newskoseli.Com

प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले बाँसुरी र सारंगी बजाउँदा प्रचण्डले के भने ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मंगलबार साँझ अनौठो तस्बिर बाहिरियो । बुधबारका पत्रपत्रिकाले सो तस्बिर प्रकाशित गर्दा त्यसले एक ढंगको तरंग नै ल्यायो । कसैले सांस्कृतिक मूल्यबाट सो दृश्य ऐतिहासिक भएको बताए त कसैले ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ’ भन्ने पुरानो भनाइलाई प्रधानमन्त्री ओलीले यतिबेला ठ्याक्कै चरितार्थ गरेको रुपमा अर्थ्याए ।

सत्ताधारी पार्टीका कार्यकारी अध्यक्ष एवं अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार पोखरामा बोल्दै प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको कार्यक्रम पूर्वनिर्धारित भएको बताए । मंगलबार बेलुकी बालुवाटारमा भएको कार्यक्रमबारे सञ्चारकर्मीले प्रश्न गरेपछि सो कार्यक्रमबारे आफूलाई पहिल्यै जानकारी भएको प्रचण्डले बताए ।

‘तपाईं पोखरामा हुनुहुन्छ, उता बालुवाटारमा बाँसुरी र सारंगी बज्यो, यो के हो ?’ पत्रकारको यस्तो प्रश्न सुनेपछि अध्यक्ष प्रचण्डले त्यस कार्यक्रमबारे आफूलाई पहिल्यै जानकारी भएको बताएका हुन् । प्रचण्डले भने– ‘हिजो बिहान म बालुवाटार गएको थिएँ, प्रधानमन्त्रीले बेलुकी सानो कार्यक्रम राखिएको छ, तपाईं आउनुपर्‍यो भन्नुभयो, मैले पोखरा जानुपर्ने भएकाले आउन सक्दिन होला भनेको थिए, यो संयोग मात्र हो, यसको अर्थ नखोज्नुहोला, तपाईंहरुलाई दुःख मात्रै हुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरी बजाए भने दायाँ–बायाँ बसेर खनाल र नेपालले सारंगी रेटे । सोही तस्बिर बुधबार सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ र विभिन्न खाले टीकाटिप्पणी चलिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर