newskoseli.Com

चेपाङ केन्द्रलाई रु. पाँच लाख सहयोग

आमा फाउन्डेसन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षयकोषलाई मंगलबार रु पाँच लाख सहयोग गरेका छन् ।

चेपाङ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षयकोषमा रहने गरी उहाँले सो रकम सहयोग दिने घोषणा गर्नुभएको हो । लामो समयदेखि अमेरिकामा कार्यरत रत्ननगर निवासी जोशीले फाउन्डेसनमार्फत सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएका छन् ।

अध्यक्ष जोशीले विपन्न चेपाङ समुदायका विद्यार्थी अध्ययन गर्ने केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि खाद्यान्न अभाव भएको थाहा पाई १० बोरा चामलसमेत सहयोग गरेका छन् । आगामी दिनमा पनि सहयोग जारी रहने उनले बताए ।

यहाँ विभिन्न क्षेत्रबाट ल्याइएका १४० भन्दा बढी चेपाङ बालबालिका आवासीयरुपमा पठनपाठन गरिरहेका छन् । केन्द्रका अध्यक्ष केपी शर्माले स्वदेश र विदेशमा बस्ने दाताको सहयोगमा केन्द्रका चेपाङ बालबालिकाको पालनपोषण र शिक्षा चलिरहेको बताए ।

यसैबीच, आमा फाउन्डेसन, रोटरी क्लब अफ रत्ननगर र गामबेसीको चेपाङ संरक्षण केन्द्रको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ । शिविरमा केन्द्रमा आश्रित बालबालिका र स्थानीय समुदायको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा डा ढुण्डिराज पौडेल, डा प्रकाश खतिवडा, डा युवानिधि बसौला, डा कृष्णप्रसाद पौडेल, डा. अमित चौधरी लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा चेपाङ बालबालिकासहित ५०० जनाको स्वास्थ्य परीक्षण गरेको केन्द्रका अध्यक्ष केपि शर्माले मङ्गलबार जानकारी दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर