newskoseli.Com

‘वस्तुको अभाव र मूल्य बढेको छैन, बढी लिए ११३७ मा फोन गर्नोस्’ : आपूर्ति मन्त्री

कोरोना सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव हुँदै गएको र मूल्य पनि बढेको भन्दै केही काला व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । यही माैका छाेपी व्यापारीहरूले बढी मूल्य लिएर ठग्ने गरेकामा आपत्ति जनाउँदै सरकारले कडा चेतावनी दिएको छ । कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको सरकारले स्पष्ट पारेकाे छ । कालोबजारी गरेको पाइए कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।

आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै त्रासको समयमा ‘कमाउने मौका यही हो’ भन्दै उपभाेक्ता ठग्नेमाथि कडा कारबाही गर्ने चेतावनी सरकारले दिएकाे हाे । कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुने चेतावनी सरकारले दिएको छ ।

यस्ताे छ वास्तविक अवस्था

मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले स्पष्ट पारेका छन् । उनले भने– ‘खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खानेतेललगायतका सामग्रीको आपूर्तिमा कुनै समस्या छैन, कहीं–कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’  २० रूपैयाँमा पाइने आयोडिनयुक्त नुन व्यापारीले ४० रूपैयाँसम्ममा बिक्री गरेका छन् । खाना पकाउने एलपी ग्यास लिन लामा–लामा लाइन लाग्न थालेका छन् । र, मास्क तथा अन्य खाद्य–उपजमा समेत कालोबजारी भएको चर्को गुनासो आउन थालेकाे छ । याे सन्दर्भमाथि विचार गर्दै सोमबार पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताए ।

सङ्कटका बेला एकले अर्कालाई सहयोग गर्नुपर्नेमा उल्टै ‘कमाउने मौका यही हो’ भनेर कुनै पनि व्यवसायी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउन सक्ने चेतावनी मन्त्री भट्टले दिएका छन् । काठमाडौं उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झन्डै दोब्बर ग्यासका सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ । तर, उपभोक्ताले पनि ‘सङ्कटका बेला के हो, के’ भने जसरी आवश्यकताभन्दा बढी ग्यासका सिलिन्डर भण्डारण गरेका कारण नयाँ सिलिन्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिन्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।

सामान्य अवस्थामा ३७ हजार टन ग्यास आयात हुने गरेकामा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ, यो हालसम्मकै सबैभन्दा बढी हो । अत्यावश्यक भन्दै थप पाँच हजार टनको व्यवस्था गरिएको हो ।

निगमले होलीको समयमा समेत भारतबाट ग्यास आयात र लोडिङ गरिरहेको छ । होलीको समयमा बिदा हुने भए पनि त्यसको परबाह नगरी ग्यास लोडिङ गरिएको हो । निगमले सुरक्षालगायतका कारण पनि आवश्यकभन्दा बढी ग्यासका सिलिन्डर नराख्न उपभोक्तालाई आग्रह गरेको छ । ग्यास पाइँदैन कि भनेर उपभोक्तामा त्रास बढेपछि निगमले ४४ हजार सिलिन्डर पठाएको छ । यसअघि उपत्यकामा दैनिक ३० हजार सिलिन्डर मात्रै ग्यास आपूर्ति हुन्थ्यो ।

उपभोक्तालाई सहज आपूर्ति गर्न थप १४ हजार सिलिन्डर पठाइएको छ । बजारमा कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिन सबै सरकारी निकाय अहोरात्र परिचालित भएको मन्त्री भट्टको भनाइ छ । ‘आपूर्ति कम हुन नदिन सम्भव भएसम्मका सबै उपाय हामीले अवलम्बन गरेका छौं, कर्मचारी पनि परिचालित भएका छन्, कुनै पनि वस्तुको आपूर्तिमा कमी हुन दिइँदैन’– मन्त्री भट्टले भने ।

कालोबजारी भए ११३७ मा फोन गर्नोस्

आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न मन्त्री भट्टले आग्रह गरेका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री–वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ ।

केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको सुरुआत गरिने जानकारी उनले दिए । सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको उनले बताए । हाल साल्ट ट्रेडिङसँग आगामी दसैंसम्म पुग्ने गरी नुन स्टकमा छ । ‘तर नुन सकिएजसरी प्रचार भयो, यसलाई चिर्नु जरुरी भयो’– मन्त्री भट्टले भने । साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ, उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ । सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टलभन्दा बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ ।

अनुगमन तीव्र र परिमार्जित

बजार अनुगमनलाई अब एकीकृत योजना र कार्यदलमार्फत अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री भट्टको भनाइ छ । मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण, क्वारेन्टाइन निर्माण तथा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम भइरहेको जानकारी उनले दिए ।

सरकारी बिदाको समयमा समेत बजार अनुगमनलाई तीव्र पारिएको र अनुमगन प्रक्रियालाई समेत केही परिवर्तन गरिएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले जानकारी दिए । उपभोक्ताले पनि सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै व्यापारीले बढी मूल्य लिए ‘किन’ भनेर प्रश्न गर्न र सरकारी निकायलाई खबर गर्न उनले आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर