newskoseli.Com

यस्तो छ नालीबेली ‘बाजेको सेकुवा’ को…

४१ वर्षअघि तराईबाट राजधानी घुम्न आएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना–नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो ।

‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले भने– “राम्रो पकाउन जान्ने र मिठो खाना खाने बुबाको सौखिन बानी थियो, उहाँ पहिलेदेखि नै दसैँका बेला घरमा काटेको खसीको मासुका विभिन्न परिकार बनाउनु हुन्थ्यो ।”

ठूलो हवाईजहाज हेर्न भनेर त्रिभुवन विमानस्थल गएका बेला दीनानाथले राम्रो खाना–नास्ता खाने ठाउँ नपाएपछि आफ्नो सीप प्रयोग हुने र व्यापार पनि राम्रो हुने अाशाले विमानस्थल छेउको चौरमा सेकुवा पोल्न सुरु गरे । भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिएको घटनाले उनका छोरा चेतनको मन छोयो ।

त्यतिन्जेलसम्म विमानस्थलका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने स्थलको रुपमा उनको सेकुवा क्रमशः प्रशिद्ध हुँदै गएको थियो ।

त्यसलगत्तै घरसल्लाहपछि व्यवसाय कतै साराैं भनेर सिनामङ्गल नजिकैको खाली चौरको एक कुना भाडामा लिएर व्यावसायिक रुपमा सेकुवा पोल्न सुरु गरेको अध्यक्ष चेतनले स्मरण गरे । यसरी सुरु भएको बाजेको सेकुवा व्यवसायका आज काठमाडौँंमा १० तथा पोखरा र चितवनमा १–१ ठाउँमा शाखा विस्तार भइसकेका छन् ।

त्यसमध्ये ६ वटा आफैं र ६ वटा आङ्गिक स्वामित्वका रुपमा सञ्चालित छन् । बाजेकाे सेकुवामा झन्डै ३ सयले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । खसीको सेकुवाबाट सुरु भएको उक्त व्यवसायले आज ताजा र मिठो खानपिनका लागि मुलुकमै ख्याति कमाएको छ । दौरा सुरुवाल मात्र लगाउने ब्राह्मण जातिका भण्डारीलाई सुरुमा सेकुवा खान आउने ग्राहकले बाजे भनेर सम्बोधन गर्थे । कालान्तरमा त्यही नाम उक्त व्यवसायको ब्राण्ड बनेको छ ।

अध्यक्ष भण्डारीले भने– “यो नाम हामीले कहीँ लेखेको वा राखेको नाम होइन, ग्राहकले आफैँले दिएको नाम हो, पछि त्यही नाम ब्राण्ड भयो ।” गुणस्तरमा आधारित रहेर मूल्य निर्धारण गर्नु र ग्राहकलाई सन्तुष्ट पार्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन् । खपत हुने अधिकांश खसी भारतबाट आयात गर्ने गरेको जानकारी गराउँदै उनले भन्सार शुल्क तिर्दा पनि खसीकाे दाम यहाँको मूल्यभन्दा सस्तो पर्ने गरेको बताए ।

नेपाली समाजमा खसीको मासु खाने चलन निकै प्रचलित भए पनि बिस्तारै रातो मासु कम खानुपर्छ भन्ने चेतनाका कारण ग्राहकले आजभोलि अन्य खाजाको तुलनामा मासु थोरै खाने गरेको उनको अनुभव छ । “नाम नै सेकुवा कर्नर भएकाले शाकाहारी मानिस जान हिच्किचाउँछन् तर हाम्रोमा शाकाहारी सेकुवा पनि पाइन्छ” अध्यक्ष भण्डारीले भने ।

साझा मञ्च सिर्जना गरी १ व्यापारले अर्काे व्यापारलाई सञ्जालमार्फत कसरी सहयोग गर्न सक्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा उद्यम क्षेत्रका नयाँ प्रवेशी, विभिन्न क्षेत्रका व्यापारी, विद्यार्थीलगायतका ५ सयभन्दा बढी युवाको सहभागिता थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर