newskoseli.Com

‘दायाँबायाँ नगरी’ मतदान गर्न माधव नेपालको आग्रह

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘दायाँबायाँ नगरी’ राष्ट्रियसभाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

‘जेबी टुहुरेको निरन्तरता, भाग– चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका वरिष्ठ नेता नेपालले देशभक्तिको भावनासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट खडा भएका चार उम्मेदवारलाई आफ्ना मतदाताले ‘दायाँबायाँ नगरी’ मतदान गर्न र तिनलाई जिताएर सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपमा परिवर्तन ल्याउने काममा सहयोग गर्न आग्रह गरेका हुन् । माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश– २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राधेश्याम पासवान र तुलसा दाहालका साथै राजपाबाट मृगेन्द्रकुमारसिंह यादव र शेखरकुमार सिंह उम्मेदवार बनेर चुनावी मैदानमा उत्रेका छन् ।

सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा गीत–सङ्गीतको ठूलो महत्त्व रहेको र टुहुरे पञ्चायतीकालदेखि नै सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन गीत–सङ्गीतको यात्रामा लागेको भन्दै वरिष्ठ नेता नेपालले उच्च प्रशंसा गरे ।

पञ्चायतीकालविरुद्ध राजनीतिक सिद्धान्तलाई सार्थक बनाउन गीत–सङ्गीतको स्वरूपमा परिमार्जन गरी नेपाली राजनीतिमा परिवर्तन ल्याउन अरु टुहुरे जन्मिनु आवश्यक रहेको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए ।

सर्लाहीको हरिवन नगरपालिका– ५ मा रहेको चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा मङ्गलबारदेखि सुरु भएको चौतारी साँझ कार्यक्रमलाई सम्बोधन गर्न समेत सर्लाही आएका पूर्वप्रधानमन्त्री नेपाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमक्ष उखु किसानले उखुको बक्यौता रकम नपाएको गुनासो गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले जनताको विश्वास इमानदारीसाथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

जेबी टुहुरे फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बेची लुङ्गेली, डिल्लीप्रसाद उप्रेती, राष्ट्रियसभाका उम्मेदवार तुलसा दाहाल र राधेश्याम पासवान, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनराज जीसी, सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका साथै पार्टीका विभिन्न तह–तप्काका नेता–कार्यकर्ता सहभागी भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर