newskoseli.Com

विष्णु भन्ने ‘मिलाऊँ–मिलाऊँ’, ईश्वर भन्ने ‘कहाँ हुन्छ’ : ओली–माधव ‘प्रहसन’ !

सोमबार । धुम्बाराहीस्थित एमाले मुख्यालय । अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली एकै ठाउँ जुटे । विभाजित एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए ।

तर, झलनाथ–माधव समूहको निश्कर्ष छ– ‘मिल्ने होइन, अल्मल्याउने प्रहसन रचियो ।’ आइतबार राति पौने ९ बजे प्रधानमन्त्री खड्ग ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरे । त्यसबेला माधव चैत ४ र ५ को राष्ट्रिय भेलाका विषयमा केही सहकर्मीसँग कुराकानी सकेर विश्रामको तयारीमा थिए । त्यही बेला ‘नो नम्बर’ बाट फोन आयो ।

फोन रिसिभ हुनासाथ ‘हलो–हाई’ नभनी एकैचोटि स्वर गुञ्जियो– ‘भेटौं न !’ माधवले ओलीको स्वर चिनिहाले र जवाफ पनि दिइहाले– ‘हुन्छ’ । ओलीले भनी निम्तो गरे– ‘बालुवाटार आउनु न त’ । माधवले भने– ‘त्यहाँ त आउँदिनँ, किन आउने रु भेट्नैपर्ने हो भने भोलि पार्टी अफिसमा भेटौं ।’

ओलीले भने– ‘हुन्छ त नि ।’ माधवले भने– ‘तपाईंसँग म एक्लै त भेट्दिनँ, एक्लै भेटेर कुरा गर्नुको केही अर्थ छैन; कुरा एउटा हुन्छ, प्रचार अर्को गरिन्छ ।’ त्यसपछि ओलीले माधवलाई भने– ‘पाँच जना साथी लिएर आउनुस्, म पनि पाँच जना साथीलाई भन्छु ।’

र, त्यहीअनुसार नेताहरु सोमबार ११ बजे धुम्बाराहीमा जुटे । सहभागी एक नेताका अनुसार सुरुमा राम्रै कुरा भयो । कुरा हुँदै जाँदा अध्यक्ष र महासचिव बाहेक सम्पूर्ण पदाधिकारी खारेज गर्ने २८ गतेको बैठकको निर्णयबारे माधव पक्षबाट कुरा उठ्यो । कुरा टार्नका लागि ओलीले भने– ‘बैठकमा आउनुभएन, त्यसदिन साथीहरुले तपाईंहरु सबैलाई खबर गरेको भन्थे त । जे–जसो भए पनि अब ७ गतेको बैठकमा सबैजना आउनुस् ।’

माधवले प्रतिवाद गरे– ‘चारै उपाध्यक्ष, उपमहासचिव, सचिव र वरिष्ठ नेताहरुलाई खबर नहुने, त्यो पनि बैठक हुन्छ ? त्यो गुटको भेला मात्रै हो । त्यसको निर्णय पनि मान्दैनौं, त्यसको वैधानिकता स्वीकार पनि गर्दैनौं ।’ ओलीले भने– ‘तपाईंहरुले ४ गतेको भेला स्थगित गर्नुस्, ३ गतेको चियापानमा आउनुस’ ।

घनश्याम भुसालले भने– ‘२८ गतेको निर्णय फिर्ता नहुने हो भने बाँकी कुराहरु गरिराख्नै परेन । हामीलाई न चिया पिउने रहर छ, न त ४ गतेको भेला रोकेर ७ गतेको बैठकमा जाने मन छ ।’ घनश्यामको कुरालाई माधवले टुंग्याए– ‘हामी आउँदैनौं ।’

त्यसपछि २८ गतेको निर्णयबारे फेरि कुरा चल्यो । सच्याउन वा फिर्ता लिन नसकिने भन्दै ईश्वर पोखरेलले जवाफ दिए– ‘कहाँ हुन्छ अब ? जे भयो–भयो ।’ विष्णु पौडेलचाहिँ निकै नरमसाथ पेस भइरहेका थिए । ‘छलफल गरौं, एउटा निश्कर्षमा पुग्न सकिन्छ ।’ विष्णुले कुरा राख्दै गर्दा फेरि ईश्वर कराए– ‘कहाँ हुन्छ !’

खास कुरा रहेछ, ईश्वरको साढे दुई वर्षदेखि गुमेको महासचिव पद सर्वोच्चको फैसलाले फिर्ता गरिदिएको । र, त्यत्तिको अवधि चलाइसकेको महासचिव पदबाट विष्णुले भने उपमहासचिवमा झर्नुपरेको । त्यसैले विष्णु ‘मिलौं–मिलाऔं’ भन्ने अनि ईश्वरचाहिँ ‘कहाँ हुन्छ’ भन्दै पड्किइहाल्ने !

ईश्वर र विष्णुबाट कुरा बिग्रन थालेपछि सुवास नेम्बाङ भन्दै थिए– ‘केही उपाय त खोजौं ।’ नेम्बाङले त्यसो भन्दा पनि ईश्वर फेरि बम्किइहाल्ने– ‘कहाँ हुन्छ !’ दुई खेमामा विभाजित एमालेका शीर्ष नेताहरुबीचको रोचक–घोचक कुराकानीको विवरण बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर