newskoseli.Com

गृहिणीको रोजाई सुधारिएको चुल्हो

खाना खानै पर्ने तर खाना पकाउने बेला आयो कि कैलालीको पवेरा–७ मनिकापुरकी मिनाकुमारी चौधरीलाई ठूलै समस्यासंग जुध्नुपर्ने जस्तो लाग्थ्यो । एकातीर दिनभरी दाउरा बटुल्नु पर्ने अर्कोतर्फ परम्परागत चुल्हो बाल्दा निस्किने धुँवाको पिरलो । धुँवाका कारण आँखा दुख्ने, भाडा कालो हुने र घरमा भएका लुगाकपडामा समेत धुँवा लाग्ने, छोराछोरी घरभित्र बसेर पढ्न नमान्ने समस्याले वाक्कदिक्क भएकी थिइन् चौधरी ।

उहाँ मात्र होईन मोनीकापुरका अधिकांश गृहिणीको समस्या यस्तै थियो । यहाँका प्रत्येक घरमा एकजना महिलाको काम खाना पकाउने र त्यसका लागि दाउरा बटुल्ने मात्रै थियो । धेरै गृहिणीले आफ्नो ऊर्जा यसै कामका लागि खर्चिनु पर्ने समस्या थियो । त्यसैमा नजिकैका वन सामुदायिक भएपछि त दाउरा बटुल्नु सहज थिएन । यसले झनै समस्या थपेको थियो ।

यो समस्या कैलालीका अधिकांश ग्रामिण महिलाको हो । ‘न खाना पकाउने ग्याँसको पहुँच न दाउराको सहज उपलब्धता  नत भएको दाउरा प्रयोग गर्ने उपयुक्त चुल्हो’ मोनीकापुरकै अस्मिता चौधरी पनि दुखेसो पोख्दै हुनुहुन्थ्यो ‘ज्यालामजदुरी गरेर आर्जेको खाद्य सामग्री पनि सुखले खान नपाउने ।’

यहि भएर उनीहरु आफ्नो सम्पर्कमा आउने अधिकांश सरकारी तथा गैरसरकारी संस्थाका विकासे कार्यकर्तालाई यस्तै समस्या र गुनासो पोख्ने गर्थे । जिल्ला विकास समिति कैलालीका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले विकासका अरु काम लिएर गएपनि ग्रामिण महिलाले चुल्होको समस्या सुल्झाउने उपाय खोजिदिन आग्रह गर्ने गरेको बताउनु भयो । ‘हामीसंग त्यस्तो कुनै कार्यक्रम थिएन तैपनि हुन्छ भनेर फर्किनु पथ्र्यो’ ओझाले भन्नुभयो, ‘वातावरण संरक्षणमा क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाहरुसंग धेरै समय छलफल गरे पनि सुरुका दिनमा सम्भव भएन् ।’

तर जव सरकारले खुल्ला दिशामुक्त क्षेत्र, घरभित्रको धुँवामुक्त, महिलाको क्षमताअभिबृद्धि र वातावरणमैत्री नमुना क्षेत्र विकासका लागि विभिन्न योजना र नीति बनाउन थाल्यो । आजभन्दा पाँच/छ वर्ष पहिले जलवायु परिवर्तनका असर अनुकूलन तथा न्यूनिकरणका लागि कैलालीमा स्थानीय अनुकूलन कार्ययोजना निर्माण गर्न गाउँ गएका प्राविधिकलाई महिलाहरुले यहि समस्या प्राथमिकताका साथ राखेको कुरा कार्यक्रम अधिकृत ओझालाई अहिले पनि स्मरण छ ।

अहिले सो योजना कार्यान्वयनमा आएपछि उनीहरुको समस्या सम्बोधनको प्रयास भइरहेको छ । ‘धेरै आउँछन कुरा गर्छन तर फर्केर आउँदैनन् लापा पनि यस्तै होला सोचेका थियौ’ पवेराकी ठगरानी चौधरीले भन्नुभयो, ‘अहिले हामीले भनेका योजना कार्यान्वयनमा आएपछि केही समस्या समाधान भएको छ । धुँवाको समस्या टार्न सुधारिएको चुल्हो समेत बनाई दिएकोले हामीलाई खुशी लागेको छ ।’
अहिले मोनीकापुरका तीनसयभन्दा बढी परिवारले सुधारिएको चुल्होमा खाना पकाइरहेका छन् । चुल्हो माष्टर गणेशी चौधरीले दाउरा कम खपत हुनाले दिनहुँ जंगल चाहानुपर्ने समस्याका साथै घरभित्रको धुँवामुक्त गर्न समेत सघाउ पुगेकोले गृहिणीहरु खुशी भएको बताउनुभयो । उहाँले सरकारी तथा गैरसरकारी संस्थाले सहयोग नगरेपनि आफ्नै खर्चमा चुल्हो बनाइदिन आग्रह गर्नेको संख्या बढिरहेको जानकारी दिनुभयो ।

‘पहिलेको जस्तो पुरै समय दाउरा बटुल्न र खाना पकाउनमै लाउनुपर्ने बाध्यता हटेकोले गृहिणीहरु अन्य आयआर्जनका क्रियाकलापमा पनि लाग्न थालेका छन्’ गणेशीले भन्नुभयो, ‘यसले वन जंगल संरक्षण  र धुँवाका कारण स्वास्थ्यमा पर्ने समस्या समाधान गर्न सघाउन पुगेको छ ।’ कैलालीका जलवायु परिवर्तन अधिकृत सन्तोष खनालले लापा कार्यान्वयन भइरहेका दुईवटा टीकापुर, भजनी–त्रिशक्ति नगरपालिका र ६ वटा गाविस धनसिंहपुर, नारायणपुर, लालवोझी, सुगरखाल, उदासीपुर र पबेरामा आर्थिक वर्ष २०७१/७२ मा २ हजार ८ सय र २०७२/७३ मा ८ सय गरी ३ हजार ६ सय सुधारिएको चुल्हो र १२ वटा वायोग्याँस वितरण गरिएको जानकारी दिनुभयो ।

जिल्ला विकास समिति कैलालीका ऊर्जा अधिकृत दिपेश ठाकुरका अनुसार हालसम्म जिल्लामा करिब १९ हजार सुधारिएको चुल्हो निर्माण तथा वितरण भएको छ  । जिल्लामा क्रियाशिल सामुदायिक वन उपभोक्ता महासंघ, कैलाली, कैलाली कञ्चनपुर ग्रामिण विद्युतीकरण छाता संगठन, नेपाल रेडक्रस सोसाईटीलगायतका संघ संस्थाहरुले सुधारिएको चुल्हो निर्माण तथा वितरणमा सहयोग गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर