newskoseli.Com

सातौं विश्व संस्कृत दिवस सोमबार गहनापोखरीमा : प्रा. उपाध्यायलाई विशेष सम्मान

भोलि सोमबार सातौँ विश्व संस्कृत दिवस मनाइँदैछ । जरोकिलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । सोही कार्यक्रमको नयाँ शृङ्खलाका रूपमा यही २०८१ भदौ ३ गते सोमबार सातौँ विश्व संस्कृत दिवस मनाइने भएको हो ।

तिथिअनुसार प्रत्येक वर्षको श्रावणी पूर्णिमा (ऋषितर्पणी) का दिन मनाइने विश्व संस्कृत दिवस नेपालसहित विश्वका विभिन्न देशहरूमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस वर्ष संस्कृत दिवसको मूल समारोह राजधानीको गहनापोखरी, टङ्गालस्थित समुद्र मन विद्या प्रतिष्ठानको सभाकक्षमा सोमबार दिउँसो २ बजेदेखि आयोजना गरिएको जानकारी विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयले दिएका छन् ।

संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको जरोकिलो महाअभियानका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीको भनाइ छ । प्राचीनकालमा श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि शैक्षिक सत्रको प्रारम्भ गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको उल्लेख गर्दै विश्व संस्कृत दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्ष समेत प्रस्ताव लगिने समेत डा. अधिकारीले बताए ।

नेपालमा आयोजित विश्व संस्कृत दिवसमा जरोकिलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् । यसैगरी, विश्व संस्कृत दिवसका लागि अन्तर्राष्ट्रिय तहमा सहृदयता इन्टरनेसनल, इन्टरनेसनल फेडेरेसन अफ सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अस्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर पीस एण्ड स्पिरिचुअल साइन्स लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

प्राध्यापक उपाध्यायलाई विशेष संस्कृत सम्मान

विश्व संस्कृत दिवसका अवसरमा प्रत्येक वर्ष प्रदान गरिने विशेष संस्कृत सम्मानबाट यस वर्ष भाषाविद् प्रा. मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिँदैछ । प्रा. उपाध्यायले संस्कृत एवं नेपाली भाषाको श्रीवृद्धिका साथै सनातन धर्म–संस्कृतिको प्रवर्द्धनका लागि दशकौँदेखि गरेको विशिष्ट योगदानका लागि उनलाई विशेष सम्मान गर्न लागिएको विश्व संस्कृत दिवस समेतका संकल्पकर्ता डा. अधिकारीले जानकारी दिए ।

विशेष संस्कृत सम्मानबाट यसअघिका वर्षहरूमा आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा.डा. दीर्घराज घिमिरेलाई सम्मानित गरिएको थियो । यसअघि १ लाख रूपैयाँ नगद राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोसिप) समेत उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) र उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रा.डा. पुरुषोत्तमाचार्यको प्रमुख अतिथ्यतामा भदौ ३ मा आयोजित मूल समारोह सम्पन्न हुने आयोजकको भनाइ छ । नेपालमा जन्मेर हाल भारतको राजस्थान संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. पुरुषोत्तमाचार्य संस्कृतका विशिष्टि विद्वान् एवं प्रतिष्ठित आध्यात्मिक गुरु समेत हुन् । विश्व संस्कृत दिवसका अवसरमा नेपालका सातै प्रदेशमा विभिन्न गुरुकुल तथा अन्य संस्थाहरूको तत्त्वावधानमा विभिन्न कार्यक्रम गरिने विश्व संस्कृत दिवस कार्यपरिषदले जानकारी गराएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर