newskoseli.Com

नेकपाभित्रकाे अन्तर्कलह : ‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’

शुक्रबार सुरू भएको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीका एकाथरी नेता–कार्यकर्तामा रूवाबासी मच्चिएको छ । अर्काथरी नेताहरू भने खासै बोलेका छैनन् तर तल्लो तहका कार्यकर्ता भने प्रचण्डको प्रस्ताव नै पारित भैसकेको र ओलीलाई पार्टी र राज्यसत्ता दुवैतिरबाट गलहत्याइसकिएको झैं अभिव्यक्ति दिइरहेका छन् ।

दुवै अध्यक्षको परामर्श र सहमतिमा महासचिवमार्फत २८ कात्तिकमा सचिवालयको बैठक बसेको र त्यसैको निरन्तरतास्वरूप मंसिर ३ मा सो बैठकले निरन्तरता पाउने निर्णय नै २८ कात्तिककै बैठकले गरिसकेको हुँदा ३ मंसिरको बैठक ओलीपक्षले ‘स्थगित’ वा ‘खारेज’ या ‘बहिष्कार’ जेसुकै गरे तापनि रोकिने वा रोक्नुपर्ने अवस्था देखिँदैन । तर, ओलीपक्षीय नेताहरू इश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बाँस्कोटा, सूर्य थापालगायतले प्रचण्डको प्रस्तावलाई ‘अनधिकृत’, ‘एकपक्षीय वा एकल’, ‘विधानविपरीत’, ‘विधि र परम्पराविपरीत’, ‘असान्दर्भिक’, ‘अनुचित’ भन्दै कुनै पनि कमिटीका जुनसुकै बैठकमा छलफलै हुन नसक्ने दावी गरेका छन् ।

सचिवालय सदस्य समेत रहेका पार्टी उपाध्यक्ष एवं ओली पक्षले अन्ततः आफ्नो ‘रक्षाकवच’ बन्ने आशा गरिरहेका वामदेव गौतमले नै प्रचण्डद्वारा प्रस्तुत सो प्रस्ताव अध्यक्ष प्रचण्डको एकल प्रस्ताव नभई बहुमत सचिवालय सदस्यहरुको सहमतिपूर्ण साझा प्रस्ताव भएको प्रष्ट्याँदै सोही प्रस्तावले नै अब नेकपालाई बचाउने बताइसकेका छन् । यसै मेसोमा प्रचण्डपक्षीय एक कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रधानमन्त्री ओलीले निरन्तर हम्मर हानिरहे र अन्तमा अध्यक्ष प्रचण्डले घनले नै बजाइदिए ।’

पार्टी एकताको अढाई वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एक–अर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ । प्रधानमन्त्री ओलीले पार्टीको संगठन, सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन् । पार्टी र सरकारका सम्बन्धमा तालमेल र समन्वयको अभाव रहेको उनले जनाएका छन् । ‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ । हाम्रो आजको संवैधानिक र राजनीतिक व्यवस्थाअन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ,’ उनको प्रतिवेदनमा उल्लेख छ– ‘वाम गठबन्धन र कम्युनिस्ट एकताबाट अत्तालिएका देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिँदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्ध आफ्नो षड्यन्त्रलाई नयाँ–नयाँ रुपमा अगाडि बढाइरहेका छन् । आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिका अगाडि नयाँ चुनौती थपिएका छन् ।’

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवं नेपाल कम्युनिस्ट पार्टीका अगाडि ओलीले निकै नै गम्भीर समस्या खडा गरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । ‘यी गम्भीर र जटिल समस्याको सामना अब स–साना प्राविधिक जोडघटाउ वा पदीय भागबन्डाबाट गर्नु असम्भव छ । यसका निमित्त वैचारिक–राजनीतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ’– प्रचण्डले प्रस्तावमा लेखेका छन् ।

प्रचण्डका अनुसार ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने र नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति हुन् । ‘व्यवहारतः उहाँ (ओली) ले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहनुभएको छ’– प्रचण्डले प्रस्तावमा उल्लेख गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

यी सामग्री पनि पढ्नुहोस्–
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर