newskoseli.Com

के–के गर्‍यो नेकपा केन्द्रीय समितिले ? (हाइलाइट्स र निर्णयसूचीसहित)

वि.सं. २०७७ चैत मसान्तमा एकताको राष्ट्रिय महाधिवेशन तय गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृत रुपमा पहिलो पटक आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित गरेको छ ।

माघ १५ देखि राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित बैठकमा प्रतिवेदनमाथिको समूहगत छलफलका सुझाव र प्रदेश नेतृत्वको रिपोर्टिङबारे शीर्ष नेतृत्वको जवाफपछि विभिन्न निर्णय र ११ बुँदे समसामयिक प्रस्ताव पारित गरी बैठक समापन गरिएको छ । बैठकले पार्टीभित्र तत्काल बहसको विषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय अभियान हुँदै महाधिवेशन

अर्को वर्ष चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिए । सङ्गठनात्मक र जनपरिचालनका लागि तत्कालै तीन महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने तय भएको जानकारी उहाँले दिए ।

केन्द्रीय निकायका बाँकी एकतालाई १५ दिनभित्र पूर्णता दिने, पार्टीका सङ्घीय सांसदको लेबीमा एकरुपता कायम गर्ने, यसअघि जारी आचारसंहितालाई परिमार्जन गर्ने, छिट्टै पोलिटब्युरो गठन गर्ने तथा सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्दै अधिवेशन र महाधिवेशनमा पुग्दा उक्त प्रतिशतको सहभागिता अनिवार्य पुर्‍याउन बैठकले निर्देश गरेको छ ।

उपाध्यक्षमा गौतमको पदस्थापन

बैठकले विधानमा उपाध्यक्ष पदको व्यवस्था गरी सचिवालयका सदस्य वामदेव गौतमलाई सो पदमा पदस्थापन गरेको छ । हालसम्म नेकपामा अध्यक्ष दुई, महासचिव एक र दुई वरिष्ठ नेता रहेकामा अब उपाध्यक्ष पनि थप भएको छ ।

गुटबन्दी अन्त्यको प्रतिबद्धता

बैठकमा सदस्यको सुझावका आधारमा पार्टीमा गुटबन्दी र पूर्वघटकको मान्यता माथिल्लो तहबाटै अन्त्य गराउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता व्यक्त गरेका छन् । शीर्ष नेताको सम्पत्ति छानबिन गर्न उठेको विषयलाई केन्द्रीय अनुशासन आयोगले अध्ययन गर्ने र निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउन र जनमुखी प्रणाली स्थापित गर्नका लागि बहस सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

आमनिर्वाचनमा नेपाली जनताबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्निपरीक्षाका रुपमा लिएर जनभावनानुरुप विकास निर्माण, सुशासन, जनसेवा र समृद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढङ्गले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकार तथा सबै स्थानीय तह र जनप्रतिनिधिलाई बैठकले आह्वान गरेको छ ।

प्रधानमन्त्रीको भनाइ : ‘पार्टीको निर्देशबाटै सरकार सञ्चालित’

बैठकको समापन मन्तव्यका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार पार्टीले गरेको निर्देशानुसार सञ्चालन हुने भन्दै सरकारले गरेका राम्रा काममा पार्टीको समर्थन हुनुपर्ने बताए । तिनको प्रचारप्रसार हुनुपर्नेमा आग्रह उनले गरे । कतिपय सञ्चार माध्यममले नेकपाका नेताहरुलाई भागबण्डा गराएर प्रस्तुत गरेको गुनासो गर्दै सोचविचार गरेर पार्टी एकता गरिएकाले कसैले एकतालाई तलमाथि गर्न नसक्ने ठोकुवा उनले गरे ।

पार्टीमा वैचारिक छलफल र स्कुल सञ्चालन हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले भ्रष्टाचारीलाई पक्राउ गरी कारबाही अघि बढाएकाले भ्रष्टाचार बढेजस्तो भान परेको दावी उनले गरे । ओलीले भने– ‘हामी उग्रपन्थी, सङ्कीर्ण, उत्ताउला वा दक्षिणपन्थी छैनौं, राष्ट्रियता र लोकतन्त्रको सवालमा कुनै कमी रहन दिँदैनौं, यसमा पार्टी र सरकार स्पष्ट छ ।’ चीनमा देखिएको कोरोना भाइरसको प्रकोपको नेपालमा प्रभाव पर्न नदिन सरकारले विशेष सतर्कता अपनाएको पनि उनले उल्लेख गरे ।

प्रचण्डको अनुभूति : ‘बैठक असाधारण भयो’

बैठकमा उठेका विषयमाथि नेतृत्वका तर्फबाट जवाफ दिँदै अध्यक्ष प्रचण्डले बैठक असाधारण रहेको र यसले आफूहरुलाई विकृति र विसङ्गति सच्याउँदै अघि बढ्न निर्देश गरेको बताए । उनले भने– ‘हामी तपाईंहरुले उठाएका विषयमा गम्भीर छौं, वैज्ञानिक समाजवाद हुँदै समाजवादमा पुग्ने यात्रामा पार्टीलाई एकढिक्का बनाएर देशव्यापी अभियानमा सबै जुटौं ।’

नेपालको नयाँ नक्शा सार्वजनिक गरिने

भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर कात्तिक १६ मा प्रकाशन गरेको राजनीतिक नक्शालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्शा, प्रमाण र दस्तावेजका आधारमा ती भूभाग एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अङ्ग हुन् भन्ने कुरामा पार्टी स्पष्ट भएको निष्कर्ष बैठकले निकालेको छ । ‘नेपाल र भारतका परराष्ट्र सचिवको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्वसहमतिविपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ, यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ,’ बैठकमा पारित प्रस्तावमा भनिएको छ– ‘राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै यस समस्याको समाधान कूटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ । साथै, विभिन्न स्थानमा सीमाना र दशगजा मिचिएको र नेपालले आफ्नो भूभागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकाले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।’

बल्खुमा पार्टी कार्यालय बन्ने

बैठकले काठमाडौंको मदननगरस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ । देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरिएको पारित प्रस्तावमा जनाइएको छ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यले न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आह्वान गरिएको छ ।

नयाँ सभामुखलाई बधाई

बैठकले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित अग्निप्रसाद सापकोटालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई समग्रमा दोस्रो स्थान दिलाउने नेपाली खेलाडीलाई पनि बधाई ज्ञापन गरिएको छ ।

दिवङ्गतलाई श्रद्धाञ्जलि

बैठकले केन्द्रीय कमिटी सदस्य रवीन्द्रप्रसाद अधिकारीको गतवर्ष फागुन १५ मा र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको फागुन १८ मा तथा धनीराम पौडेलको यसै वर्ष जेठ ३१ मा भएको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको ठहर गर्दै उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

यस्तो छ निर्णयसूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर