लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सालाई संविधानमार्फत सम्बाेधन गराउँदै निशान छापमा समावेश गर्ने गरी संविधान संशोधन विधेयक संसदमा दर्ता भएर जेठ १८ मै सदनमा समेत पेस भइसकेको छ । उक्त विधेयक सर्वसाधारणको जानकारीका लागि प्रतिनिधिसभा नियमावलीअनुसार प्रकाशन समेत भइसकेको छ ।
यसबारे नेपाल राजपत्रमा सूचना पनि प्रकाशित भइसकेको छ । नियमावलीअनुसार प्रकाशनको सात दिनपछि अब बस्ने कुनै पनि बैठकमा सैद्धान्तिक छलफलका लागि विधेयक पेस हुन सक्नेछ । सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढ्न सक्नेछ । अर्थात् विधेयकमाथि संशोधनको चरण सुरु हुनेछ ।
संशोधनका क्रममा जुन धारा संशोधनका लागि ल्याइएको हो, त्यसमा मात्र संशोधन दर्ता हुनेछ । नियमावलीअनुसार यसरी संशोधन गर्न पाउने समय ७२ घन्टाको हुनेछ । यसरी प्राप्त संशोधनको सङ्ख्या हेरेर सभामुखले दफाबार छलफलका लागि विशेष समिति गठन गर्न सक्ने व्यवस्था नियमावलीमा छ ।
संशोधन नपरे वा सदनमा नै छलफलबाट पारितको प्रक्रिया अघि बढाउनु आवश्यक देखेमा सोही प्रक्रिया अघि बढ्न सक्नेछ । त्यसपछि विधेयक पारितको प्रक्रियामा जानेछ । संविधान संशोधन विधयेकका प्रत्येक धारा वा उपधारा तथा त्यसमा प्रस्तुत भएको संशोधन पनि एक–एक गरी निर्णयार्थ प्रस्तुत हुनेछन् ।
संशोधन प्रस्तावको छिनोफानोपछि विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ । संविधान संशोधन विधेयक पारितका लागि सदनको दुईतिहाइ बहुमत आवश्यक पर्नेछ । संविधान संशोधन विधेयक दस्तखतसहितको मतविभाजन प्रक्रियाबाट पारित हुनेछ । प्रतिनिधिसभाबाट पारित विधेयक त्यसपछि राष्ट्रियसभामा पेस हुनेछ । र, राष्ट्रिय सभामा पनि प्रतिनिधिसभा सरहकै प्रक्रिया हुनेछ ।