आज चैत ५ । २२औं सांस्कृतिक प्रतिरोध दिवस ! माओवादी धारका विभिन्न घटक यतिबेला धुमधामका साथ सांस्कृतिक प्रतिरोध दिवस मनाउने तरखर गरिरहेका छन् । जनताका उच्च बलिदान, साहस, शौर्य र सपनाको भावधारामा लतपतिँदै नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको भीषण वर्गसङ्घर्षका बिच सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको विशेष महत्त्व रहेको छ नै ।
सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा यतिबेला विभिन्न ठाउँबाट निम्तो पनि आइरहेको छ । सापेक्षित उत्साहजनक माहोलले अलिकति खुसी र सान्त्वनाको महसुस गर्छु तर पनि मन अर्कै–अर्कै जस्तो भएको छ यतिबेला । जनताको पूर्ण विजय हुने विश्वास र प्रतिवद्धताका साथ अघि बढेको जनक्रान्तिका लागि क्रान्तिकारीहरू आवश्यक परे जस्तोसुकै बलिदानको कोटा चुक्ता गर्न विशाल पङ्क्तिसमेत तयार भइसकेको यो बेला अवश्य पनि मनमा उद्वेग बढेकै छ । के गरौं, कसौं, गरौं, के लेखौं, के भनौं जस्तो भइरहेको छ मनमा ।
हामी यतिबेला प्रतिबन्धित अवस्थाकै बीचमा महासमरमा सहादतप्राप्त सहिदहरूको स्मरण र सम्झनाको भावधारामा २२औं सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौं । यो दिन जनताका पक्षमा क्रियाशील लेखक, कलाकार, साहित्यकारहरू विशेष संवेदित हुने गर्दछन् । मलाई पनि यो दिनले अलि बढी नै चिमोट्ने गर्दछ । यसपालि झन् अलि बढी चिमोटेको अनुभति गरिरहेको छु । देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धाराको अवलम्बन सांस्कृतिक प्रतिरोध दिवसको केन्द्रीय मूल्य हो । जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुँदैन, तबसम्म जनताको मुक्ति हुँदैन; जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहन आवश्यक छ भन्न्न भावनालाई हृदयदेखि नै आत्मसात् गरेका लेखक, कलाकार, साहित्यकारहरू यतिबेला सामाजिक फासिवादी ओली मण्डलीद्वारा प्रतिबन्धित गरिएको अवस्थामा छन् । कस्तो अनौठो हगि ! देश र जनताका निम्ति सहिद भएर मर्न चाहन्छु, कहिल्यै पनि गद्दार हुनेछैन भन्ने प्रतिवद्धता गर्ने दिनमा पनि प्रतिबन्धि नै भइरहनुपर्ने ! म भित्रदेखि महसुस गरिरहेको छु, यही भावधारामा डुबुल्किँदै नेपालका क्रान्तिकारी कम्युनिस्टहरू क्रान्तिकारी आवेग र विवेकको द्वन्द्वात्मक स्थितिको ख्याल गरेर आफ्नो लक्ष्यमा पुग्न सक्छन् ।
यसो हेर्छु, सहरमा अनेकथरी ‘कम्युनिस्ट’ हरूले पनि सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छन् । सामाजिक फासिवादी ओली सरकार र उसको पार्टी डबल नेकपाले पनि सांस्कृतिक प्रतिरोध दिवस मनाउने नाटक गरिरहेको छ । उसको भव्य मञ्च, भव्य सजावट, शासकीय रवाफ र चर्का–चर्का कुराले एकछिन् टाउको रनन्न पार्छ । तिनको त्यो फगत नाटकले टाउको फुट्लाझैं गरी दुख्छ । बेस्सरी टाउको समाउँछु । यसो सम्झन्छु, क्रान्तिमा केही नेताहरूले धोका दिन सक्छन्, धोका दिएका पनि छन् तर पनि क्रान्तिको प्रवाह रोकिँदैन र रोकिनु पनि हुन्न, कहाँ रोकिएको छ र ! क्रान्तिको सामूहिकीकरणको चरित्रलाई ख्याल गर्दै यसको ऊध्र्वगामी दिशा पक्रनु आवश्यकता त हो ।
जनक्रान्तिका माध्यमबाट दलालहरूको लुटको स्वर्ग ध्वस्त बनाउने समय आइसकेको छ किनभने उनीहरू जनताको आधारभूत तहबाट पूरै अलग्गिइसकेका छन् । क्रान्तिकारीहरूले यतिबेला संयुक्त मोर्चा, क्रान्तिकारी ध्रुवीकरणको आवाज बुलन्द गर्दै जनक्रान्तिलाई नयाँ शिराबाट उठाइरहेका छन् । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति सहिद हुन्छ । आजभोलि उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदी–अवमूल्यन हुँदै गएको हो । सामन्तवादले खडा गरेका सबै किसिमका विभेद, दासता, शोषण र दमनका पर्खाल भत्काउन विभिन्न समयमा थुपै्र सपूतहरूले रगत बगाएका छन् । जनमुक्तिको क्षितिज नउघ्रिँदासम्म यो सिलसिला जारी जारी रहनेछ ।
हुन त हो नि ! सहिद भन्दाभन्दै सहिद शब्दकै मूल्य अवमूल्यन गर्ने होड चलेको यतिबेला सबैले सबै किसिमका मानवताविरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिद हुने प्रक्रिया रोकिँदैन भन्ने कुरालाई हृदयदेखि नै आत्मसात् गरे कति राम्रो हुने थियो ! यसो मान्छेहरूको अनुहार सम्झिन्छु, यसो तिनको जीवन व्यवहार सम्झन्छु । वाकवाकी आउँला जस्तो हुन्छ, भाउन्न छुट्छ । फेरि घोरिन्छु, इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले पर्खाल भत्काउँछ र अग्रगामी परिवर्तनको ढोका खोल्छ तर नेपालमा त्यसलाई परिवर्तनकारी जनताले संस्थागत गर्न नपाउँदै सहिदी उद्देश्यलाई कुल्चने काम भएको छ । यो दुःखद् शृङ्खलाको अन्त्यका निम्ति निर्णायक युद्धको आवश्यकता खट्किएको छ । अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै हिस्साका रूपमा नेपालमा जनयुद्धको थालनी भएको थियो । हामी पनि संयोगबश बाँचेका हौं नि ! जनयुद्ध दासता र पराधीनतालाई अस्वीकार गरेको महान् युद्धको घोषणा थियो, जसमा हजारौं जनयोद्धाले बलिदान गरे । नेपालको इतिहासमा बलिदानको यो गाथा अद्वितीय छ ।
जनयुद्धको यही त्याग र समर्पणको जगमा विकास भएको आन्दोलनको लपेटाले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदिएकै हो । तत्कालीन राजा ज्ञानेन्द्रले नेपालभित्र मात्र होइन, भारतमा विभिन्न मठ–मन्दिरमा गएर आफ्नो राजपाठको रक्षार्थ चरु होमेकै हुन् तर महान् जनताका अगाडि उनको अनेकन् प्रयासले केही काम गरेन । ओहो आजको लोकतन्त्र ! यो त लुटतन्त्र हो लुटतन्त्र ! देशमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिए पनि देश र जनताको अवस्था झन्भन्दा झन् दयनीय हुँदै गएको छ । यो व्यवस्था जनताको हाइन भन्ने कुरा स्पष्ट हुँदै गएको छ । गाउँ, सहर, पहाड, मधेस सबैतिर यसो हेर्छु, यसले अग्रगामी परिवर्तनका ढोका फेरि पनि अवरुद्ध भएको पाउँछु । राज्यसत्तामा प्रतिगामी चिन्तन हावी भएकोले दुःखद् शृङ्खलाको पुनरावृत्ति नै भएको पाउँछु ।
हैट मन पनि कस्तो ! कता कता वहकिएला जस्तो । मैले केही सहिद परिवारलाई भेटेको छु, कुरा गरेको छु, त्यसले मलाई निकै पीडा दिन्छ । सहिद कोही कसैको कमाइखाने ट्रेडमार्क थिएन । सहिद कुनै एक्लो व्यक्ति होइन; त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । साथै, त्यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जन विरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो । त्यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ ।
मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य एवम् आदर्शहरू प्रगतिशील र सर्वकालिक हुन्छन् । ऐतिहासिक परम्पराको यही कडीमै जनयुद्धका सहिदहरूसँग विगत र वर्तमान एकीकृत जनक्रान्तिका सहिदहरू अभिन्न रूपमा जोडिएका छन् । यो महान् प्रक्रियामा एकीकृत जनक्रान्तिका धनरूप बटाला, कुमार पौडेल, चन्द्रबहादुर सिंह ‘सनराइज’, तीर्थ घिमिरे ‘राजु’, गोकुल राना मगर ‘महान्’, विभुराम विक ‘दीपेन्द्र’, प्रज्वल शाही ‘प्रज्वल’, विष्णु भण्डारी ‘निरन्तर’, निरकुमार राई ‘प्रशान्त’, रामकुमार श्रेष्ठ ‘रविन’, रामबहादुर सिंह ‘राजेश’ हरूको सहादत उच्च र आदर्शयुक्त रहेको छ ।
मेरो दाहिनातर्फ भित्तामा कृष्ण सेन ‘इच्छुक’ तस्बिर झुन्डिरहेको छ । इच्छुकले हामीलाई निरन्तर अघि बढ्ने ऊर्जा दिइरहनुभएको छ । फेरि, यतिखेर नेपाल वर्गयुद्धको तुफानी शृङ्खलाको अर्को मोडमा उभिएको छ । जनता दश वर्षको वर्गयुद्धले ल्याएको उथल–पुथललाई संस्थागत गर्ने प्रक्रियामा छन् । असजिलो परिस्थितिका बिचमा निरन्तर अघि बढ्न इच्छुक हाम्रा प्रेरणा हुन् । सहिदका सपना पूरा भएका छैनन् । त्यो पूरा गर्ने दायित्व क्रान्तिकारीहरूकै काँधमा छ । सांस्कृतिक प्रतिरोध दिवसको औचित्य पनि यसैमा सङ्केन्द्रित छ ।
महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवनोत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले औंला ठड्याएर आज पनि हामीलाई सचेतना दिइरहेको छ– सर्वहारा–कम्युनिस्टको सत्ता स्थापनाको सङ्कल्प नछोड्नू; समानता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू; सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणका विरुद्ध सधैं जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू आदि । हामीलाई प्रतिरोध, त्याग, बलिदान र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् । शौर्य, साहस र वीरतापूर्ण वर्गसंस्कृतिको स्मरण गराइरहेछन् ।
कम्प्युटरको स्क्रिनमा अनेकोटमा सहादतप्राप्त सांस्कृतिक सहिदहरूको तस्बिरले एकछिन् अर्कै संसारमा पुर्याउँछ । अनि अनेकोटको भूगोल छाम्न पुग्छ, ओहो अनेकोटको त्यो खण्डहर घर र बस्तीहरू ! अन िअनुभूति गर्छु, यी बस्तीले आफ्ना प्रिय छोराछोरीसितको भौतिक विछोडको पीडा भनिसाध्य छैन । अनेकोट यस्तो महान् भूमि हो, जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । अछामको डुङ्गलामा नौजना, रोल्पाको भाबाङमा एघारजना तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि जनकलाकारको सामूहिक सहादत भएको थियो ।
आडम्ब र पाखण्डले छोप्दै लगेको यतिबेला हामी सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौं । प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया पनि हो । तिनका सपना पूरा गर्ने वाचा र प्रतिबद्धता हो । सहिदका रगतले लेखेको इतिहास कसैले मेट्न नदिने जुझारु सङ्घर्ष जारी राख्नु पनि हो । सांस्कृतिक प्रतिरोध दिवस वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नहुँदासम्म गरिने निरन्तर सङ्घर्षको प्रतीक पनि हो । यो वर्गविद्रोहका संवाहकसामु ठुल–ठुला चुनौती र महान् सम्भावनायुक्त रहेको छ ।
नयाँ विचारको निर्माण गर्दै यस शताब्दीमा विश्वकै सर्वहारावर्गलाई निर्देशित गर्ने नयाँ जनक्रान्तिको सूत्रपात नेपालबाट भएको छ । यतिखेर आमूल परिवर्तनकामी सहचारी वर्गमुक्तिका पक्षधर शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्नुपर्ने अनिवार्यता पनि हाम्रोसामु छ । अझ ‘समाजवादी’ ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको यस स्थितिमा सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ जनमुक्तिको महान् अभियानात्मक प्रवाहमा न्यायप्रेमी जनसमुदायलाई मोर्चाबन्दी गरी प्रतिरोध सङ्घर्षमा उत्रनु हो । अझै पनि मुक्तिकामी जनताले आमूल परिवर्तनको आशा मारिसकेका छैनन् । सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो । वास्तविक अर्थमा सहिदलाई सम्झनु चानचुने कुरा होइन ।
आज सांस्कृतिक आन्दोलनबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन् । चिन्ताहरू व्यक्त हुन थालेका छन् । योसित प्रतिभाहरूको केन्द्रीकरण र वैचारिक आधारको ठूलो भूमिका हुने गर्दछ । आज प्रतिभाहरू र तिनका वैचारिक आधारलाई जोगाउन हम्मेहम्मे हुँदै गएको छ । फासिवादी बन्दुकका विरुद्ध जनताको तहबाट बन्दुक उठ्नु युद्धको सामान्य नियम हो । संशोधनवाद संशोधनवाद नै हो, साम्राज्यवाद साम्राज्यवाद नै हो, क्रान्तिकारी क्रान्तिकारी नै हो । संस्कृतिकर्मीहरूले सीआईए, ‘रअ’ का कथित मास्टर माइन्डमाथि आफ्नो निशाना लगाउन ढिलाइ हुँदै गएको छ । सीआईए र रअका नेपाली प्रतिनिधिहरूबाट जनअपेक्षा गर्नु र दर्शनढुङ्गाबाट चल्ला कोरल्नु उस्तै कुरा हुन् । प्वाँखभन्दा हलुका मृत्यु रोजेकाहरूको के कुरा गर्नू र ! जनता महान् सपनाका साथ बाँचिरहेका छन् भने नवसंशोधनवादी–दक्षिणपन्थीहरू मर्दै गइरहेका छन् । सहिदहरूलाई सम्झनु भनेको देश र जनताका पक्षमा आन्दोलित हुनु पनि हो ।
विचार, बलिदान, विश्वास र रूपान्तरण सांस्कृतिक प्रतिरोध दिवसको अर्थबोध गर्नुपर्ने विषय हुन् । जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (तत्कालीन सङ्घ) का केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना कलाकारहरूलाई तत्कालीन सत्ताले नियन्त्रणमा लिएर जिउँदै आगो झोसेर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्षको चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासङ्घले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस मनाउँदै आएको छ ।
महान् सहिदहरूका सपनाको साम्यवादी बगैंचा पैसा, पद, प्रतिष्ठा र आसेपासेका शानशौकातका रूपमा ढकमक्क भएर फुलिरहेको यतिबेला क्रान्तिकारी जनसमुदाय सामाजिक फासिवादी ओली सरकारको प्रतिबन्धलाई चिर्दै अगाडि बढाइरहेका छन् । साम्यवादमा पुग्न कैयौं महान् सांस्कृतिक क्रान्तिहरू पार गर्नुपर्नेछ, कैयौं बलिदानका सागर र कठिनाइका साँघु तर्नुपर्नेछ । महान् सहिदहरूको स्पिरिट कायम गरेर मात्र कम्युनिस्ट क्रान्तिकारीहरू मानवजातिका साथ साम्यवादमा पुग्नेछन् । इतिहासको पाठ र वर्तमानको भोगाइबाट देखिएका सपनाहरू कोरा कल्पना हुनै सक्तैनन् । जनताका महान् सपनाको हत्या गर्ने दुस्प्रयत्नकारीहरू एक दिन इतिहासको गर्तमा पुरिनेछन् । एकीकृत जनक्रान्तिको सफलताका साथ वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै महान् बलिदानका सहिदीमूल्य हुन् । हामीले यही अर्थम अनेकोटलगायत देशैभरका १६० भन्दा बढी सांस्कृतिक सहिदहरूको सम्मान र स्मरण गर्नु उपयुक्त हुन्छ ।
यतिबेला अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा सङ्खुवासभाको खाँदबारी जेलमा बन्दीजीवन बिताइरहनुभएको छ । सांस्कृतिक तथा सौन्दर्यचिन्तक हेमन्तप्रकाश वली, संस्मरणाकार उमा भुजेललगायत सयौं जेलजिवन बिताइरहनुभएको छ । यतिबेला नेपाल लेख–साहित्यकारका लागि जेल बनाइएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि व्यापक हनन भएको छ । भारतीय बुद्धिजीवी गौतम नौलेखा, बरबर रावलगायत दर्जनौं व्यक्तित्व निकै लामा समयदेखि जेलमा हुनुहुन्छ । भर्खरै मात्र भारतीय फासिवादी सत्ताले गौतम नौलेखालाई भारतीय सर्वोच्च अदालतले अर्वान नक्सलको आरोपमा भीमा कोरेगाँउ मुद्दामा आत्मसमर्पणको तीनहप्ते आदेश दिएको छ ।
फासिवाद मैमत्ता भएपछि त्यसको पहिलो सिकार बौद्धिक समूह बुद्धिजीवी, सामाजिक अभियन्ता, लेखक, साहित्यकार, कलाकार हुने रहेछन् । यतिबेला कुनै चिन्तकले सत्य बोल्नु त्यो बेलाको सबभन्दा ठूलो क्रान्तिकारी हुनु हो भनेको सम्झन्छु । हो, आज यही समय आएको छ । मलाई विश्वास छ, त्यो सत्याभिव्यक्तिले नेपालमाथि मडारिएको कालो बादल एकदिन अवश्य नै खुल्नेछ र चमचम गरी चकमकाउनेछ । यी हुस्सु, कुहिरो, तुवाँलो र बादल लामो समय टिक्नेछैन ।
लेनिनले भन्नुभएको कतै पढेको सम्झिन्छु, “हामी हाम्रा पुर्खाहरूभन्दा राम्रोसँग लडिरहेका छौं । हाम्रा सन्ततिहरू हामीभन्दा राम्ररी लड्नेछन् र विजय प्राप्त गर्नेछन् ।” समकालीन अधिकांश लेखकहरूले विषयगत पुनरावृत्तिको घेरा तोड्न सकेको देखिँदैन । कहिलेकाहीं त यस्तो लाग्छ कि आजका लेखकहरू ‘रिपिटेसन’ कर्ममा दम्भ प्रदर्शन गर्न उद्यत छन् । यो फासिवादी सत्ता लेखक–साहित्यकारप्रति जति अनुदार छ, त्योभन्दा बढी डरलाग्दो कुरा त स्वयम लेखक आफ्नै कलमप्रति इमानदार नहुनुमा छ । त्यसकारण कुनै पनि लेखकको काल्पनिकीले जोखिम उठाउनैपर्दछ । आजको समयले जोखिम उठाउन सक्ने लेखकको माग गरिरहेको छ । लेनिनको भनाइको तात्पर्य पनि त यही हो ।
म आफ्नै परिवेशवरिपरि यसो हेर्दछु । अनि लाग्छ, जीवन यस्तो सङ्घर्ष रहेछ, कोही दौडिरेहका हुन्छन्, कोही घिस्रिरेहका हुन्छन्, कोही रोइरहेका हुन्छन्, कोही हाँसिरहेका हुन्छन्, कोही नाचिरहेका हुन्छन् तर पनि वस्तुतः समकालीन जीवन वैयक्तिक देखिने रहेछ । अधिकांशमा अवसरको केन्द्रीकरण आफू, आफ्नो परिवार र आसेपासेमा होओस् र भइराखोस् भन्ने मनसुवा देखिने रहेछ । उत्पीडित तथा श्रमजीवी जनताको पक्षमा सचेत र उद्देश्यपूर्ण जीवन कमै मात्रामा देखिने रहेछ । अरूको त कुरै छाडौं, समाजवादी–साम्यवादी भनिएका राजनीतिक दल, तिनका नेता तथा कार्यकर्तालाई समेत वैयक्तिकताले करिब–करिब खोक्रो बनाइसकेको अनुभव गर्छु । क्रान्ति र प्रतिक्रान्तिको बादल बेस्सरी मडारिँदै गएको यतिबेला मुट्ठी कसेर समवेत स्वरमा भन्न मन लाग्छ, क्रान्तिकारी शिविरलाई सदृढ बनाऔं, क्रान्ति र परिवर्तनको गीत गाऔं ।
इतिहासको यस घडीमा हामीले महान् सांस्कृतिक सहिदहरूको सम्मान र स्मरण गरिरहँदा फासिवादी वली सरकारका विरुद्ध निर्णायक सङ्घर्ष गर्नुपरेको छ । सबै क्रान्तिकारी, देशभक्त, परिवर्तनकारी शक्तिहरू मिलेर फासिवादका विरुद्ध लड्नुपरेको छ । ओलीको सामाजिक फासिवादी सररकाले जनतामाथि व्यापक दमनचक्र चलाइरहेको छ । को कतिखेर ढालिन्छ भन्न सकिने अवस्था छैन ! यतिबेला क्रान्तिकारी योद्धाहरूसँगै लेखक–साहित्यकार तथा संस्कृतिकर्मीहरूको दायित्व कैयौंगुणा बढेर गएको छ ।
सूर्य बिहानीको उत्तराद्र्धतिर पुग्दै छ । आज किन हो, सूर्य धुमिल धुमिल प्रतीत हुन्छ । प्रतिबन्धित समय, धुमिल सूर्य, बादलले डम्म ढाकेको यतिबेला अनुभूतिको मझेरीमा अहिलेलाई यति मात्र भनौं, २२ औं सांस्कृतिक प्रतिरोध दिवस भव्य रूपमा मनाऔं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् चर्चित जनकलाकार माइला लामालाई रिहा गराउन चौतर्फी दबाब सिर्जना गरौं । २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा राती घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रहरीद्वारा घेरा हाली हत्या गरिनुभएका जनकलाकारहरू च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठलगायत देशैभर सामूहिक हत्याकाण्डमा मृत्युवरण गर्नुहुने अमर सांस्कृतिक सहिदहरूको सम्मान गरौं ।
५ चैत, २०७६