newskoseli.Com

राजनीतक दलमा हुने फुटका कारण र एकताका आधारहरू

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सम्भावना प्रबल बनिरहेको चर्चा व्यापक छ । सम्भावित फुटका पछाडि एकातिर बाह्य शक्तिकेन्द्रको हात रहेको भन्ने तर्क तथ्यसङ्गत ढङ्गले नै आइरहेको छ भने अर्कातिर शीर्ष नेताहरूद्वारा नै व्यक्तिगत लाभ–हानिलाई केन्द्रमा राखेर राजनीति गरिएकाले याे अवस्था पैदा हुन पुगेकाे जनसाधारणको बुझाइ छ । राजनीतिलाई जनता ढाँटछल गर्ने, भ्रममा पार्ने र स्वार्थपूर्तिको माध्यम बनाउने गरिएकाले यसप्रकारको अवस्था आएको सन्दर्भमा समेत चर्चा चलिरहेछ ।

पार्टी एकता वा फुटमा बाह्य विजातीय वर्गहरुको चलखेल र पहल केही भए पनि अन्ततः पार्टी र नेताहरुभित्रै रहेका विचारदेखि व्यवहारसम्मका विविध कारणहरुले नै प्रधान र निर्णायक भूमिका खेलिरहेका हुन्छन् । यसरी हेर्दा नेकपाभित्रको वर्तमान बहस, विवाद र विभाजनको यो आन्तरिक घटना–प्रक्रियामा कार्य–कारण सम्बन्धको एउटा लामो, मुख्य र निर्णायक शृङ्खला रहेको हुन्छ । यिनै कारण र कमजोरीहरुको शृङ्खलामाथि बाह्य शक्तिकेन्द्रले खेल्छन् र परिणामतः विदेशी शक्तिले पार्टी फुटाएको वा जुटाइदिएको भन्ने पर्दछ । जेहोस्, फुट वा जुटको प्रधान र निर्णायक कारण आन्तरिक नै हुन्छ । यस आलेखमा तिनै आन्तरिक कारणहरूबारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।

फुट्को कारण गुट, गुटको कारण झुट, झुटको कारण लुट, लुटको कारण टुट (वैचारिक–सैद्धान्तिक विचलन), टुटको कारण छुट (अध्ययन, अनुसन्धान र अनुभवको कमी), छुटको कारण सत्ता–सुख अर्थात् सत्तामा पुगेर वा नपुगे पनि पुग्ने लालसा लिएर लोकलज्जा लङ्घन गर्ने र लुछाचुँडी गर्दै चरम सुखशयल, मोजमज्जा र भोगविलास गर्ने व्यक्तिगत, पारिवारिक र वंशगत स्वार्थपूर्तिमा शक्ति र बुद्धि केन्द्रित गर्नु नै हो । यद्यपि यसप्रकारको स्वार्थलाई लुकाउने गरिन्छ/गरिएको छ किभने सामूहिकताको आवरण दिने साजिस रचिन्छ र दुनियाँलाई भ्रमित पारिन्छ/पारिएको छ । त्यो कथित सामूहिकता नै अघिल्लो चरणमा जाति, क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, सभ्यता आदि कुनै एकका नाममा समूह, टिम, गिरोह, झुण्ड अर्थात् गुट हुन्छ र तिनै स्वार्थी समूह वा गुटहरु नै आ–आफ्ना संकीर्ण र क्षुद्र स्वार्थका कारण आपसमा टक्कराउँछन् अनि तीन प्रकारका अवस्था उत्पन्न हुन्छन्–

पहिलोः एउटा शक्तिशाली गुटले जित्छ भने अर्को कमजोर गुट तत्काललाई हार स्वीकारेर बस्छ र पछि फेरि जित्न सक्ने आशा लिएर सँगै बस्छ । यस क्रममा भावनात्मक फुट भए पनि संगठनात्मक एकता केही समयका लागि बँच्दछ । यद्यपि यसप्रकारको विचार, राजनीति र भावना टुटेको एकतालाई सत्तासुखभोगको निकृष्ट स्वार्थले जोडेको हुन्छ, चीरस्थायी हुन सक्तैन ।

दोस्रोः दुवै गुटहरु बलाबलको अवस्थामा हुँदा वा कुनै एक शक्तिशाली गुट पनि उदार र नरम हुँदा वा फुटेर भन्दा जुटेर बस्दा नै तुलनात्मकरुपले लुट मच्चाउन र सत्तासुख भोग गर्न सरल, सहज, शीघ्र र सुदीर्घ हुने सम्भावना देखेर ‘विन–विन’ का नाममा तत्काललाई केही लेनदेन गरी सम्झौतामा पुग्छन् र फेरि पनि केही समयसम्म फुट टर्दछ, तथापि यो स्वार्थकेन्द्रित सम्झौता/एकताले दीर्घकालसम्म फुट रोक्न सक्तैन ।

तेस्रोः शक्तिशाली वा बहुमत पक्षले कमजोर वा अल्पमत पक्षलाई विभिन्न बहाना बनाई आरोपित गर्ने र ‘नसच्चिएको’ ठहर गर्दै कारबाही गरेको दावी गर्छ भने कमजोर वा अल्पमत पक्ष चाहिँ बहुमतको ज्यादति, मनपरी, स्वेच्छाचारी र तानाशाही प्रवृत्ति/व्यवहारका विरुद्ध आफूहरूले ‘विद्रोह गरेको’ जनाउँदै अलग हुन पुग्छ । यसप्रकारको फुट अर्थात् स्वार्थकेन्द्रित सोच, शैली, संस्कार र संकृतिका कारण हुने फुट, विभाजन वा छुट्टिने प्रक्रिया राजनीतिक पार्टीहरुमा मात्र होइन, सामान्यतः सबै सामूहिक र संगठित क्षेत्रमा समेत चल्ने गरेको पाइन्छ ।

स्पष्टरुपमा यो एउटा दुःखद विडम्बना भएको छ कि कुनै निश्चित, निहित र निकृष्ट स्वार्थ अर्थात् मुख्यतस् प्रमुख नेताहरुको व्यक्तिगत, पारिवारिक वा वंशगत श्रीसम्पत्ती, सुख–सुविधा, ऐस–आराम, शान–शौकत, मोज–मज्जा र भोग–विलासका लागि नै ती मुठ्ठीभर जालीझेली नेताहरुले आफ्नो वा अर्को कुनै निश्चित जाति, क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति र सभ्यता आदिको संरक्षण र सम्बर्द्धनजस्ता नीति र नाराहरुको आवरणमा संगठन र संघर्ष सञ्चालन गरी सत्ता प्राप्त गर्छन् र अन्ततः आफूलाई एउटा शक्तिशाली साम्राज्यको सम्राट सदर गर्दै आफ्ना निकृष्ट स्वार्थपूर्ति गर्दछन् ।

यसको अर्थ र निष्कर्ष यो हो कि यसप्रकारको सीमित स्वार्थकेन्द्रित फुट, विभाजन वा विद्रोह अथवा लेनदेन,सहमति वा सम्झौता हुनु गलत र भ्रामक त हो नै, साथै यसप्रकारका खोटा र कलुषित विचार र व्यवहार, चिन्तन र चरित्र, नीति र नियत, मति र गति, नारा र पाराका कारणले भएका वा हुने एकता वा फुट दुवै त्यत्तिकै निकृष्ट, निन्दनीय, नियन्त्रणजन्य र निषेधयोग्य नै हुन्छन् ।

तसर्थ, फुटलाई रोक्ने अर्थात् एकतालाई सफल, सबल, सुदृढ र सार्थक बनाउने हो भने प्रथमतः पार्टी र नेताहरुका विचार/दृष्टिकोण, नीति/निर्णय, योजना/कार्यक्रम र काम/व्यवहार सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र व्यावहारिक हुनुपर्दछ । तत्पश्चात नेताहरुका नियत सफा हुनुपर्छ, उनीहरुबाट स्वार्थत्याग हुनुपर्छ, उनीहरुले सत्तालाई सुख–सुविधाको स्रोत र स्थल बनाउनु हुँदैन । सत्ताको सिँढी उक्लनु भनेको जनता, क्रान्ति र राष्ट्रको सेवामा समर्पित हुनु हो, पार्टीमा भन्दा पनि बढी दुःख–कष्ट र त्याग–तपस्या गर्नु हो भन्ने बुझाइ र व्यवहार नेतृत्वमा हुनु पर्दछ ।

‘सत्ताबाहेक सबैथोक भ्रम हो’ भन्ने बुझाइमा रहेको यान्त्रिक र निरपेक्ष सोचाइलाई ठीक ढङ्गले अर्थात् द्वन्द्ववादी दृष्टिले बुझेर सत्तालिप्सा त्याग्न सक्नु पर्दछ । यसरी नै पार्टीकाम र सरकारी कामको मूल्य–मान्यता र महत्त्व समान दिइनुपर्छ; अझ भन्ने हो भने पार्टीका कामलाई चाहिँ सरकारका कामलाई भन्दा बढी शक्तिशाली, प्रभावकारी र निर्णायक बनाउनुपर्छ । पार्टीको निगरानी, नियन्त्रण र हस्तक्षेपमा सरकार सञ्चालन हुनुपर्छ । स्वतन्त्र, सार्वभौम र सक्षम जनताको शक्तिशाली संयन्त्रद्वारा पार्टी र राज्य दुवैमाथि निगरानी, नियन्त्रण र हस्तक्षेप गर्ने तथा सुझाव, दबाव, खबरदारी, हस्तक्षेप र निषेध गर्ने विधि, व्यवस्था र अवस्था बनाइनुपर्छ ।

यसखाले संरचना र विधिका अतिरिक्त सर्वत्र स्वच्छता र पारदर्शिता अवलम्बन गरिनुपर्छ । पार्टी र राज्यका नीति निर्माण र कार्यान्वयनको नेतृत्व गर्ने नायक र संयन्त्रहरुका काम–व्यवहार, सोच, शैली, संस्कार र संस्कृतिमा शुद्धीकरण, जनवादीकरण, बैज्ञानिकीकरण, न्यायीकरण, क्रान्तिकारीकरण, सर्वहाराकरण, समाजवादी/साम्यवादीकरण गरिनु अनिवार्य हुन्छ । अन्यथा, विचार र व्यवहारबीचको बेमेल र विभाजनको यो प्रक्रिया विभिन्न वर्ग र विचार–समूहमा मात्र होइन, विश्वमै विकृति–विसङ्गति विस्तारसम्म मात्र सीमित नरही ब्रह्मान्डकै विध्वंस र विसर्जनसम्म पनि नपुग्ला भन्न सकिँदैन ।

यी सामग्री पनि पढ्नुहोस्–
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’

सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर