newskoseli.Com

‘कुनै अप्ठ्याराे परे मलाई भन्नुहोस्’ : प्रधानमन्त्री ओली

उद्योगी–व्यवसायीलाई ढुक्क भएर काम गर्न सम्झाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अप्ठ्यारा आए सोझै आफूलाई भन्न आग्रह गरेका छन् । सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने उनले बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार राजधानीमा आयोजित ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ ९सीआईपी० सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले दोहोर्‍याए । निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने– ‘केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।’ उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास प्रधानमन्त्री ओलीले दिलाए । ‘ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्,’ व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने– ‘यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।’

राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने प्रधानमन्त्री ओलीले बताए । ‘अब हामी नयाँ मार्गमा उत्साहित भएका छौं, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन,’ उनले भने– ‘विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।’

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै अब सुशासनमा पनि एक मत हुनुपर्ने प्रधानमन्त्रीले बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै पारदर्शिता, स्वच्छता र कानुनको परिपालना गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर