newskoseli.Com

दुवै पदबाट राजीनामा दिन ओलीमाथि दबाव : स्थायी कमिटीमा क–कसले के–के भने ?

अघिल्लो बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा मंगलबार बोल्ने सबै नेताहरुले खड्ग ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिएका छन् । ओलीको कार्यशैली र असन्तुलित एवं अशोभनीय पछिल्ला अभिव्यक्तिलाई लिएर नेताहरुले दुवै पदबाट उनको राजीनामा मागेका हुन् ।

अध्यक्ष ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘पदको लोभ गरेको’ आरोप लगाए । बैठकमा बोल्दै ओलीले प्रचण्डलाई एकल पार्टी अध्यक्ष नदिनुको कारण नै त्यही भएको जिकिर गरे । आफूलाई मात्र नेतृत्व चाहिने तर्क प्रचण्डले गर्नु गलत भएको तर्क गर्दै ओलीले भने– ‘३२ वर्षदेखि अध्यक्ष हुनुभएको छ, अझै पुगेन भनेर गुनासो छ; अन्य नेताले पनि नेतृत्व गर्नुभएको छ, पद नपाउँदा यस्तो अवस्था ?’

मदन जयन्तीका दिन आफूले दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले भने– ‘हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा किन आउँछन् भन्ने हिसाबले मैले के बोलेको थिएँ, यहाँ साथीहरुलाई बडो चिन्ता लागेछ । मैले भारतको विरोध गरेको कुरा यहाँ हाम्रै पार्टीको बैठकमा एजेन्डा बनेको छ । ननइस्सुलाई पनि बैठकको इस्सु बनाइयो, यो गलत भयो; यसको पनि छानविन गर्नुपर्छ ।’

अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिए । आइतबार ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्थायी कमिटीको मंगलबारको बैठकमा बोल्ने क्रममा दुवै पदबाट राजीनामा दिन प्रचण्डले ओलीलाई सुझाव दिएका हुन् ।

ओलीको सो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको र प्रधानमन्त्री विनाआधारका सतही कुरामा दौडिएको पुष्टि भएकाले राजीनामा दिनुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । स्थायी कमिटीका एक सदस्यले न्युजकोसेलीलाई दिएको जानकारीअनुसार प्रचण्डले बैठकमा भने– ‘मदन जयन्तीमा जुन अभिव्यक्ति दिनुभयो, त्यसबाट तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो; तपाईंले अब भारतसँग मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सक्नुहुन्न । जुन जिम्मेवारीमा बस्नुभएको छ, त्यो अनुसार तपाईंको अभिव्यक्ति आपत्तिजनक छ ।’

भारतीय राजदूतसँग प्रष्टीकरण लिन माग गर्दै प्रचण्डले भने– ‘तपाईंले सतही कुरा गर्नुभएको होइन भने भारतीय राजदूतलाई बोलाएर प्रष्टीकरण किन लिनुभएन ? कारबाही गर्नुपर्नेमा त्यो किन हुन सकेन ? लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा छाप्न नमान्ने नै तपाईं होइन ? अहिले उल्टै अरुलाई राष्ट्रघाती र आफूलाई राष्ट्रवादी देखाउन खोज्ने ? तपाईंको अभिव्यक्तिले राष्ट्र, पार्टी र जनतालाई घाटा भयो । कूटनीतिक विषयमा तल्लोस्तरको अभिव्यक्ति तपाईंले दिँदा हामीलाई लज्जाबोध छ, अब प्रष्टीकरण सोध्ने ठाउँमा पनि तपाईं हुनुहुन्न ।’

अब प्रधानमन्त्रीको विकल्प दिल्लीले होइन, पार्टीले नै खोज्ने चेतावनी दिँदै प्रचण्डले भने– ‘भारतले होइन, अब मैले भनेको छु तपाईंले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनोस्; तपाईंले नैतिकता गुमाउनुभयो, अध्यक्ष पनि छाड्नोस् र प्रधानमन्त्री पनि छाड्नोस्; भारतले भनेको होइन, यो मैले भनेको हो ।’

मंगलबारको बैठकमा बोल्दै वरिष्ठ नेता एवं अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि ओलीमाथि खनिए । जथाभावी बोल्दै र गर्दै हिँडेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन खनालले ओलीलाई सुझाव दिए । वरिष्ठ नेता खनालले भने– ‘नक्सा छाप्न नदिने नै तपाईं हो, हामीले भनेर मात्र नक्सा छापिएको हो ।’ जिम्मेवार ठाउँमा बसेर केटाकेटी खेल गर्दै हिँडेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन खनालले ओलीलाई सुझाव दिए ।

सोही बैठकमा बोल्दै अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओली अहंकार, दम्भ र घमण्डले फुलेको भन्दै आलोचना गरे । बैठकमा नेताहरुले निकै कडा आलोचना गर्ने संकेत पाइसकेका ओलीले केही दिनदेखि पार्टीको बैठक छल्दै आएका थिए । मंगलबार भने झन्डै तीन घन्टा बैठकमा बसेका ओलीमाथि आत्मकेन्द्रित व्यक्तिवाद नै मुख्य समस्या भएको भन्दै उनी पार्टी र सरकार दुवै चलाउन असफल भएको वरिष्ठ नेता नेपालले बताए । नेपालले भने– ‘पार्टी विभाजनको सपना देख्नुभएको होला, यो पार्टी धेरै मेहेनत गरेर बनाइएको पार्टी हो, चेतना भया ।’

ओलीले दुवै पद छाड्नुपर्ने बताउँदै नेपालले भने– ‘अब तपाईंले राजीनाम दिनुपर्छ । अरुलाई जे पनि आरोप लगाउने ? पार्टीका नेतालाई गाली गर्नेलाई छानीछानी नियुक्ति दिने ? सक्नुहुन्न, अब छाड्नुहोस्, आजै छाड्नुहोस् । अब यी दुवै पदमा बस्ने तपाईंको कुनै नैतिक हैसियत छैन ।’

मंगलबारको बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ताका लागि पत्र दर्ता भएको बताए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीबाट भएका क्रियाकलापको छानविन हुनुपर्नेमा जोड दिँदै गौतमले भने– ‘नेपाली कम्युनिस्ट आन्दोलनविरुद्ध र पार्टी एकताविरुद्ध जाने उहाँको यो कदमको पार्टीले छानविन गर्नुपर्छ । उहाँकै निर्देशनमा दर्ता भएको हो, त्यसबारे म जानकार र विश्वस्त छु ।’

मदन जयन्तीका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै गौतमले भने– ‘प्रधानमन्त्री भएर जुन खालको अभिव्यक्ति दिनुभयो, त्यो गलत छ । उहाँले अब प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ, बलजफ्ती गर्न मिल्दैन । प्रधानमन्त्रीले पदीय मर्यादा, पार्टीको प्रतिष्ठा र देशकै प्रतिष्ठामा खेलबाड गर्नुभएको छ ।’

ओलीको नक्कली ‘राष्ट्रवाद’ पर्दाफास गर्दै सत्ताधारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको स्थायी कमिटी बैठकमा भने– ‘नक्सा प्रकाशन गर्नका लागि पार्टीको स्थायी कमिटी र सचिवालय बैठकमा अध्यक्ष ओलीले मान्नुभएन । नीति तथा कार्यक्रममा राख्न पनि उहाँले मान्नुभएन । त्यहीं दिन हामीले चर्को दबाब दिएपछि मात्र नीति तथा कार्यक्रममा नक्सालाई राख्न तपाईंले त्यहींबाट मुख्यसचिवलाई फोन गर्नु भएको होइन ? यस्तो झुटो कुरा गर्ने ?’

प्रवक्ता श्रेष्ठले अगाडि भने– ‘नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ? तपाईंको राजीनामा वैशाख १७ कै बैठकमा उठेको थियो । त्यो बेला के तपाईं नक्सा छाप्न तयार हुनुहुन्थ्यो ? नक्सा छाप्न पनि तपाईं नै नमान्ने अनि आफ्नो अनुकूल भएन भनेर अन्य नेतालाई जे पनि भन्ने ? यो जिम्मेवारी भएन ।’

मंगलबारको बैठकमा स्थायी कमिटीका सदस्यहरू वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, भीम रावल, रघु पन्त, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र भीम आचार्यले आ–आफ्ना विचार प्रकट गरे । मंगलबार बाेल्ने सबैले नक्साका विषयमा प्रधानमन्त्रीले ढाँटेकाे, कूटनीतिक मर्यादा ताेडेकाे, पार्टी र सरकारमा एकलाैटी र मनपरी गरेकाे भन्दै दुवै पदबाट राजीनामा दिन माग गरे । बाँकी स्थायी कमिटीका सदस्यहरुले बुधबार बस्ने बैठकमा धारणा राख्ने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर