newskoseli.Com

जनयुद्धको उदात्तीकरणमा जनवादी गीतको भूमिका

(महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति तथा सम्मानका साथसाथै उहाँका सत्कर्महरूबाट निरन्तर प्रेरणा लिँदै नेपाली प्रगतिशील एवम् जनवादी साहित्य–कलाको प्रचार, प्रवर्द्धन र व्यापक सामाजिकीकरणका निम्ति स्थापित संस्था हो– इच्छुक सांस्कृतिक प्रतिष्ठान। प्रतिष्ठानले नियमितरूपमा अनेकौं सांस्कृतिक क्रियाकलापका साथसाथै केही महत्त्वपूर्ण कृतिहरू समेत प्रकाशित गर्ने सिलसिलामा ‘प्रवर्तक’ नामक अर्द्धवार्षिक जर्नल पनि प्रकाशन गर्दै आएको छ। हालै प्रकाशित सोही जर्नलको नवौं अङ्कमा वरिष्ठ सौन्दर्यचिन्तक चैतन्य (मोहन वैद्य ‘किरण’) को अन्तर्वाता र नेपाली प्रगतिवादी कला–साहित्य सम्बन्धी अरु दसवटा महत्त्वपूर्ण अनुसन्धानात्मक आलेखहरू प्रकाशित छन्। नेपाली प्रगतिशील एवम् जनवादी गीतसङ्गीतका क्षेत्रमा गहन अध्ययन–विश्लेषणका साथ सोही जर्नलमा प्रकाशित एउटा सामग्री यहाँ प्रस्तुत गरिएको छ– सम्पादक।)

साहित्यकलाका चार मुख्य विधा– ‘काव्य, आख्यान, नाटक र निबन्ध’ मध्येको एक मुख्य विधा ‘काव्य’ अन्तर्गतकै एउटा उपविधा गीत हो। पूर्वीय संस्कृत साहित्यमा समग्र साहित्यलाई नै चिनाउन ‘काव्य’ शब्दको प्रयोग गरिएको थियो। सुरुआतमा काव्यले नै साहित्यका सवै विधालाई चिनाउने गर्दथ्यो। पछि गएर ‘काव्य’ शब्दले कवितारचनालाई चिनाउन थाल्यो। कविता साहित्यको जेठो र धेरै पुरानो विधा हो। समाजमा प्रचलित लोकगीत, गाथा, भजन आदिबाट कविता विधा विकसित भएको हो (न्यौपाने, २०६७, पृ. १)। गीत, बाद्य तथा नृत्यको सम्मिश्रणलाई सङ्गीत भनिन्छ। सङ्गीत एक व्यापक शब्द हो। यो शब्द ‘सम्’ उपसर्ग लागेको ‘गै’ धातुबाट बनेको हो। उत्तम साहित्य, स्वर, ताल र हाउभाउ समेत प्रयोग गरिएको गीत नै सङ्गीत हुन आउँछ (उपाध्याय, २०४०, पृ. १)।

मानवजातिले सवैभन्दा पहिले श्रमप्रक्रियामा कथेका पीडाहरू वा गाथाहरू प्राचीन गीत बनेका छन्। सामवेदका संहितालाई गीतको स्रोत भनिएकाले पनि गीतको प्राचीनता स्वतः झल्किन्छ। गीत रागात्मक, सम्वेगपूर्ण, लयात्मक, गेय र कर्णप्रिय विधा भएका कारण श्रुति–स्मृति परम्परामा अग्रज गायकहरूको उत्तरदेनका रूपमा पछि पनि गाइँदै आयो (ज्ञवाली, २०७९, पृ. २८७)। सुरुसुरुमा धार्मिक भजनकीर्तन र शासकहरूको प्रसस्तिगानमा हावी रहेको देखिए तापनि गीतसङ्गीत श्रमप्रक्रियाका बीच सर्वसाधारणका दुःख–पीरमर्का प्रकट गर्दै जनस्तरमा भिजेर क्रमशः हुर्कंदै र विकसित–विस्तारित हुँदै आएको पाइन्छ।

समाजमा व्याप्त असमानता, अभाव र थिचोमिचोका विरुद्ध नागरिकहरूले परिवर्तनकारी विचारद्वारा अभिप्रेरित हुँदै सचेत एवम् सङ्गठित रूपमा विरोध र विद्रोह बोल्ने क्रम अगाडि बढेसँगै गीतसङ्गीत पनि प्रगतिशील, जनवादी एवम् क्रान्तिकारी धारा पक्रेर गीतसङ्गीका क्षेत्रमा बेग्लै पहिचान र सन्देशका साथ व्यक्तिगत, समूहगत तथा सङ्गठित ढङ्गबाट सिर्जित, विस्तारित एवम् लोकप्रिय हुँदै आएको देखिन्छ। यस प्रवृत्तिका गीतसङ्गीत ‘क्रान्तिकारी गीत’, ‘प्रगतिशील गीत’, ‘परिवर्तनका गीत’, ‘जनताका गीत’ आदिका नाममा समाजमा लोकप्रिय छन्। पञ्चायती व्यवस्थाको अन्त्य भएर मुलुकमा बहुदलीय संसदवादी राजनीतिक प्रणालीको स्थापना भएलगत्तै यथास्थितिवादी राज्यसत्ताको वर्चश्वको सरकारी प्रशारण संस्था रेडियो नेपालले थोरै समय छुट्याएर बेग्लै ‘प्रोग्राम’ रूपमा प्रसारण गर्दा यस प्रवृत्तिका गीतहरूलाई ‘जागरण गीत’ को समेत सङ्ज्ञा दिइएको देखिन्छ।

समग्र गीतसङ्गीतको संरचनागत पक्षसहित जनपक्षीय गीतसङ्गीतका अन्तर्वस्तु एवम् सारगत पक्ष समेतलाई प्रस्टयाउँदै वरिष्ठ जनवादी सर्जक, सङ्गीतकार एवम् गायक खुसीराम पाख्रिनले लेखेका छन्– वास्तवमा सङ्गीत भनेको आरोह, अवरोह, उतार, चढाव, घुम्ती, मोडहरू हुँदै अत्यन्त सावधानी र अनुशासित ढङ्गले गीतको शब्दलाई डोर्‍याउने अथवा स्वर–शब्दलाई एउटा गतिमा दौडाउने बाटो हो। त्यही बाटो सरल, सुगम, कलात्मक र भावात्मक भयो भने मात्रै गीत सुन्दर, कर्णप्रिय, मनमोहक, समवेदनायुक्त र मर्मशील हुन पुग्दछ; सङ्गीत भनेको यही हो  (पाख्रिन, २०६३, पृ. ५४)।

वर्गदृष्टि र वैचारिकी

समाज विज्ञानको हरेक क्षेत्र दर्शनद्वारा निर्देशित छ। व्यवहारबाट दर्शन र सिद्धान्त, सिद्धान्तबाट व्यवहार– यही नै व्यवहार र ज्ञानको सिद्धान्त हो। सौन्दर्यशास्त्रको सम्बन्ध पनि व्यवहार र ज्ञान, पदार्थ, चेतना र प्रतिबिम्बनसित गाँसिएको छ। यो मान्छेको सामाजिक चेतनाभन्दा परको कुरा होइन (बराल, २०६३, पृ. १)। प्रगतिशील एवम् जनवादी कलासाहित्यका अरु सवै विधाहरूको जस्तै गीतसङ्गीतको पनि वर्गीयता तथा वैचारिकी मापनको मुख्य मापदण्ड भनेकै त्यो रचना वा सिर्जना अर्थात् गीतसङ्गीत ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अनुकूल छ कि छैन भन्ने नै हो।

समाजवादी यथार्थवाद कला सिर्जना गर्ने विधि र दृष्टि हो; यथार्थवाद यसको मेरुदण्ड हो। कलात्मक यथार्थ भनेको प्रतिनिधि यथार्थको समुच्चय हो, समाजवादी यथार्थवादलाई आधारभूत रूपले अथ्र्याउँदै सौन्दर्यचिन्तक घनश्याम ढकाल लेख्छन्– यथार्थबोध एउटा अनन्त प्रक्रिया हो। यथार्थबोध प्रतिबिम्बन सिद्धान्तमा आधारित हुन्छ। यथार्थवादमा यथार्थको पुनःसिर्जना हुन्छ; फोटोकपी होइन। कलामा यथार्थवाद भनेको जीवन–जगत्कै प्रतिबिम्बन हो (ढकाल, २०६६, पृ. १९)।

तर, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी वर्गदृष्टिकोणबाट सिर्जित हुँदैमा कुनै गीतसङ्गीत चर्चित, लोकप्रिय र जनहितकारी भने बनिहाल्दैन। सफल र सबल गीतसङ्गीत र कलासाहित्यका निम्ति तिनको विधागत एवम् शिल्पगत पक्षहरूको पनि निकै ठूलो भूमिका र महत्त्व हुन्छ। सही उद्देश्य नै पनि सही तरिकाबाट नै सिद्ध गरिनु क्रान्तिकारिता हो। त्यही तरिका सही ढङ्गले प्रयोग गर्न गीतका तत्त्वहरू वा संरचक अवयवहरूबारे सही जानकारी हुनु आवश्यक हुन्छ। गीतका ती घटक–तत्त्व हुन्– भाव, सङ्गीत, लय, भाषा, शैली र स्वर (ज्ञवाली, २०७९, पृ. २८९)।

सङ्गीतमा पनि वर्ग र विचार हुन्छ। सङ्गीत बिल्कुल अमूर्त हुन्छ भन्ने कुरा बुर्जवा विचार हो। …बाजामा पनि विचार हुन्छ। नृत्यमा पनि विचार हुन्छ। अभिनय विशुद्ध अभिनय मात्र हुँदैन (चैतन्य, २०६३, पृ. ११)। कलासाहित्यमा वर्गीय पक्षधरताको महत्त्वका सम्बन्धमा सवैजसो प्रगतिवादी स्रष्टा, समीक्षक, समालोचक एवम् सौन्दर्यचिन्तकबीच मतैक्यता देखिन्छ। गीतसङ्गीतको पनि वर्ग हुन्छ। हरेक कलासाहित्यले आफ्नो वर्गको पक्षपोषण र हित गर्दछन्। गीतसङ्गीतको रचना पनि वर्गको स्वार्थलाई हेरेर नै गर्न सकिन्छ (ज्ञवाली, २०७९, पृ. २९२)।

जनवादी एवम् प्रगतिशील गीतसङ्गीतको मुख्य चरित्र, प्रवृत्ति, भावार्थ र दायित्व नै मानवजाति र मानवसमाजको हितसाधना एवम् अग्रगामी सामाजिक रूपान्तरणमा योगदान हो। त्यसैकारण नेपाली प्रगतिशील गीतसङ्गीतको इतिहास निकै समृद्ध छ; यतिबेला केही अन्योलग्रस्त जस्तो अवस्था देखिए तापनि यसको वर्तमान पनि जीवन्त नै छ र भविष्य समेत समुज्वल छ। नेपालको समाज रूपान्तरण र परिवर्तनको आन्दोलनमा जनवादी गीतसङ्गीतको अहम् भूमिका छ। कयौं मानेमा यो राजनीतिक आन्दोलनभन्दा पनि जेठो छ। र, कम्युनिस्ट पार्टीको नीति निर्माणमा समेत पनि गीतसङ्गीतको अहम् भूमिका छ। जनतालाई जागरुक बनाउन, चेतना फैलाउन, पार्टी–सङ्गठनमा क्रियाशीलताका लागि अभिप्रेरित गर्न र दुःखमा समेत गीतसङ्गीत एउटा सशक्त माध्यम हो (थापा, २०७९, पृ. ९)।

दुई वर्ग दुई गीतसङ्गीत

सवै गीतसङ्गीतले सधैं र सवै सन्दर्भमा सकारात्मक मात्र भूमिका निभाउँदैनन्, कतिपय गीतसङ्गीत असाध्यै विषालु, हानिकारक र मानवद्वेषी समेत छन्/हुन्छन्। सुमधुर एवम् सुन्दर सङ्गीतलाई मानिस, समाज, राष्ट्र र मानवजातिलाई नै क्षति पुर्‍याउने दुष्कर्मका निम्ति दुरूपयोग समेत गर्ने गरिएको पाइन्छ। सङ्गीतको अन्तर्वस्तु साहित्य वा दृश्यकलाको जस्तो सुस्पष्ट नहुने भएर मानिसको चेतनालाई भुत्ते बनाउने साधनको रूपमा सङ्गीतको दुरूपयोग पनि भइरहेको छ (पाख्रिन, २०६३, पृ. ५६)। जातिभेद, लिङ्गभेद, रङ्गभेद, क्षेत्रभेद, समाजको विभाजन र विखण्डनलाई बढावा दिँदै कुसंस्कार र रुढीवादको प्रवर्द्धन तथा सामन्तवाद र शोषकवर्गको पक्षपोषण गर्दै जनता र समाजलाई आशावादिता, आत्मविश्वास, आत्मसम्मान र अग्रगमनबाट विमुख गराउने हतियारका रूपमा प्रतिक्रियावादी र यथास्थितिवादी वर्गले गीतसङ्गीतको चरम दुरूपयोग गरिरहेको छ। देशको वर्तमान (गैरप्रगतिशील) सांस्कृतिक अवस्थालाई हेर्ने हो भने एकातिर सामन्ती राज्य व्यवस्थालाई मद्दत पुग्ने खालको सामन्ती संस्कृति (रूढीवाद, अन्धविश्वास, जातपात, देवीदेवता, धामीझाँक्री, भूतप्रेत–पिचास, बोक्सी, छाउपडी प्रथाजस्ता कयौं कुरीतिहरू) विद्यमान छन् भने अर्कातिर पश्चिमेली छाडा संस्कृतिको बिगबिगी छ; यसमार्फत विशेषतः युवाहरूमा मद्यपान, धूमपान, नशालु पदार्थको सेवन, उत्तरआधुनिकतावादी अराजक संस्कृति इत्यादिको तीव्र विस्तारको गम्भीर असर परिरहेको छ (राना, २०७८)।

गीतसङ्गीतलाई संस्कृति, सभ्यता, विचार र व्यवहारको मार्गदर्शकका रूपमा ग्रहण गर्नुको सट्टा यसलाई केवल ‘मनोरञ्जनको साधन वा माध्यम’ तथा साहुमहाजन र दलाल तथा नोकरशाही पुँजीपतिहरूका नक्कली माल र गुणस्तरहीन सेवाको प्रचारकका रूपमा विज्ञापनको साधन वा माध्यम बनाउनमा केन्द्रित तथाकथित कला–उद्योग, प्रायोजक र प्रवद्र्धकहरूले गीतसङ्गीतको नराम्ररी हुर्मत लिइरहेका छन्। गीतले दिनुपर्ने सकारात्मक सन्देश र बोक्नुपर्ने अग्रगामी विचारको सट्टा मानवताविरोधी, समाजविरोधी र प्रगतिविरोधी असभ्य, अराजक, अश्लील र छाडा शब्द, हाउभाउ, अभिनय र सन्देशको धन्दा गरिरहेका एकाथरी स्रष्टा–सर्जक र कलाकारहरूले समग्र साहित्यकलाकै ठेक्का आफूहरूले मात्रै लिइरहेको दावी गरिरहेका छन्। ‘स्वतन्त्र’, ‘व्यावसायिक’, ‘कलाका लागि कला’ र ‘केवल मनोरञ्जनका लागि कला’ भन्ने मान्यताका साथ क्रियाशील उनीहरूमध्येका अधिकाङ्शले मानवचेतनालाई प्रदूषित तुल्याउँदै जनता, समाज र राष्ट्रमा विष फैलाउने दुष्कर्म गरिरहेका छन्।

उपभोक्तावादी सांस्कृतिक–साहित्यिक प्रवृत्तिको ठीक विपरीत प्रगतिशील, क्रान्तिकारी र जनवादी गीतसङ्गीतले न्याय, समानता र भ्रातृत्वको प्रवर्द्धन गर्दै आइरहेको छ। सभ्य, समुन्नत एवम् प्रगतिशील समाजको निर्माण, आमूल परिवर्तन र अग्रगमनका पक्षमा जनतालाई जागृत गराउँदै सचेत, सङ्गठित र सक्रिय तुल्याउने अहम् अभिभारा यसले पूरा गर्दै आएको छ। कला स्वतः प्रगतिशील हुँदैन, यो प्रतिक्रियावादी पनि हुन्छ। यथार्थवादी कला जहिले पनि प्रगतिशील हुन्छ। प्रगतिशील कलाले यथास्थितिको विरोध गर्दछ। सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवाद विरोधी आन्दोलनमा प्रगतिशील कला–साहित्यको ठूलो महत्त्व हुन्छ। प्रगतिशील कला देशभक्त र जनवादी हुन्छ। प्रगतिशील कलाले अन्धविश्वास, कुरीति, जातपात, छुवाछुत, रुढी र सवै किसिमका कुसंस्कारको विरोध गर्दछ (ढकाल, २०६६, पृ. २५)।

कलासाहित्य र झन् गीतसङ्गीत भन्नासाथ त्यसमा कला पक्षको अहम् महत्त्व रहने कुरालाई प्रगतिशील र क्रान्तिकारीहरूले उच्च महत्त्व दिन्छन्। तर, विचारविनाको कला वा कुरूप, भद्दा र मानवद्वेषी भाव र प्रस्तृति सहितको कला त जनता, समाज र राष्ट्रका लागि विष नै हुन्छ भन्ने यथार्थतालाई प्रगतिशील एवम् क्रान्तिकारी सर्जक–कलाकारहरूले झन् बढी महत्त्व दिन्छन्। कलाले सामाजिक रूपान्तरणका क्रममा मूलतः भावनात्मक रूपान्तरणकै भूमिका खेल्दछ। र, त्यो कार्य न त केवल कलाको सौन्दर्यात्मक गुणबाट सम्भव छ, न त केवल त्यसको विचारधारात्मक गुणबाट। सौन्दर्यात्मक भूमिकाको उपेक्षा गरेर त्यसको अभावमा भावनात्मक रूपान्तरणको भूमिका कलाले पूरा गर्न सक्दैन। तर, सौन्दर्यात्मक गुण पर्याप्त भएर पनि त्यसले विचारधारात्मक तत्त्व–निर्मित उपयोगी एवम् सुन्दर अन्तर्वस्तु प्राप्त गर्न नसक्दा झनै त्यो भूमिका पूरा हुँदैन (पाण्डेय, २०५३, पृ. ३–४)।

‘व्यावसायिक’ र ‘मनोरञ्जनात्मक’ कलासाहित्यको पक्षपोषण गर्ने प्रतिक्रियावादी र यथास्थितिवादीहरूले प्रगतिशील एवम् क्रान्तिकारी कलासाहित्य र गीतसङ्गीतलाई ‘यो त कला नै भएन, राजनीति भयो’ भनेर आक्षेप लगाउँदै आएका छन्। उनीहरूको बुझाइ र भनाइअनुसार गीतसङ्गीतले ‘मनोरञ्जन’ मात्रै दिनुपर्ने र समाजलाई नकारात्मक रूपले उत्तेजित तुल्याउनु पर्नेमा प्रगतिशील गीतसङ्गीत ‘राजनीकि’ सन्देशसहितका भैदिए; त्यसैले ती कलासाहित्य नै भएनन् ! उनीहरूको कुतर्कबारे समाजवादी यथार्थवादी स्रष्टा, सर्जक र कलाकारहरूको सुस्पष्ट सिद्धान्त, नीति र दृष्टिकोण छ।

कलासाहित्य र राजनीतिबीच एकापसमा अन्योन्याश्रित सम्बन्ध भए तापनि यी दुईबीच स्पष्ट भेद, विषयगत–जिम्मेवारीगत र विधागत विशिष्टता तथा भूमिकागत भिन्नता हुने तथ्यप्रति क्रान्तिकारीहरू स्पष्ट र सचेत छन्। राजनीतिक मापदण्डले कलाको विशिष्ट प्रकृतिका समग्र पक्षको हल गर्छ भन्ने होइन। कलात्मक मापदण्डसँग नजोडिई मूल्याङ्कनको प्रक्रिया पूर्ण हुँदैन। यी दुवैलाई नछुट्याई एवम् समग्रतामा र सङ्श्लिष्ट रूपमा ग्रहण नगरी प्रगतिवादी मापदण्डको मर्मबोध हुन सक्दैन (पाण्डेय, २०५३, पृ. ३–४)। राजनीतिक परिवर्तनको आरोह–अवरोहसँगसँगै सामाजिक–सांस्कृतिक रूपान्तरण हुन्छ र हुनुपर्छ। यी परिवर्तनसँगसँगै गीतसङ्गीतको अवस्था समेत रूपान्तरित हुन्छ। तर, राजनीतिक परिवर्तनभन्दा सांस्कृतिक–साङ्गीतिक परिवर्तनको गति र शैली फरक हुन्छ। सङ्गीत संस्कृतिसँग सम्बद्ध पक्ष भएकाले आर्थिक आधारको परिवर्तनसँगै एकाएक परिवर्तन हुन निकै गाह्रो हुन्छ। यसको रूपान्तरण मन्दतामा हुन्छ, तीव्रतामा होइन (पाख्रिन, २०६३, पृ. ५६)।

जनसङ्गीत र जनयुद्धको उदात्तीकरण

१ फागुन, २०५२ देखि ५ मङ्सिर, २०६३ सम्म चलेको महान् जनयुद्ध आधुनिक नेपाली इतिहासकै सवैभन्दा भव्य, सुसङ्गत, सुसङ्गठित, योजनाबद्ध भीषण विद्रोह हो। सुस्पष्ट विचार, सिद्धान्त, नीति, योजना र कार्यक्रम र लक्ष्यसहित समग्र युद्धको अवधारणाअनुरूप क्रमबद्ध ढङ्गले अघि बढेको जनयुद्धमा आ–आफ्नो विशिष्टताअनुरूप सवै तहतप्काका जनताको प्रत्यक्ष–परोक्ष सहभागिता रह्यो। जनयुद्धरूपी मेसिनको सञ्चालनमा क्रान्तिकारी गीतसङ्गीतले ‘नट–बोल्ट’ कै भूमिका निर्वाह गर्‍यो। क्रान्तिकारी गीतसङ्गीतको क्षेत्रले जनयुद्धकालमा त अहम् महत्त्वको भूमिका निर्वाह गर्‍यो नै; तर, यो त्यतिमा मात्र सीमित छैन। प्रगतिशील–जनवादी सांस्कृतिक क्षेत्रले जनयुद्धअघि जनजागरण पैदा गराएर सामन्तवादी–प्रतिक्रियावादी राज्यसत्ता र उसको राजनीतिक तथा आर्थिक–सामाजिक प्रणाली एवम् संस्कृतिका विरुद्ध जनवादी गणतन्त्र नेपालको पक्षमा सशस्त्र सङ्घर्षको थालनीका निम्ति जनमतसिर्जना गर्न र जनयुद्धको ‘अन्त्य’ पछिका विभिन्न सङ्घर्ष, आन्दोलन, अभियान र कार्यक्रमहरूमा समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

जनयुद्धको थालनीअघि त्यसको व्यापक तयारी चलिरहेका बेला जनता र मुलुकलाई जनयुद्धमा होमिन मानसिक रूपले तयार पार्ने भाव र आह्वानसहित ध्रुव ज्ञवालीको शब्द, सङ्गीत र स्वरसहित सामना– १ मा समेटिएको एउटा गीतका यी पङ्क्तिलाई हेरौंः

क्रान्तिकारी नेपाललाई मुक्त बनाइदेऊ
आऊ न जनताको छ आह्वान
निस्क न झट्टै निस्क, बन्दुक बोकेर निस्क
क्रान्तिको बन्दुक बोक्ने, बलिया तिम्रा पाखुरा
विश्वलाई नै चिनाउन, उठाई आफ्ना औजार
एकताको झन्डा उठाई, क्रान्तिको ज्वाला दन्काऊ…

‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारौंः नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ १ फागुन, २०५२ मा दीर्घकालीन सशस्त्र जनयुद्धको औपचारिक उद्घोष भयो। जनयुद्धको उद्घोषसँगै यसलाई जनमनमा स्थापित एवम् संस्थागत गर्ने र राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्बाट समर्थन र सहयोग जुटाउने काममा जनसंस्कृतिकर्मी तथा जनकलाकारहरू तदारुकताका साथ जुटे। यसै परिप्रेक्ष्यमा पूर्ण घर्तीको शब्द तथा सङ्गीत एवम् पूर्ण घर्ती र सीता आचार्यको स्वरमा प्रतिरोध परिवारको एउटा गीतिकोसेली निकै चर्चित बन्योः

एकै रातमा धर्ती हल्लियो, सङ्घर्षको आँधीबेहरीले
गाउँवस्ती ब्युँझी उठ्यो, माओवादी जनयुद्धले
धर्ती–आकाश हल्लाउँदै, जनयुद्धको बिगुल बज्यो
 गाउँवस्ती जुर्मराउँदा, दुस्मनहरूको सातो उड्यो
मालेमाको अजेय झन्डा, हातमा लिई जनताहरू
समुद्रको लहरजस्तै उर्ले सारा वस्तीहरू…

जनयुद्ध थालनीको एक वर्ष पुग्नै लाग्दा १९ पुस, २०५३ मा रामेछापको बेथानस्थित प्रहरी चौकीमाथि माओवादी छापामारहरूले सशस्त्र हमला गरेर सम्पूर्ण हतियार र गोलीगट्ठासहित प्रहरी चौकीलाई पूर्ण रूपले कब्जामा लिए। संसदवादी राज्यसत्ताको सशस्त्र शक्तिमाथि विद्रोही माओवादीद्वारा पूर्ण रूपले विजय हासिल गरेको पहिलो फौजी कारबाही त्यही नै हो। त्यस क्रममा माओवादी काभ्रे–रामेछाप जिल्ला पार्टी सङ्गठन समितिका सचिव एवम् छापामार कमान्डर तिर्थबहादुर गौतमसहित दिलमाया बम्जन र फत्तबहादुर स्माली मगरले सहादत प्राप्त गरे। प्रहरीहरूतर्फ पनि दुई जनाको ज्यान गयो। ‘बेथान मोर्चा’ का रूपमा नेपाली राजनीतिक इतिहासमा अङ्कित यस कारबाहीको महत्त्व र गरिमाबारे प्रकाश पार्दै उक्त मोर्चामा सहादत प्राप्त योद्धाहरूको स्मृति र सम्मानका साथ मणि थापाले लेखेको गीत जनयुद्धकालभर निकै चर्चित रह्योः

बेथानको चौकीमा धावा उसले बोल्दा
नेपालै रोयो नि ऊ त्यहाँ ढल्दा
दुस्मनको चौकी कब्जा गर्ने कमान्डर ऊ थियो
लड्दालड्दै छातीमा गोली थापेर ऊ ढल्यो
संसारका लागि ननिभ्ने दीयो बालेर ऊ ढल्यो
बेथानको चौकीमा हतियार कब्जा गर्दा
दुस्मन डरायो उसको साहस देख्दा…

शताब्दीयौंदेखि प्रतिक्रियावादी राज्यसत्ताले निहत्था जनतामाथि एकोहोरो थोपर्दै आएको सशस्त्र हिंसाको सशस्त्र प्रतिरोध नै यथार्थतः जनयुद्ध थियो। त्यसैले यो रक्तपातसहितको राजनीति थियो। परिवर्तन र मुक्तिका निम्ति सिङ्गो धर्ती प्रसव वेदनामा छटपटाएको अवस्था थियो। नयाँ युग जन्माउने इतिहासको त्यस घडीमा पहाड, पर्वत, भञ्ज्याङहरू युद्धमय बने; धर्ती रक्ताम्यै बन्यो; गाउँ–वस्तीहरू क्रान्तिमय बने। यस क्रममा कतिका न्याना काखहरू रित्तिए; कतिका अस्मिता लुटिए; कयौं लालजोडी विछोडिए र कतिका घरबार उजाडिए। क्रान्तिमा भर्भराउँदो आगोसित खेल्नु पर्दछ; अजङ्गको महाविपत्ति झेल्नु पर्दछ। ठीक त्यही समयको आवाज बोल्दै जनयुद्धको उत्कर्षकालमा खुसीराम पाख्रिनले पस्केको एउटा गीतका यी पङ्क्ति हेरौंः

रक्तक्रान्तिको बेला हो यो
सिङ्गो धर्ती प्रसव पीडामा छटपटिएको
सबैभन्दा निर्मम घडी हो इतिहासको
नयाँ युग जन्माउने प्रक्रिया हो…

जनयुद्धको सिलसिलामा महान् नेपाल आमाका दसौं हजार होनाहार सन्ततिहरूले प्राणोत्सर्ग गरे। यस क्रमको अग्रपङ्क्तिमा कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङ, च्याङ्बा लामा, शिव श्रेष्ठ, मस्तबहादुर विष्टजस्ता सयौं स्रष्टा, सर्जक र कलाकारहरू समेत देखापरे। उनीहरूले आफ्ना रचना–सिर्जनामार्फत अभिव्यक्त उदात्त क्रान्तिकारी भावधारालाई जीवन व्यवहारमै खरो ढङ्गले प्रमाणित गरे। महान् सांस्कृतिक सहिद चुनु गुरुङको शब्द, सङ्गीत र स्वरमा सजिएको गीतले दुस्मनसँग झुक्दै नझुकी आत्मोत्सर्ग गर्नुपर्ने शब्द र वीरतापूर्ण सहादत अर्थात् कर्मका बीच भव्यतम तालमेल र ऐक्यता प्रमाणित गरेको छ। क्रान्तिको तत्कालीन आधारभूमिलाई बिम्ब बनाएर क्रान्ति र आमूल परिवर्तनप्रतिको अटल आस्था एवम् समर्पणभाव प्रकट गरिएको एउटा गीतका यी पङ्क्ति हेरौंः

तिम्रै निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला…
वर्गीय मायाले बाँधिराखौंला
दुस्मनको नजरबाट लुकाइराखौंला
लुकामारी गर्दै खत्तम गरी दुस्मनलाई
विजयको टीका लगाई आउँला बरिलै….

महान् नेपाली जनयुद्धको प्रभाव, सन्देश र शिक्षा जनयुद्धको आह्वानकर्ता एवम् नेतृत्वकर्ता नेकपा (माओवादी) र त्यस पार्टीका नेता–कार्यकर्ता तथा समर्थक–शुभेच्छुकहरूमा मात्रै सीमित रहेन। नेपालभरका शोषित–उत्पीडित मुक्तिकामी जनता र तमाम जनपक्षीय, प्रगतिशील एवम् क्रान्तिकारी–रूपान्तरणकारी पक्ष र शक्तिहरूमा जनयुद्धले निकै ठूलो उत्साह, उमङ्ग, विश्वास र अपेक्षा जागृत गरायो। विश्वभरकै क्रान्तिकारी एवम् परिवर्तनकारी जनसमुदाय र शक्तिहरूबीच जनयुद्धले निकै ठूलो आशा, भरोसा र विश्वास जागृत गरायो। माओवादी पार्टीभन्दा फरक धारमा रहेर जनपक्षीय गीतसङ्गीतको माध्यमद्वारा जनमन जित्दै आइरहेका जीवन शर्माले जनयुद्धको परिवेश चित्रित गर्दै र त्यसको महानतालाई उदात्तीकरण गर्दै लेखेः

आधी रातमा हुरी चल्दा, आँधीबेहरी तुफान चल्दा
कालोनीलो आकासमुनि मुसलधारे पानी पर्दा
म त्यहीँ आउने छु, ए साथी ! म त्यहीँ आउने छु…
वरिपरि काला सर्प अजिङ्गरले तर्साउँदा
माथिबाट दुस्मनले बमगोला वर्षाउँदा
तिम्रो छाती रङ्गिएर हातबाट बन्दुक झर्दा
म त्यहीँ आउने छु, ए साथी ! म त्यहीँ आउने छु…

क्रान्तिकारी सर्जक एवम् जनकलाकार माइला लामा महान् जनयुद्धका घाइते योद्धा समेत हुन्। उनले जनयोद्धाहरूको गति आँधीको बेगसरि भएको भाव व्यक्त गर्दै चट्याङ झैं गर्जेर रातो झन्डा फरफराउँदै जनसेनाहरू अघि बढिरहेको क्रान्तिकारी भावधारा गीतबाटै प्रकट गरेका छन्। राता मान्छेहरूको रातो यात्रालाई लामाले गीतमा राम्ररी उनेका छन्। हजारौं बाधाहरू आए पनि र बमका धमकासित निरन्तर जुधिरहनु परे तापनि बैरीका ट्रेन्चहरू ध्वस्त पारेरै छाड्ने उद्घोष उनले गीतकै माध्यमद्वारा व्यक्त गरेका छन्। छातीमा सङ्गीन रोपिँदा र मुटु छियाछिया पारिँदा पनि क्रान्तिकारी वीरहरू नझुकेको र नझुक्ने भावधारासहितको गीतका यी पङ्क्ति हेरौंः

आँधीको बेगसरि योद्धाहरू
चट्याङ गर्जेझैं सेनाहरू
रातो झन्डा फरफराउँदै, तोप–गोला बर्षाउँदै
हेर अघि–अघि बढिरहेछन्, राता मान्छेहरू…

माओवादी जनयुद्ध मुख्यतः वर्गीय शोषण–शासनको साधनका रूपमा रहेको शोषकवर्गीय राज्यसत्ताका विरुद्ध शोषित–पीडित वर्गको वर्गीय राज्यसत्ता स्थापना गर्ने उद्देश्यमा केन्द्रित थियो। दुस्मनवर्गीय वर्गसत्तालाई जन्माउने, हुर्काउने र टिकाउने जनद्वेषी अनेकौं माध्यमहरू अर्थात् लिङ्गीय, जातीय, क्षेत्रीय, भाषिक–सांस्कृतिक इत्यादि शोषण–अत्याचारका सवै स्वरूपहरूका विरुद्धको एकीकृत एवम् केन्द्रीकृत प्रहार थियो महान् जनयुद्ध। लिङ्गीय असमानता र अत्याचारका विरुद्ध आवाज बुलन्द पार्दै सर्वजित थापा मगरको रचना, अर्जुनको लय र सरिताको स्वरमा रेकर्ड भएको एउटा गीतका यी पङ्क्ति हेरौंः

आधा संसार, यो धर्ती हाम्रै हो चिन्ता नगर
जङ्गल धाउने चेलीहरू, हिमाल चढ्न आँट गर
बच्चा पाउने मेसिन होइन, सङ्घर्षशील नारी बन…
सुन्दर तिम्रो पौरखी हात, देशको निम्ति अर्पी हिँड
चुलोचौको होइन अब बमबारुदको झोला भिर…

नेपाली जनयुद्धका कयौं मौलिक विशेषताहरूमध्येको एउटा मुख्य विशेषता हो, युद्धमा महिलाको उल्लेखनीय, सक्रिय र निर्णायक सहभागिता। समग्र युद्धका रूपमा अघि बढेको जनयुद्धका अनेकौं मोर्चाहरूमध्येको मुख्य मोर्चा– छापामार अर्थात् जनमुक्ति सेनामा नेपाली महिलाहरूको सहभागिताले विश्वस्तरमै नयाँ कीर्तिमान खडा गरेको छ। कोपिला बीएम र लेकाली खड्काको रचना तथा सङ्गीतमा तयार पारिएको तिनै महिला छापामारहरूको एउटा गीतका यी पङ्क्ति हेरौंः

महिला छापामार हौं हामी
मुटुमा दीयो बालेर महासागरमा पौडिने
जनमुक्तिको बाटोमा सधैं हिँडिरहने…
बारुदको धुवाँभित्र लुकामारी खेल्दै हिँड्ने
दुस्मनको क्याम्पमाथि बमगोला वर्षाइरहने
मुक्तिको निम्ति जीवन त्यागेर युद्धमा लडिरहने…
दुस्मनलाई अन्धो पारी जेलनेल तोड्न सक्ने
इतिहासमा नमेटिने अमर नाम लेख्न सक्ने
देशको निम्ति, जनताको निम्ति वलिदान गर्न सक्ने…

जनयुद्धकाल यथार्थतः निकै कठोर, निर्मम र भयानक युद्धको अवधि थियो। युद्धमा होमिइसकेपछि आफैं मरिने वा विपक्षी–विरोधी मारिने तथा मोर्चामा जित हासिल हुने वा मुटु दह्रो पारेर हार पनि स्वीकार गर्नुपर्ने अवस्था जहाँसुकै र जहिलेसुकै पनि विद्यमान हुन्छ। यो यथार्थता नेपाली जनयुद्धको सन्दर्भमा पनि उत्तिकै सत्य सावित भयो। हारजितका अनेकौं शृङ्खला पार गर्दै अघि बढिरहँदा आँसु, रगत र पसिनाका अनेकौं चक्रहरूलाई पचाउँदै अन्ततः न्याय र सत्यको जित भएरै छाड्छ भन्ने सन्देशका साथ झन्कार बुढा मगरको रचना, सङ्गीत र स्वरसहित जनयुद्धकालमा लोकप्रिय बनेको एउटा गीतका यी पङ्क्ति हेरौंः

कहिले हामी पूर्व, कहिले हामी पश्चिम
आइपुग्यौं जितेर, मुक्ति लडाइँ
लक्ष्यमा पुग्न बाँकी छ अझै
चुम्नु छ हामीले सगरमाथालाई…
कहिले लड्यौं पूर्व भोजपुर, कहिले सोलुतिर
कहिले जित्यौं पश्चिम पिली, कहिले कृष्णभीर…
जितभित्र हार हुन्छ, रुकुम खाराजस्तै
हारभित्र जित हुन्छ, म्याग्दी कब्जाजस्तै…

नेपाली जनयुद्ध वस्तुतः विश्व सर्वहारावर्गीय मुक्तिसङ्ग्रामको एउटा अभिन्न अङ्ग थियो। संसारभरका सवैजसो उत्डीडित राष्ट्र–क्षेत्रमा आ–आफ्नै विशिष्टता र अनुकूलता अनुरूप जनविद्रोहहरू सङ्गठित भइरहेका छन्÷हुँदैछन्÷हुन्छन्। सुस्पष्ट लक्ष्य–उद्देश्यसहित अघि बढेको जनयुद्ध हारेको, जनयुद्ध रोकिएको, जनशक्तिले प्रतिक्रियावादी वर्गसामु आत्मसमर्पण गरेर झुकेको अर्थात् बगेको नदी रोकिएको र सामन्ती सत्ता अकण्टक भएर टिकेको कहीँ पनि छैन भन्ने भावधारासहित मणि थापाको शब्द–सङ्गीतमा प्रदीप देवान र बेनी लामाको स्वरलहरीले सजिएको यस गीतका यी पङ्क्ति हेरौंः

बगेको नदी सुकेको कहाँ छ र
जनयुद्ध हाम्रो रुकेको कहाँ छ र
सामन्ती सत्ता टिकेको कहाँ छ र
माओवादीले लडाइँ हारेको कहाँ छ र…
सहिदको सपना अधुरो कहाँ छ र
जनताको शक्ति झुकेको कहाँ छ र…
आगोको झिल्को नबलेको कहाँ छ र
माओवादी आन्दोलन नचलेको कहाँ छ र…
ए साइँला दाइ ! हे हे साइँली भाउजू !

नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनबाट गुज्रँदै आएको छ। पछिल्लो चरणमा माओवादी आन्दोलन समेत यसबाट अछुतो रहन सकेन। बहुचर्चित चुनबाङ बैठकको समापनका बेला आयोजित ऐतिहासिक सांस्कृतिक प्रस्तुतिको अवसरमा कर्ण विद्रोही र मोहित श्रेष्ठलगायतका जनकलाकारहरूले माओवादी आन्दोलनभित्र क्रमशः झाङ्गिँदै गएको अनिष्टकारी प्रवृत्तिको पर्दाफास गरेर त्यस्तो प्रवृत्तिबाट जोगिन अपिल गर्दै एउटा मार्मिक गीत प्रस्तुत गरेका थिए। टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर, एकढिक्का एकताको कुरा गर अनि वीरताको कुरा गर भनेर नेतृत्वलाई चेतावनीसहित सतर्क गराउँदै साम्यवाद चुम्ने लक्ष्य बोकेर वर्गविहीन समाज स्थापना गर्ने सपना सजाइएको यस गीतका यी पङ्क्ति हेरौंः

कहिल्यै नमर्ने विचार छ हाम्रो
झुक्दै नझुक्ने आस्था छ हाम्रो
हामी नै हौं अमर बन्न सक्ने
जनताको ढुकढुकी बनिरहने
व्यर्थ र सङ्कीर्ण कुरा नगर
चोट लाग्ने धारिलो कुरा नगर
बरु उत्साहित कुरा गर
विजयको कुरा गर…

प्रतिनिधिमूलक जनसांस्कृतिक टोली, नेतृत्व र गीतिएल्बमहरू

जनयुद्धको अवधि समकालीन नेपालको इतिहासमै राजनीतिक सचेतना, सक्रियता र परिवर्तनको अद्वितीय अवधि रह्यो। आर्थिक, सामाजिक, सांस्कृतिकजस्ता मुख्य पक्षहरूका अतिरिक्त जनयुद्धले सम्वाद, सञ्चार, पत्रकारिता, साहित्यकला र जीवनशैलीजस्ता जनजीवनका सवै आयामहरूमा प्रतिमान परिवर्तन (प्याराडाइम सिफ्ट) नै गरिदियो। जनयुद्धको थालनीअघि तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घअन्तर्गतको केन्द्रीय टोली सामना परिवारमा खुसीराम पाख्रिन, मणि थापा, ध्रुव ज्ञवाली, धनकाजी गुरुङ, चुनु गुरुङ, पूर्ण घर्ती, सीता आचार्य, माइला लामा, अञ्जना गुरुङ, टेकबहादुर बलम्पाकी, कन्हैयासिंह परियार, बद्रीभक्त श्रेष्ठलगायतका स्रष्टा, सर्जक र कलाकारहरू सक्रिय रहेका देखिन्छन्। हितमान शाक्य, ईश्वरचन्द्र ज्ञवाली, बाबु घिसिङ (तामाङ), कृष्णप्रसाद पौडेल, प्रकाश खनाल, जोगेन्द्र केसीलगायतको पनि सामनाको स्थापनाकालदेखि नै सक्रियता देखिन्छ। यीमध्ये शाक्य गीतकार हुन् भने ज्ञवाली प्रखर उद्घोषक, समीक्षक र समालोचक हुन्; पौडेल, खनाल र केसी नृत्यकार हुन् भने घिसिङचाहिँ गीतसङ्गीतका अतिरिक्त ललितकला, चित्रकला र सांस्कृतिक सङ्गठन एवम् कार्यक्रमको व्यवस्थापनमा सक्रिय थिए। सामना सांस्कृतिक परिवारले तीनवटा गीतिक्यासेट प्रकाशित गरेको थियो। सामना गीतिक्यासेट भाग– १ ‘हुरी चल्दैछ, आँधी आउँदैछ’, भाग– २ ‘जलजला’ र भाग– ३ ‘अभिवादन’ शीर्षकमा प्रकाशित भएका थिए। जनयुद्धको थालनीपछि सामनाले ‘रातो घाम’ र ‘नयाँ नेपाल’ शीर्षकका गीतिएल्बम तथा ‘राता मान्छेहरू’ शीर्षकको श्रब्यदृश्य भीसीडी प्रकाशित गर्‍यो।

यस अवधिमा केन्द्र, क्षेत्र, जिल्ला हुँदै स्थानीयस्तरसम्म दर्जनौ जनसांस्कृतिक परिवार र टोलीहरू गठन भए, क्रियाशील रहे र सयौं मात्र होइन कि हजारौंको सङ्ख्यामा जनपक्षीय, प्रगतिशील एवम् क्रान्तिकारी गीतसङ्गीत सिर्जना भए; गाइए अनि थुप्रै गीतसङ्गीत रेकर्ड गरिए। यसबारे थपलिया (२०६७) मा सविस्तार चर्चा गरिएको छ। पश्चिम सामनाले ‘परिवर्तित युगसँगै’ र पूर्वी सामनाले ‘रणमैदान’ शीर्षकका गीतिएल्बम प्रकाशित गरे। २०५४ मा पूर्ण घर्तीको नेतृत्वमा रुकुममा सिस्ने जनवादी सांस्कृतिक समूह र कुलानन्द गिरीको नेतृत्वमा रोल्पामा जनचेतना सांस्कृतिक परिवार गठन भए। यसअघि २०४७ मै सन्देश (पछि सहादत) को नेतृत्वमा सल्यानमा सिर्जना सांस्कृतिक परिवार गठन भएको थियो। २२ मङ्सिर, २०५७ मा कुलमान बुढाको संयोजकत्वमा प्रतिरोध सांस्कृतिक परिवार गठन भयो। पश्चिम कमान्डस्तरमा क्रियाशील प्रतिरोध परिवार २०६० मा पुनर्गठित भएपछि मोहलाल चन्द ‘आधार’ संयोजक र सूर्य सहसंयोजक बने। प्रतिरोध परिवारले जनयुद्धको अवधिभर ‘एकै रातमा धर्ती हल्लियो’, ‘अब छिट्टै हाम्रो आधारक्षेत्र बन्दै छ’, ‘विद्रोहको युग’ र ‘जनविद्रोह’ शीर्षकका गीतिएल्बम तथा ‘जनएकता’ र ‘रगतको इतिहास’ शीर्षकका भीसीडी प्रकाशित गर्‍यो।

महान् सहिदहरू कृष्ण सेन ‘इच्छुक’ र च्याङ्बा लामाको नामबाट २०५९ मा मध्य कमान्डमा माइला लामाको संयोजकत्वमा सेन–च्याङ सांस्कृतिक परिवार गठन भएको थियो। २०६० मा पुनर्गठित सेन–च्याङ परिवारमा छिन्ताङ संयोजक र सुशीलसिंह ठकुरी सहसंयोजक बने। सोही क्षेत्रमा क्रियाशील सैलुङ सांस्कृतिक परिवार र सेन–च्याङ २०६१ मा समायोजित भएपछि सन्ध्या नेपाल संयोजक बनिन्। २०६२ मा सेन–च्याङ सांस्कृतिक कम्पनी बन्यो। यस कम्पनीमा सन्ध्या नेपाल कमिसार, सुशीलसिंह ठकुरी सहकमिसार, एकता कमान्डर र राजन बम सहकमान्डर बने। पछि यो कम्पनी बटालियनमा रूपान्तरित भयो र यसअन्तर्गत २०६२ मा अनेकोट स्मृति, शिवशारदा स्मृति र चुनशिल्पा स्मृति गरी तीनवटा सांस्कृतिक कम्पनीहरू बने। २०६३ को अन्त्यतिर छिरिङ लामा सेन–च्याङको कमिसार बने। सेन–च्याङ परिवारले यस अवधिमा ‘एक्काईसौं शताब्दीको जनयुद्ध’, ‘युद्धला मैदानरी रेजीङा’, ‘आस्थाका स्वरहरू’, ‘युद्धरी निबा ए कोलादा’ र ‘मर्दैन वलिदान कहिल्यै’ शीर्षकका गीतिएल्बम तथा ‘लालसलाम गणतन्त्र नेपाललाई’ शीर्षकको भीसीडी प्रकाशित गर्‍यो।

रोल्पाको जलजला सांस्कृतिक परिवारद्वारा ‘निरन्तर यात्रा’ र तमुवानमा क्रियाशील चुनशिल्पा सांस्कृतिक परिवारद्वारा ‘जनसन्देश’ शीर्षकका गीतिएल्बम पनि जनयुद्धकै अवधिमा प्रकाशित भएका छन्। २०४८ मा चिरन बरालको संयोजकत्वमा गठन भई २०५१ मा डीबी थापाको संयोजकत्वमा पुनर्गठित भएको क्षितिज सांस्कृतिक परिवारद्वारा ‘क्षितिज अभियान’ शीर्षकका गीतिसङ्ग्रहका साथै ‘युगको आह्वान’, ‘युद्धको मैदान’, ‘जनताको सुनौलो राज आउँदैछ’ र ‘मार्क्सवाद पुरानो छैन’ शीर्षकका गीतिएल्बम यसै अवधिमा प्रकाशित भए। कोचिला र किराँत क्षेत्रमा कार्यरत सुखानी जनसांस्कृतिक परिवार र चोमोलुङ्मा परिवार जनयुद्धकालमा पूर्वी नेपालका चर्चित जनसांस्कृतिक टोली हुन्। विजय साङ्पाङ नामले चर्चित मणिकुमार साङ्पाङको संयोजकत्वमा ३० भदौ, २०६४ मा २३ सदस्यीय सुखानी सांस्कृतिक परिवार गठन भएको थियो। उक्त परिवार फागुन, २०६५ मा पुनर्गठित भई अनिता खालिङको संयोजकत्वमा १८ सदस्यीय कमिटी बनेको थियो। चोमोलुङ्मा सांस्कृतिक परिवारको संयोजक शैलेश र सहसंयोजक रोशन देवकोटा थिए भने उक्त परिवारलाई संयोजन गर्ने पार्टी कमिटीको संयोजकमा विजय साङ्पाङ थिए। यस परिवारद्वारा ‘नयाँ युगका आवाजहरू’ शीर्षकको गीतिएल्बम प्रकाशित छ।

कालीबहादुर मल्लको नेतृत्वमा २०३८ देखि नै जनसांस्कृतिक गतिविधिहरू अगाडि बढाइएको भेरीकर्णाली क्षेत्रको कालीकोटमा २०५५ मा चुली सांस्कृतिक परिवार गठन भयो। हर्षबहादुर शाही (पछि सहादत) चुली परिवारको संयोजक भए। यसै परिवारलाई विस्तार गरेर २०५८ मा हर्षबहादुर शाही संयोजक तथा उषाकिरण सहसंयोजक रहेको भेरी–कर्णाली सांस्कृतिक सङ्गम गठन गरियो। २०५९ मा भेरी–कर्णाली सांस्कृतिक सङ्गम इच्छुक सांस्कृतिक परिवारमा रूपान्तरित भयो। २०५९ मा बालाराम विश्वकर्मा ‘हिमाल’, २०६१ मा झलक राना ‘राजु’, २०६३ मा दानसिंह विश्वकर्मा ‘शङ्कर’ र २०६४ मा खड्गविवश बास्पाने इच्छुक परिवारको संयोजक बने। २०६५ पछि कर्णालीमा शक्ति विश्वकर्मा र भेरीमा किरण शाहीले संयोजकका रूपमा इच्छुक सांस्कृतिक परिवारको नेतृत्व गरे। यस परिवारले ‘सांस्कृतिक क्रान्तिका योद्धाहरू’ शीर्षकको गीतिएल्बम प्रकाशित गर्‍यो।

माघ, २०६२ मा दोलखामा अनेकोट सांस्कृतिक कम्पनी गठन भएको थियो। २०६३ मा अनेकोट परिवार र शिवशारदा सांस्कृतिक कम्पनी समाजित भई अनेकोट सांस्कृतिक परिवार बन्यो। २०६४ पछि तामाङ रिमठिम थेबे र अनेकोट परिवार संयोजित भई ताम्सालिङ सांस्कृतिक परिवार बन्यो। यस परिवारले ‘लक्ष्य’ शीर्षकको गीतिएल्बम तथा ‘राईगाउँ सहिदगेट’ शीर्षकको भीसीडी प्रकाशित गर्‍यो।

लिम्बूवान क्षेत्रमा २०५९ मा शर्मिलाको नेतृत्वमा १५ सदस्यीय कलाकार टोली बन्यो। यस क्षेत्रमा भदौ, २०६० मा फुङ्निमा लिम्बूको नेतृत्वमा १५ सदस्यीय क्षेत्रीय सांस्कृतिक परिवार तथा २०६१ मा दर्पणको संयोजकत्वमा गर्जन सांस्कृतिक परिवार गठन भयो। यस क्षेत्रको पाँचथरमा मिराक सांस्कृतिक परिवार, इलाममा श्रीअन्तु सांस्कृतिक परिवार, धनकुटामा छिन्ताङ सांस्कृतिक परिवार, तेह्रथुम–सङ्खुवासभामा पूर्वी क्षितिज सांस्कृतिक परिवार र ताप्लेजुङमा पूर्वी खबर सांस्कृतिक परिवार क्रियाशील रहे। भदौ, २०६२ मा गर्जन सांस्कृतिक परिवारको नाम परिवर्तन गरी कञ्चनजङ्घा सांस्कृतिक परिवार बनाइयो। २०६४ पछि कञ्चनजङ्घा सांस्कृतिक परिवारको संयोजक वसन्त बान्तवा र सहसंयोजक शरद लिम्बू रहे। यस परिवारले ‘एउटा कथा’ शीर्षकको अडियो सीडी प्रकाशित गर्‍यो।

सेती–महाकाली क्षेत्रको बझाङमा २०५७ मा सैपाल सांस्कृतिक परिवार गठन भयो। २०५७ मै अछाममा रामारोशन सांस्कृतिक परिवार, बाजुरामा त्रिवेणी सांस्कृतिक परिवार, डडेलधुरामा वलिदान सांस्कृतिक परिवार, डोटीमा छेडा सांस्कृतिक परिवार, वैतडीमा विशाल सांस्कृतिक परिवार र दार्चुलामा विनी सांस्कृतिक परिवार गठन भए। यस क्षेत्रमा २०५८ मा प्रभातको नेतृत्वमा भेरीकर्णाली उपक्षेत्रीय टोली सङ्गम सांस्कृतिक परिवार र असार, २०५९ मा उषाकिरणको नेतृत्वमा विसु सांस्कृतिक परिवार गठन भए। विसु परिवारले ‘अपिसैपालका गर्जनहरू’ शीर्षकको गीतिएल्बम प्रकाशित गर्‍यो।

२०५७ मा सप्तरीमा राजकिशोर मण्डलको नेतृत्वमा निर्मल साह, ज्योति चौधरी, कुसुमलाल चौधरी र दशरथ ठाकुर सदस्य रहेको मिथिला जनसांस्कृतिक परिवार गठन भयो। मधेस र पहाडका जनकलाकारहरू समावेश गराएर २०५९ मा क्षेत्रीयस्तरको शैलुङ सांस्कृतिक परिवार गठन भयो। सोही क्षेत्रमा २०६३ मा रामवृक्ष सांस्कृतिक परिवार गठन भयो। शैलुङ परिवारले २०६० मा ‘मुक्तियुद्धका धुनहरू’ शीर्षकको गीतिक्यासेट प्रकाशित गर्‍यो।

थान्का सांस्कृतिक परिवार, वेदना सांस्कृतिक परिवार, जुनेली सांस्कृतिक परिवार तथा मङ्का दबु एकापसमा समायोजित भएर २० चैत, २०४४ मा इन्द्रेणी सांस्कृतिक समाज (इसास) गठन भयो। त्यसताका पारिजात मानार्थ अध्यक्ष रहेको इसासमा रायन श्रेष्ठ र अध्यक्ष थिए। २०५९ मा इन्द्रेणी सांस्कृतिक समाज र रक्तिम सांस्कृतिक अभियानबीच एकता भई प्रगतिशील सांस्कृतिक सङ्गठन (प्रसास) गठन भयो। यद्यपि इसासका कतिपय अगुवाहरूले भने प्रसासमा समावेश नभई इसासलाई नै निरन्तरता दिइरहे। प्रसासले ‘गणतन्त्रका स्वरहरू’ शीर्षकको गीतिएल्बम प्रकाशित गर्‍यो। रक्तिमका एक्काई भागसम्मका गीतिएल्बमहरू र इन्द्रेणीका ‘सिम्मा’, ‘बुहारी’ लगायतका गीतिनाटकहरूको अतिरिक्त आधा दर्जनजति गीतिएल्बमहरू समेत निकै जनप्रिय छन्।

थामी राष्ट्रिय मुक्तिमोर्चाद्वारा प्रकाशित ‘नाका वाछिन्टे’, जनमुक्ति सेना नेपालद्वारा प्रकाशित ‘जनमुक्ति यात्रा’, सामना परिवारद्वारा प्रकाशित माइला लामाको एकल प्रस्तुति ‘नयाँ सङ्कल्प’, खुसीराम पाख्रिनको एकल प्रस्तुति ‘रक्तक्रान्तिका गीतहरू’, झन्कार बुढामगरको एकल प्रस्तुति ‘सारङ्गीको कथा’, मोहित श्रेष्ठ र कर्ण विद्रोहीको प्रस्तुति ‘साक्षी’, मगर भाषाको गीतिएल्बम ‘उज्यालताके’, प्रदीप देवानको एकल प्रस्तुति ‘अभियान’, कर्ण विद्रोहीको एकल प्रस्तुति ‘कमरेड’, पर्वत विश्वकर्माको एकल प्रस्तुति ‘रामारोशन ताल’ लगायतका थुप्रै प्रगतिशील एवम् क्रान्तिकारी गीतिकोसेलीहरूले महान् जनयुद्धको उदात्तीकरण र नेपाली समाजको आमूल परिवर्तनका पक्षमा महत्त्वपूर्ण योगदान गरेका छन्।

संश्लेषण र दिशाबोध

मूलतः लिङ्गीय असमानताको स्रोत बनेर नारीजातिलाई होच्याउने, हेप्ने, अपमानित गर्ने र उपभोग्य वस्तुका रूपमा चित्रित गर्ने प्रवृत्ति तथाकथित व्यावसायिक गीतसङ्गीतको मुख्य विशेषता नै बन्दै आएको छ। जातीय असमानता, छुवाछुत, क्षेत्रगत असमानतालगायतका सामाजिक विकृति–विसङ्गतिहरूको निरन्तर प्रवर्द्धन गर्दै त्यसैमा मलजल गरिरहनु ‘कलाका लागि कला’ का पक्षधरहरूका गीतसङ्गीतको आम चरित्र रहँदै आएको छ। श्रम संस्कृति र श्रमिक वर्गको अपमान गर्नु अनि श्रमचोर, ठग र भ्रष्टहरूलाई ‘हिरो’ का रूपमा प्रचारित गरेर स्तुतिगान गर्दै गर्दै पैसाका लागि जेसुकै गर्न कुनै कसर बाँकी नराख्नु यस प्रवृत्तिका गीतसङ्गीतको आधारभूत चरित्र रहेको कुरा तथ्य समेत स्पष्ट नै छ। वर्गीय शोषण, दोहन र उत्पीडनलाई ढाकछोप गरी प्रकारान्तरले प्रवर्द्धन गर्नु यस प्रवृत्तिका गीतसङ्गीतको आधारभूत चरित्र हो। श्रोता–दर्शकमा कुण्ठा, निराशा, हीनता, लोभ, क्रोधजस्ता नकारात्मक भाव जागृत एवम् विस्तारित गराएर समाजलाई हत्या, हिंसा, बलात्कार, चोरीडकैती, ठगी इत्यादिको भड्खालोतर्फ धकेलिरहन यस प्रवृत्तिका गीतसङ्गीतको अहम् भूमिका देखिन्छ। यी तथ्यहरूका आधारमा हेर्दा यस कोटीका गीतसङ्गीत र कलासहित्यको वर्गपक्षधरता स्पष्टै देखिन्छ। यिनले प्रतिक्रियावादी वर्गको सैद्धान्तिक जगमा टेकेर सोही वर्गको राजनीतिलाई मलजल गरिरहेको स्वतः स्पष्ट छ। ‘कलासाहित्य र गीतसङ्गीतमा राजनीति घुस्नु हुँदैन’ भनेर दुनियाँलाई ‘उपदेश’ दिँदै यस प्रवृत्तिका गीतसङ्गीत र कलासाहित्यले झन् ठूलो राजनीति गरिरहेका छन्।

उक्त प्रवृत्तिहरूको विपरीत प्रगतिशील कलासाहित्य र गीतसङ्गीतले इमानका साथ आफ्नो वर्गीयता स्वीकार्दछन्। जीवन, जगत् र समाजका हरेक तत्त्व वर्गीय नै हुने यथार्थको आधारमा उल्लेखित सवै प्रकारका विकृति–विसङ्गति र विरुद्ध सुस्पष्ट वर्गदृष्टि एवम् सिद्धान्तका आधारमा जनतालाई सचेत, जागरुक, रूपान्तरित र सङ्घर्षशील तुल्याउनु प्रगतिशील एवम् क्रान्तिकारी कलासाहित्य र गीतसङ्गीतको आधारभूत चरित्र हो। न्याय, समानता, शान्ति र सुसंस्कृत समाजको स्थापनाका पक्षमा निरन्तर सचेतना, सङ्घर्ष र रूपान्तरणमा योगदान नै यस प्रवृत्तिका कलासाहित्य र गीतसङ्गीतको प्रमुख ध्येय हो। आफ्नो यही जिम्मेवारी र भूमिकालाई आत्मसात् गरेर नेपाली प्रगतिशील गीतसङ्गीतको यात्रा निरन्तर गतिवान् छ। नेपाली जनयुद्धको अवधिमा व्यावहारिक रूपमै यस तथ्यको सवैभन्दा बढी पुनर्पुष्टि भयो। जनयुद्धका दस वर्ष साँच्चिकै उथलपुथल र उलटपुलटका वर्षहरू रहे। …राजनीतिक रूपले यी वर्षहरू जे–जति उल्लेख्य र प्रभावकारी रहे, त्यत्तिकै सांस्कृतिक रूपले पनि रहे। जनयुद्धमा पुरातन संस्कृतिका थुप्रै संस्कार, रीति, परम्परा, धार्मिक आडम्बर, जातीय छुवाछुत, भेदभाव, महिलाहरूलाई हेर्ने पुरुषवादी दृष्टिकोण आदिजस्ता विरासतहरू भत्किए। त्याग र वलिदानजस्ता कुराहरू उदात्त मान्छेका जीवनका पर्याय बने (दुःखी, २०६७, पृ. ९७०)।

लामो इतिहास, वलिदानी विरासत र जनजनले देख्ने, बुझ्ने र नजिकैबाट छाम्न सक्ने अवस्थासम्मको विकास र विस्तारका बावजुद प्रगतिशील गीतसङ्गीतको क्षेत्रमा थुप्रै सीमा र कमीकमजोरी पनि विद्यमान छन्। मात्रात्मक, सङ्ख्यात्मक र प्राविधिक गुणस्तरका दृष्टिले अहिले पनि दुस्मनवर्गकै गीतसङ्गीतको क्षेत्र हावी छ। प्रतिक्रियावादी वर्गले पनि गीतसङ्गीतको शक्ति र प्रभावलाई बुझेर यसको अझ बढी दुरूपयोग गर्ने सिलसिला कायमै राखेको छ। गीतले जनसमूहको ठूलो हिस्सालाई एकैचोटि प्रभाव पार्न सक्छ। यस अर्थमा गीतको प्रभावकारिता प्रष्ट हुन्छ। तर, यतापट्टि हाम्रा गीत–सङ्गीतहरू जति गम्भीर हुनुपर्ने हो, त्यति भएका देखिँदैनन्। स्वरमा परिमार्जनको आवश्यकता छ। कतिपय गीतहरूमा रचनाकार, सङ्गीतकार, गायक र प्रकाशन मिति समेत देखिँदैन जसले इतिहासको मापन गर्न कठिनाइ पैदा गरिदिएको छ। यी गीत–सङ्गीतहरूले प्रतिध्रुवीय गीत–सङ्गीतका विरुद्ध लड्ने क्षमताको विकास गर्न अझै निकै मेहनत गर्नुपर्ने देखिन्छ (थपलिया, २०६७, पृ. ८६३)।

जनसंस्कृति, गीतसङ्गीत र जनवादी–प्रगतिशील कलाकर्मको अवस्था र स्थिति सामाजिक अवस्थितिसँग अभिन्न रूपले अन्योन्याश्रित हुन्छन्। नेपाली प्रगतिशील गीतसङ्गीको आगामी दिनका सम्भावना र चुनौतीको चर्चा गर्दै र यसलाई दिशाबोध गर्ने तत्त्वहरूमाथि प्रकाश पार्दै पाख्रिन (२०६३) लेख्दछन्– श्रमजीवी किसान, मजदूर र क्रान्तिकारी जनसमुदायको वास्तविक जीवन उसले गरेको सचेत सङ्घर्षसँगै उठेको विचार र भावलाई कति अभिव्यक्त गर्न सकिन्छ, त्यसैमा भावी साङ्गीतिक कार्यदिशा निहीत हुन्छ (पृ. ५६)।

सन्दर्भ सामग्री सूची

उपाध्याय, चन्द्रकुमार (२०४०)। सङ्गीत शिक्षा। सानोठिमी, भक्तपुरः जनक शिक्षा सामग्री केन्द्र लि.।

ज्ञवाली, ईश्वरचन्द्र (२०७९)। सौन्दर्य र संस्कृति चिन्तन। काठमाडौंः भुँडीपुराण प्रकाशन।

चैतन्य (२०६३)। जनकलाकारका क्षेत्रमा विद्यमान पाँच समस्याहरूबारे। कलम (वर्ष १५, अङ्क १, पूर्णाङ्क ४६–४७, चैत–भदौ, २०६३–०६४), पृ. ८–१४। काठमाडौंः झिल्को प्रकाशन प्रा.लि.।

ढकाल, घनश्याम (२०६६)। सौन्दर्यशास्त्रको आँखीझ्याल। काठमाडौंः अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति।

थपलिया, खेम (२०६७)। क्रान्तिकारी गीतसङ्गीतः सङ्क्षिप्त पर्यवेक्षण। घनश्याम ढकाल (सम्पा.), मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (पृ. ८१८–८६५)। काठमाडौंः अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति।

थापा, मणि (२०७९)। जनवादी गीतसङ्गीत र गायनको त्रिवेणी। चिरन पुन ‘मिलन’, सपनाका यात्री (शुभकामना पृ. ९–१०)। काठमाडौंः जनप्रचार तथा प्रकाशन प्रा.लि.।

दुःखी, हिरामणि (२०६७)। आधारइलाकाका स्रष्टा र सिर्जनाः सङ्क्षिप्त रेखाङ्कन। घनश्याम ढकाल (सम्पा.), मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (पृ. ९६९–९९५)। काठमाडौंः अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति।

न्यौपाने, श्रीराम (२०६७)। आधुनिक नेपाली कविता–काव्य। काठमाडौंः पैरवी प्रकाशन।

पाख्रिन, खुसीराम (२०६३)। सङ्गीतको अन्तर्वस्तु कहाँबाट प्रभावित हुन्छ ? कलम (वर्ष १५, अङ्क १, पूर्णाङ्क ४६–४७, चैत–भदौ, २०६३–०६४), पृ. ५३–५६। काठमाडौंः झिल्को प्रकाशन प्रा.लि.।

पाण्डेय, ताराकान्त (२०५३)। कलासाहित्यः भूमिका र मूल्याङ्कन। काठमाडौंः चिन्तन प्रकाशन प्रा.लि.।

बराल, ऋषिराज (२०६३)। सङ्गीत र सौन्दर्य। काठमाडौंः प्रगतिशील साहित्य अध्ययन मञ्च।

राना, रेम (२०७८)। रक्तिमको साङ्गीतिक यात्रामा हाम्रो भूमिका र चुनौती। नेपाली एकता (बिहीबार, २८ साउन)।

०४ कात्तिक २०८२ मा रातोपाटी डटकममा समेत प्रकाशित यो आलेख बढीभन्दा बढी पाठकसमक्ष पुर्‍याउने ध्येयका साथ यहाँ समेत पुनर्प्रकाशन गरिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर