काठेखोला गापा– ४, तङ्ग्राम, बाग्लुङमा १ कात्तिक, २०४४ मा जन्मेका हेमराज आश्रम युवापुस्ताका प्रतिभाशाली जनकलाकार हुन् । नेकपा (मसाल) आबद्ध रहेर क्रियाशील रक्तिम सांस्कृतिक अभियानको महासचिव रहेका आश्रम कला र गलाका साथसाथै विभिन्न सङ्गठनात्मक जिम्मेवारीसहित २०५५ देखि रक्तिममा क्रियाशील रहँदै आएका छन् । औपचारिक नाम हेमराज पुन रहेका उनी बीचको केही समय हेमराज गन्धर्वको नामबाट पनि चिनिए । २०६८ मा ‘ए युग तिमी’ गीत रेकर्ड गराएर अघि बढेको आश्रमको जनसाङ्गीतिक यात्रा ललितकला क्याम्पसबाट सङ्गीत विषयमै स्नातकोत्तरसम्मको अध्ययन, गीतरचना, सङ्गीतसंयोजन, गायन, नृत्य, अभिनय, श्रब्य–दृश्य निर्देशन, दर्जनौं चलचित्रहरूमा पार्श्व–ध्वनिलगायत हुँदै निरन्तर जारी छ ।
२०१० मा प्युठानमा चलेको किसान आन्दोलनमा आधारित रहेर मोहनविक्रम सिंहद्वारा लिखित ‘फागुन २४’ चलचित्रको निर्देशन समेत आश्रमले नै गरेका हुन् । शास्त्रीय सङ्गीतमा समेत उत्तिकै दख्खल भएका उनी आश्रम सङ्गीत पाठशाला सञ्चालन गरेर प्रशिक्षणमा पनि सङ्लग्न छन् । क्रान्ति, परिवर्तन, राष्ट्रप्रेम र जनप्रेम उनको गीतसङ्गीतका मुख्य प्रवृत्ति हुन् । हेमराज आश्रमको शब्दरचना, सङ्गीतसंयोजन र निर्देशन तथा थुमराज ढुङ्गाना ‘सरगम’ र रीता पुनको आवाजमा रेकर्ड भएको एउटा लोकप्रिय जनगीतका यी पङ्क्ति हेरौंः
हामी एक बनौं, एक बनौं
क्रान्ति त्यसै बाँकी छ; आस्था हाम्रो अटल छ,
इतिहास हाम्रो साक्षी छ
साना–साना कुरामा नभिडौं; एक बनौं लौ, एक बनौं….
कसरी भुल्न सक्छौं हाम्रा पूर्खाको वलिदान
कसरी देख्न सक्छौं गरिब–निमुखाको अवसान
अवसरवादी भाग्लान्, केही साथी थाक्लान्
तर हामी सवै लौ एक बनौं…
हामी खरानी हौंला तर आस्था कहिल्यै मर्दैन
साम्राज्यवादसामु शीर कहिल्यै झुक्दैन
घर जलाउन खोज्लान्, मुहान सुकाउन खोज्लान्
तर हामी सवै लौ एक बनौं…
‘जनसङ्गीत र जनकलाकार’, पृ. १३७ बाट ।









