व्यक्तित्वका रुपमा परिचित कार्की भन्छन्– ‘सभामुखका लागि नाम चयन प्रक्रियाका मापदण्ड र प्रणाली व्यक्तिविशेषको विवेकमा रहिआएको हुँदा छनोट प्रक्रिया लम्बिएको हो, प्राथमिकतामा राखेर यो विषयलाई शीर्ष तहबाट छिटो टुङ्ग्याइनुपर्छ ।’

छलफलै छैन पार्टी कमिटीमा !

पार्टीको सचिवालय तथा स्थायी समितिको बैठकमा समेत यो विषय अझै प्रवेश नहुनुले सभामुख छनोटको संवेदनशीलतालाई कम आँकलन गरिएको हो कि भन्ने समेत प्रश्न उठेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले सङ्घीय संसदबाट राजीनामा दिएपछि तीन महिनादेखि सभामुख पद खालि छ । यसै कारण प्रतिनिधिभाको हिउँदे अधिवेशन नराम्ररी प्रभावित हुँदै आएको छ ।

लोकतान्त्रिक राजनीतिक प्रणाली अपनाइएको मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको प्रमुखलाई विशिष्ट पदाधिकारीका सम्मान व्यक्त गर्ने परम्परा छ । नियमितभन्दा यस पटक केही समय अघि नै सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भए तापनि हालसम्म सभामुखको चयन हुन नसक्दा प्रतिनिधिसभा नेतृत्वविहीन बन्न पुगेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्– ‘नेकपाभित्र भागबण्डा नमिलेपछि देश अनिर्णयको बन्दी भयो, यो अप्रजातान्त्रिक चरित्र हो ।’ राजनीतिक संस्कार, पार्टी पद्धति र जनचाहनाअनुसार चल्नुपर्नेमा पद प्राप्तिका लागि गुट–उपगुट हुनु कम्युनिस्ट चरित्र नभएको टिप्पणी उनले गरे । नेकपा एकीकरण हुँदाका बखत तत्कालीन नेकपा (माओवादी केन्द्र) को भागमा परेको सभामुख पद अब कसले पाउने भन्नेमा सहमति हुन नसकेका कारण सभामुख चयन प्रक्रिया रोकिएको हो ।

सभामुख चयन प्रक्रियाका लागि सङ्घीय संसद् सचिवालय तयारी अवस्थामा रहे तापनि शीर्ष तहमै नाम छनोटमा सकस देखिएको छ । आकाङ्क्षी धेरै भएकाले ठीक व्यक्तिको छनोट गर्न केही समय लागेको भए पनि विलम्ब गर्नु नहुने नेकपाका नेता सत्यनारायण मण्डलले बताए । सभामुख पदका लागि वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्वमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । संविधानतः सभामुख र उपसभामुख एउटै दल र एउटै लिङ्गको हुनु नहुने भएकाले उपसभामुखको राजीनामापछि मात्र सभामुखको निर्वाचन प्रक्रिया आरम्भ हुने नेकपाका नेताहरुले बताउँदै आएका छन् ।

के भन्छिन् उपसभामुख ?

दलबाट निर्देशन आएमा सभामुखको निर्वाचन अगाडि नै आफूले मार्गप्रशस्त गर्ने उपसभामुख डा. तुम्वाहाङ्फेले स्पष्ट पार्दै आएकी छन् । सङ्घीय संसदको हिउँदे अधिवेशन प्रारम्भ भएको यतिका दिन भइसके पनि पूर्वमाओवादी र पूर्वएमालेबीच सभामुखका लागि आ–आफ्नो अडानका कारण सभामुख चयन प्रक्रिया ओझेलमा परेको हो । यो लोकतान्त्रिक व्यवस्थाका लागि सुहाउँदो विषय होइन ।

त्यसो त संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आन्तरिक कचिङ्गलमा फसेकाले उसले पनि सही तवरले खबरदारी गर्न सकेको छैन । एउटा राजनीतिक दलविशेषका कारण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सिङ्गो संसदले नेतृत्व पाउन नसकेर बन्धक हुदु दुःखद् भएको प्रतिक्रिया कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकले दिए । यस अवस्थाले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई मजाकमा उडाउने काम भएको आरोप उनले लगाए । सभामुखको चयन यथाशीघ्र होस् भनेर नेपाली कांग्रेसले आवाज उठाइरहेको बताउँदै यति विलम्ब हुन्थ्यो भने हतारमा संसद् आह्वान किन गरेको भनी उनले प्रश्न गरे ।

सभामुख चयनको एजेन्डामै लामो समय व्यतित गर्नुपर्ने अवस्थाले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक फेरि पनि ओझेलमा पर्ने त होइन भन्ने प्रश्न उठेको छ । सभामुख चयन प्रक्रिया लम्बिँदा सत्तारूढ दलभित्र थप गुट–उपगुट सिर्जना हुने खतरा उत्पन्न हुन सक्ने र नेताहरुको निर्णय क्षमताप्रति समेत प्रश्न उठ्ने परिस्थितिलाई शीर्ष तहले समयमै हेक्का राख्नु आवश्यक देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर