newskoseli.Com

र्‍यापिड टेस्टका ‘पोजेटिभ’ पीसीआरपछि सबै ‘नेगेटिभ’ : भेटिएनन् नयाँ संक्रमित (काेभिड अपडेट)

मंगलबार यता सप्तरी, धादिङ, काभ्रे, काठमाडौंलगायत विभिन्न स्थानका करिव आधा दर्जन नागरिकमा कोरोना संक्रमण भेटिएको भन्दै आएका खबरहरू अन्ततः झुटो सावित भएका छन् । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा ‘पोजेटिभ’ देखिएका ती सबैमा पीसीआर परीक्षणबाट ‘नेगेटिभ’ आएकाले विगत २४ घन्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन् । अहिलेसम्म पुष्टि भएका सङ्क्रमितको सङ्ख्या १६ छ । तीमध्ये एक जना पहिले नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । पछिल्लाे २४ घन्टामा भने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट पनि कसैमा पाेजेटिभ नदेखिएकाे मन्त्रालयकाे भनाइ छ ।

बिहीवार अपराह्ण मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले विगत २४ घन्टामा पीसीआर विधिबाट ३ सय ६९ वटा नमूनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए । उनका अनुसार सो अवधिमा कूल ३ हजार २ सय ६३ व्यक्तिबाट सङ्कलित नमूनाको आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरियो ।

आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमूनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट सङ्कलित नमूना (स्वाब) संकलन गरी त्यसमा भाइरस भए–नभएको हेर्न पीसीआर विधिबाट थप परीक्षण गरिन्छ । यसअघि मङ्गलबार लगातार तेस्रो दिन कोभिड( १९ भएका व्यक्तिहरू फेला परेका थिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार अस्पतालमा भएका सङ्क्रमित सबैको स्वास्थ्य स्थिति राम्रो छ । उनीहरूमध्ये २ जना पाटन, २ जना टेकु, २ जना बागलुङ, ४ जना वीरगञ्ज र ५ जना कैलालीस्थित अस्पतालमा उपचाररत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर