newskoseli.Com

फेरि ‘माओवादी’ बन्नुपर्ने ‘पूर्वमाओवादी’ को बाध्यता !

सत्ताघटक नेकपा (माओवादी केन्द्र) ले आन्तरिक सङ्गठनात्मक क्रियाकलापलाई तीव्रता दिएको छ । सो पार्टीले पटक–पटक स्थायी कमिटीको बैठक राख्ने, केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने, विधान संशोधन प्रस्ताव पारित गर्ने, राजनीतिक एजेन्डालाई मूर्तीकृत गर्ने र सहायक/जनवर्गीय सङ्गठनहरुको सम्मेलन–भेला–बैठकहरु गर्नेजस्ता कामहरुलाई निरन्तरता दिएको छ ।

एमोलसँग एकता भई बनेको नेकपा (नेकपा) कालमा माओवादी केन्द्र सैद्धान्तिक–वैचारिकरुपले दिशाविहीन थियो । पार्टी एकता गर्ने नाममा ‘माओवाद’ लाई नै ‘स्थगन’ गरेर राजनीतिक कार्यनीतिका रुपमा आफूले अघि सारेको ‘एक्काईसौं शताब्दीको जनवाद’ समेतलाई प्रकारान्तरले ‘त्याग्न’ सहमत भएको थियो । नेकपाकालमा माओवादी केन्द्रका नेताहरु ‘पूर्वमाओवादी’ भनिने गरेका थिए । विगतमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त मानेर सोही आधारमा पार्टीको नाम नै ‘माओवादी’ राखेको सो पार्टी माओवादीको कट्टर विरोधी एवम् सैद्धान्तिक–राजनीतिक–वैचारिक प्रश्नमा कहीं–कतै समानता नभएको एमालेसँग पार्टी एकत गर्न पुगेको थियो ।

३ जेठ, २०७५ मा एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकता र त्यसपछि बनेको नेकपा (नेकपा) लाई २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले बदर गरिदिएपछि पूर्ववत एमाले र माओवादी केन्द्र ‘ब्युँतिएका’ थिए । त्यसपछि ‘पूर्वमाओवादी’ हरुले फेरि आफूलाई ‘माओवादी’ नै भनाउन/दावी गर्न थाले ।

यसरी ‘माओवादी’ बाट ‘पूर्वमाओवादी’ भईवरी फेरि ‘माओवादी’ नै बन्नुपर्दाको सकस सामान्य छैन । विगतमा आफ्ना नेता–कार्यकर्ता, सङ्गठन, स्रोत–साधन, सहयोगी तप्का, समर्थक–शुभचिन्तकदेखि रणनीति–कार्यनीति र सिद्धान्तसम्मलाई एक हिसाबले ‘त्यागिसकेको’ माओवादी केन्द्रका नेताहरु अब फेरि ती सबैको पुनप्र्राप्तिका निम्ति प्रयासरत देखिन्छन् । प्राविधिक र व्यावहारिकरुपले तङ्ग्रने प्रयास गरे तापनि सैद्धान्तिक–वैचारिक हिसाबले फेरि ‘माओवादी’ नै बन्नेतर्फ भने सो पार्टीका नेताहरुको प्रयास कहीं–कतै देखिँदैन ।

सङ्गठनात्मक, प्राविधिक एवम् भौतिकरुपले करिव–करिव शून्यबाट नै उठेर फेरि पनि पहिलो संविधानसभाकालकै माओवादीका हैसियतमा आफूलाई उभ्याउने अभिलाषा माओवादी केन्द्रका नेताहरुमा देखिन्छ । ‘अबको चुनाव ०६४ को जस्तो बनाउनैपर्छ हामीले’– सार्वजनिक अभिव्यक्तिहरुमा अध्यक्ष प्रचण्डले बारम्बार भन्न थालेका छन् । यसबीच पटक–पटक विभाजन व्यहोरेको माओवादीका तीन मुख्य घटकहरुमध्येको एउटा माओवादी केन्द्र मात्रैको प्रयासले भने त्यस्तो अभिलाषा त्यति सहजै पूरा हुने देखिँदैन ।

जनजिब्राेबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर