विकास र पूर्वाधार निर्माणमा सहयोग गर्ने बहानामा सार्वभौम राष्ट्र नेपालको राष्ट्रिय अस्मिता, सार्वभौमिकता र स्वाधिनतामाथि सोझै हस्तक्षेप गर्ने अनि पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिको समेत सोझै प्रतिकूल हुने कथित मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् बदनाम एमसीसी तत्काल पारित गर्न सहयोग नगरिए सत्ताधारी गठबन्धन नै टुट्न सक्ने धम्की दिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै खुट्टामा बन्चरो हान्ने मूर्खता गरेका छन् ।
‘नेपाली कांग्रेस भन्ने पनि एउटा पार्टी थियो नेपालमा अनि ऊ पटक–पटक सत्तामा पनि पुगेको थियो र सरकारको नेतृत्व समेत समालेको थियो भन्नेछन् नेपाली जनताले अबका दिनमा’ भन्दै एमाले अध्यक्ष खड्ग ओलीले कटाक्ष गरेको धेरै भएको छैन । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नराम्ररी हारेको कांग्रेस जसको प्रस्ताव, निरन्तर जोडबल र निकै ठूलो त्याग र संघर्षबाट फेरि यति छिटै सत्ताको शिखरमा उक्लियो, सत्तामा पुगेकै दिनदेखि ध्रुवे हात्ती झैं मैमत्त भएर उनैका विरूद्ध तिकडम गर्न र राष्ट्रका विरूद्धको हर्कत गर्न तम्सिएको देखिनु किमार्थ स्वाभाविक र शोभनीय देखिँदैन ।
कांग्रेसमा क्रमशः हावी हुँदै गएको एउटा भुइँफुट्टा तप्काले भने रछ्यानमा मिल्किएको कांग्रेस फेरि सत्तामा पुगेकै दिनदेखि निरन्तर गठबन्धनको विरोध गर्दै आइरहेको छ । पछिल्लो चुनावबाट कांग्रेस विजयी भएर आएको हो अनि उसैको निगाहाबाट प्रचण्ड र माधव नेपालहरूका सांसद् मन्त्री बन्न पाएका छन् भनेजसरी कांग्रेसका कतिपय उत्ताउला–उरन्ठेउला नेताहरू र कतिपय सन्दर्भमा प्रधानमन्त्री देउवा स्वयंले देखाएका व्यवहार राष्ट्र, राष्ट्रियता र प्रतिगमनविरोधी आन्दोलनका दृष्टिले जति विषाक्त छन्, त्योभन्दा बढी त स्वयं कांग्रेसकै निम्ति हानिकारक छन् ।
कोरोना महामारीले क्षतविक्षत भएका राष्ट्र र जनताका आधारभूत जीविकाका विषय, चौतर्फी अस्तव्यस्त दैनिक व्यवहार, महामारीबाट उन्मुक्तिको प्रश्न, राष्ट्रिय स्वाधिनताको रक्षा, नजिकिँदै गएका तीनै तहका निर्वाचन, प्रतिक्रियावादी ओली समूहले राष्ट्र र जनताका विरूद्ध निरन्तर थोपर्दै र दिनदिनै थप्दै गइरहेका अपराधहरू आदितर्फ ध्यान दिनुको सट्टा सत्तामा उक्लेकै दिनदेखि राष्ट्रघाती एमसीसीको भरिया बन्न मात्र देउवाले देखाएको एकोहोरो आशक्ति उदेकलाग्दो छ । अन्ततः या त एमसीसीप्रति सहमति जनाऊ नत्र गठबन्धन तोड्छु भनेर देउवाले दिएको धम्कीबाट त विगतमा पटक–पटक राष्ट्रविरोधी एवं जनविरोधी सावित भएका देउवाको पुरानै चरित्रको मात्र पुनर्पुष्टि भएको छ ।
खड्ग ओलीजस्ता आपराधिक दुष्पात्रलाई सत्ताबाट गलहत्याएर राष्ट्र र जनताको रक्षा गर्नुपर्ने बाध्यात्मक परिवेशमा उनी स्वयंले पटक्कै आशा, भरोसा र विश्वास नगरेको प्रधानमन्त्री पद देउवाका हातमा पुगेको थियो । त्यही बेला ‘प्रतिगमन सच्याउन देउवा पो प्रधानमन्त्री ?…’ भन्दै समाजको ठूलै तप्काले व्यंग्यात्मक प्रश्न तेर्स्याएको थियो ।
राजनीतिका अनेकौं आरोह–अवरोह छिचोलेका, कयौं हण्डर र ठक्कर भोगिसकेका, उमेरले पनि निकै पाको र परिपक्व भएका अनि पछिल्लो चुनावबाट त राजनीतिक रंगमञ्चबाटै किनारामा धकेलिन पुगेका देउवा र कांग्रेसको थोरै भए पनि ‘बुद्धि पलायो’ होला; त्यहाँमाथि खड्ग ओली र ओली समूहजत्तिको आपराधिक पात्र, पृष्ठभूमि र व्यवहार त नेपाली ‘प्रजातान्त्रिक’ धारका देउवा र कांग्रेसको अवश्य नै नहोला भन्ने झिनो आशा ‘वाम’ खेमा र नेपाली जनमतको एउटा तप्कामा पलाएको थियो ।
जनतामा पलाएको यो आशा–अपेक्षा अनि ‘वाम’ धारले दर्शाएको भरोसालाई लात मारेर आफू र आफ्नो पार्टीलाई इतिहासको रंगमञ्चबाट रछ्यानमा मिल्काउने कि वर्तमान संवैधानिक परिवेशले बाध्यात्मकरुपमै सिर्जना गरिदिएको एकता, सहकार्य र सहअस्तित्वको मूल्यलाई आत्मसात् गर्ने ? रोजाइ स्वयं देउवा र कांग्रेसकै हो ।
यद्यपि पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल तथा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायतले ‘गठबन्धन टुट्न सक्ने’ भनाइ प्रधानमन्त्री देउवाबाट नआएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, एमसीसी पास गर्न प्रधानमन्त्री देउवाले निरन्तर जोड दिँदै यही ‘काम’ लाई प्राथमिकताको पहिलो नम्बरमा राखेको कुरा कहीं–कतै छिपेको छैन । अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले कहिले ‘सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाएमा’ त कहिले ‘पाँचदलीय गठबन्धन तोडेमा’ एमसीसी पास गर्न आफूहरुले सघाउने भन्दै त्यसैका निम्ति निरन्तर प्रयत्न गरिरहेको तथ्य पनि खुलस्त नै छ ।
सत्तामा रहेका र नरहेका तथा वर्तमान राज्यप्रणालीलाई मान्ने तथा नमान्ने सबैखाले राजनीतिक पक्ष, शक्ति र तमाम नेपाली नागरिकको अत्यधिक ठूलो अभिमत कथित एमसीसी कुनै हालतमा स्वीकार गर्नु नहुने, विनाअलमल र विनाछलफल खारेज गरिदिन किञ्चित ढिलो गर्नु नहुने भन्नेमै रहेको स्पष्ट देखिइसकेको छ । अतः यो स्थितिमा अझै एमसीसी–एमसीसी भनेर उफ्रिइरहनु राष्ट्र र जनताको हितमा त हुँदैन नै; साथसाथै, प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसको हितमा समेत किमार्थ नहुने निश्चित छ ।