हामी ब्राह्मणजाति सृष्टिकर्ता ब्रह्मका मुखबाट जन्मिएका रे । क्षेत्री, बैश्य र शुद्र भनिनेहरू भने पाखुरा, तिघ्रा र गोडाबाट जन्मिएका रे । कस्तो अचम्मको जमाना रहेछ त्यस बेला । खै, यो समयमा त पाखुरा, तिघ्रा र गोडाबाट मानिस जन्मिएका कतै सुनिएको र देखिएको छैन । डाक्टरले पेटमा अप्रेसन गरेर बच्चा निकालेकोसम्म चाहिँ सुनेको र देखेको छु ।
कस्तो अराजक समय रहेछ त्यस बेला । जहाँबाट मन लाग्छ, त्यहीँबाट बच्चा जन्मिँदारहेछन् । नियमकानुन, अनुशासन केही रहेनछ । मुख, पाखुरा, तिघ्रा र गोडाबाट भटाभट धेरै जन्मिए होलान् । सबैलाई ब्राह्मण बन्न मन लाग्यो होला । मुखबाट जन्मिन चाहे होलान्, सबैले । तँछाडमछाड भयो होला । एउटै शरीरका विभिन्न भागबाट जन्मिएका सन्तान सानो र ठूलो जातमा विभाजन गरेको र छोइछिटो गरेको मन पराएनन् होला । एकआपसमा झगडा गर्न थाले होलान्, चारजात भनिने दाजुभाइ तथा दिदीबहिनीहरू । आफ्ना सन्तानका झगडा र असन्तुष्टि देखेर सृष्टिकर्ताको मन खल्लो भयो होला ।
झगडा नगर भनेर सम्झाउँदा हुन् । तर, के मान्थे र ! यति ठूलो भेदभाव भएकोमा तिनीहरूको आक्रोशको आगो दन्किँदै गयो होला, आन्दोलन, बन्द, हड्ताल आदिइत्यादि गरे होलान् । एउटै सृष्टिकर्ताका सन्तान हामी कसरी ठूलो र सानो जात भयौं ? यो अन्याय गर्न पाइँदैन । हामी समान नभएसम्म शरीरका कुनै पनि भाग वा अङ्गबाट बच्चा जन्माउन दिँदैनौ– यस्तै नारा भट्याए होलान् । आन्दोलनले चरम रूप लिएपछि सृष्टिकर्ताले वार्ता आह्वान गरे होलान् । असन्तुष्ट आन्दोलनकारीको मागबमोजिम एकद्वार नीति लागू भयो होला । त्यसपछि बल्ल एउटै अङ्गबाट सन्तान जन्मिन सुरू भयो होला । र, यसैको निरन्तरता अहिलेसम्म भएको होला । योभन्दा बढि अरू के अनुमान गर्न सकिन्छ र ?
एकद्वार नीतिअनुसार जन्माउन थाले पनि छुवाछुत चाहिँ कायम भएछ र अहिलेसम्म कायम छ । यसमा पनि विभिन्न समुदाय र जातका आ–आफ्नै इन्ट्रेस्ट होलान्, त्यो आफ्नो ठाँउमा छ । तर, मलाई लाग्दैछ– आजको जमानामा ब्राह्मण वा क्षेत्री भएर जन्मनु चाहिँ अभिशाप नै भयो । बाहिरबाट हेर्दा हामीले बैश्य र शुद्र भनिनेलाई थिचोमिचो गरेको देखिन्छ । हो, सानो र ठूलो भनेर कुनै जातलाई पनि भन्नु हुँदैन । मानव सबै बराबर हौं । अब त खास यस्तो अवस्था धेरैजसो हटी पनि सकेको छ । शिक्षित वर्गहरूले त यस्तो गर्दा पनि गर्दैनन् । मेरा साथीहरू पनि धेरै छन्, शुद्र भनिने जातका । खै त मैले हेपेको छैन । छोइछिटो गरेको छैन । तँ सानो जात भनेको पनि छैन । मेरो मनमा त्यस्तो भावना कहिल्यै पलाएन पनि ।
मेरो उमेर सानै (करिब १२–१३ वर्ष) छँदा एकजना दलित भनिने दमाइँ साथीलाई मसँगै हाम्रो घरभित्र लगेर ठूलो काम गरेँजस्तो पुलकित भएको थिएँ । एउटै लोटामा पालैपालो गरेर पानी पिएकै हो । ब्राह्मणको घरभित्र पस्न ऊ डराएको थियो तर म डराइँन ।
अझ स्कुलमा टिफिन पनि बाँडेर खान्थ्यांै । ऊ भुटेको मकै–भटमास ल्याउँथ्यो । म रोटी र गुन्द्रुकको अचार लैजान्थें । धेरै पटक सँगै खाएका छाैं बाँडेर । कहिले ठूला जात भनिने साथीहरूबाट लुकेर र कयौं पटक त तिनीहरूलाई हेपेर पनि । मलाई कम्ति आनन्द आउँथेन त्यतिबेला । तर, आज त्यति बेलाका मेरा आनन्द भताभुङ्ग भएका छन् । मेरो मन रोएको छ त्यति बेलाका मेरा कार्यहरू सम्झेर । अछुतलाई गरेको सम्मान अहिले बेकार गरेछु भन्ने लागेको छ । त्यो अछुत दमाइँलाई सथी बनाएर हामीले सँगै खाएको देखेर कतिले मलाई गाउँनिकाला गर्नुपर्छ भनेको पनि राम्रैसँग सुनेको थिएँ । म चलाख केटो भएर मात्रै, नत्र मलाई गाँउबाटै निकालिएको हुन्थ्यो । जो–जसले गाउँनिकालाको कुरा गर्थे, तिनीहरूलाई म मेरो दाँत साँटिएकेै छैन भन्थें र ङिच्च गरेर माथ्लो दाँत देखाइदिन्थें । कस्तो अचम्म ! दाँत नसाटिएसम्म दमाइँले छोएको पनि खान हुने र दाँत साटिएपछि खान नहुने ! सामन्तीहरूले कस्तो आफूअनुकूल नियम बनाएछन् भनेर रिस पनि उठ्थ्यो त्यतिबेला ।
हो, आज त्यही दलित भनिने मेरो दमाइँ साथीले मलाई छोइछिटो गर्दै र ठूलो–सानो जातको भनेजस्ता कुरा गरेर हेपिरहेको छ, गिज्याइरहेको छ, मलाई शोषण गरिरहेको छ । तर, म चुपचाप सहन बाध्य छु । पार्टी–भोजहरूमा जब हामी सँगै खान बस्छौ तब ऊ शानका साथ विभिन्न ब्राण्डका रक्सीहरू गिलासमा राखेर पिउँछ । मेरो हात जब रक्सीको बोतलमा पर्छ अनि ऊ भन्छ ब्राह्मण भएर पन रक्सी पिउँने ? मैले पो जातले पाएको र खाएको । यस्तैयस्तै नानाभाँतिका कुरा गरेर मेरो अनुहार रातै बनाउँछ ऊ ।
हुन पनि हो, काँधमा जनै भिरेको छु । बिहानबिहान ‘सन्जे’ को मन्त्र पनि जपीटोपलेको छु । एक मनले त होजस्तो लाग्छ मलाई । तर फेरि सम्झन्छु, सबै मानिस बराबर भनेपछि किन उसको जातले मात्रै पाएको रक्सी खान ? म ऊसँग विद्रोह गर्न पनि सक्दिनँ । ब्राह्मणले पनि रक्सी पिउन पाउनुपर्छ भनेर भन्न पनि सक्दिनँ म । चुपचाप रक्सीको बोतलबाट हात झिक्छु र कोकको बोतल तानेर एक सासमा बोतल रित्याउँछु ।
अर्काे दिन हामी सँगै रेष्टुराँ पस्छांै । विभिन्न मासुका परिकार छन् । बफ मःम, चिकेन मःम, मटन मःम, भेज मःम आदिइत्यादि । मासुका परिकारहरू रोस्ट, छोइला, कचेला, सेकुवा के–के हो के–के ? ऊ सानका साथ बफ मःम अर्डर गर्छ । मैले पनि बफ मःम अर्डर गर्दा ब्राह्मणले पनि बफ मःम खाने ? मैले पो जातले पाएको छु खान्छु भन्छ । म यहाँ पनि आफू हेपिएको महशुुस गर्छु र भेज मःमले चित्त बुझाउँछु ।
खाने कुरा मात्र नभई लगाउने कुरा, बस्ने कुरा आदिमा समेत ऊ मलाई छोइछिटो गर्छ । म बाध्य भएर चुप रहन्छु । यतिसम्म कि एक दिन बाटोमा भेटिएको सुँगुरको सानो पाठो जो घाइते थियो, त्यसलाई हातले उठाउँन खोज्दा ब्राह्मण भएर सुँगुर छुने ? हामीले पो जातले पाएका छौं र छुन्छौं भन्दै उसैले जुरूक्क उठायो । हिलोमा लडेको सुँगुरको बच्चालाई पुछपाछ गरेर साइडमा राखिदयो । पाठो खुरूखुरू आफ्नो गन्तव्यतर्फ हिँड्यो ।
यहाँ पनि म हेपिएँ । हेपिएँ मात्र होइन, म ठूलो समाजसेवाको धर्मबाट वञ्चित समेत भएँ । बिरामी पाठोको उपकार गरेर उसैले धर्म कमायो । हो, यस्तैखालका छोइछिटो धेरै ठाँउमा भोगेको छु मैले । बफ मःम खाने उच्च अभिलाषाले राति कसैले पनि नदेख्ने समयमा लुसुक्क मःम पसल छिरेर मःम खाएर फर्किएको छु । त्यो रक्सी पिउन मैले अरू त अरू भइहाले, मेरी अर्धाङगीनिसँग समेत डराउनु परेको छ । उनी माइती गएको मौका छोपेर रक्सीका धेरै सिसी रित्याएको छु । कसैले नदेख्नेगरी सुटुक्क सुँगुरलाई छोएको छु । हरे भगवान् ! ब्राह्मण भएर जन्मेको पीडा ब्यहोरिरहेको छु । के म सबैका अगाडि निर्धक्क यी क्रियाकलाप गर्न सक्दिनँ होला ? खुल्लमखुला, कसैको छोइछिटोविना मैले बफ मःम खाने दिन कहिले अउला ?
यी त भए खाने कुराका कुरा । आजको राजनीतिका कुरा गर्ने हो भने त झन् नाजुक छ अवस्था ब्राह्मणजातिहरूको । न सरकारी जागिरमा कोटा नै माग्न पाइँने न त सङ्घीयतामा छुट्टै प्रदेश नै माग्न पाइने ! खासमा कुरा के भने हामीलाई त वर्तमान संविधानले समेत अस्वीकारै गरेको छ । संवैधानिक रूपबाट हाम्रो अस्तित्व नै लोप बनाइएको छ एक हिसाबले । हामी त ‘अन्य’ मा पो छौं । के हो त्यो ‘अन्य’ भनेको ?
हेपिएका भनिने ती दलितहरूलाई कमसेकम अस्तित्व त दिएका थिए सामन्ती भनिनेहरूले । ब्राह्मण हुनुका पीडा कहिलेसम्म व्यहोरिरहनुपर्ने हो हामीले ? बिहान जनै कानमा राखेर मन्त्र जप्ने र ग्यास्टिकले भरिएको पेटमा पटुकीले कसेर ल्यापटप र रेकर्डर बोकी फिल्डमा उत्रिने झन्डै ६ फुट अग्लो र ५० किलो वजन भएको म पेशाले पत्रकार भए पनि ‘सामन्ती’ भन्ने ‘पदवी’ बाट विभुषित हुन बाध्य छु ।
ब्राह्मणको कुलमा जन्मनु यति ठूलो अभिशाप भयो मेरा लागि । मलाई विश्वास त छैन तर यदि भगवान् छन् र धार्मिक ग्रन्थहरूमा भनिएजस्तै पुनर्जन्म हुन्छ भने मेरो एउटै प्रार्थना छ– हे भगवान् ! अर्काे जन्ममा ब्राह्मण भएर जन्मनु नपरोस् ।