newskoseli.Com

‘लकडाउन अझै बढाउनुपर्छ, बढाइन्छ’ : मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेर कोरोनाभाइरसको सन्त्रासबारे लकडाउन पछाडि पहिलो पटक छलफल गरेका छन् ।

कोरोनाभाइरस (कोभिड– १९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अरु केही मन्त्रीहरुसहित संलग्न भएर सबै मुख्यमन्त्रीहरुसँग गरिएको छलफलमा मुख्यमन्त्रीहरुले भारतमा संक्रमणको खतरा बढिरहेकाले नेपालमा पनि लकडाउनको अवधि अझै लम्ब्याउनुपर्नेमा जोड दिए । अहिलेकै अवस्थामा लकडाउन खोलिए संक्रमण फैलन सक्ने भन्दै मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु थपिएकोमा सन्तोष जनाउँदै अत्यावश्यक पूर्वाधारहरु प्रदेशमा अझ बढाउन केन्द्र सरकारले झन् बढी पहल गर्नुपर्नेमा मुख्यमन्त्रीहरुले जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग गरिएको भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड– १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र प्रदेशहरुमा भैरहेका कामहरुबारे जानकारी मागे । मुख्यमन्त्रीहरुले आ–आफ्नो प्रदेशमा भएका र भैरहेका प्रयासहरुबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

अहिले भैराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिइने र ससंक्रमणको खतरालाई मध्यनजर गरी कुनै पनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा स्पस्ट हुन प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आश्वस्त पार्न प्रयास गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

कुनै हिसाबले पनि संक्रमण फैलने स्थिति नहोस् भन्ने हिसाबले सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत कन्फ्रेन्समा छलफल भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर