newskoseli.Com

‘सुरक्षाफौजको दमन’ प्रति चन्दको भर्त्सना

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सर्लाहीको ढुंग्रे– ८, धरहरास्थित सागरनाथ विकास परियोजनास्थलमा रहेको सुकुम्बासी वस्तीमाथि असार २१ गते ‘सत्ताको सुरक्षाफौजले गरेको भीषण दमन’ प्रति भर्त्सना गरेका छन् ।

महासचिव चन्दले बिहीबार न्युजकोसेलीलाई प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्लाहीको ढुङ्ग्रे– ८, धरहरामा अवस्थित सागरनाथ विकास परियोजनाको जमिनमा २०५० सालदेखि बसोबास गर्दै आएका सुकुमबासीहरुको बस्तीमाथि यो सत्ताको सुरक्षा फौजले असार २१ गते गरेको भीषण दमनप्रति हामी घोर भर्त्सना गर्दछौं । त्यहाँ अवस्थित २५ सय हेक्टर सरकारी जमिन २०३५ देखि सागरनाथ वन विकास परियोजनाले हडपेको र त्यहाँका राम्रा रुखहरु टिम्बर कर्पोरेसन अफ नेपालले काटेर बेची चरम भ्रष्टाचार गरेको थियो । त्यसरी रुख काटिएको जमिनमा टाकिया रुखको खेती गर्ने योजना भए पनि उक्त सागरनाथ वन परियोजनाले बेवास्ता गरेपछि त्यहाँका जनताद्वारा टाकिया संघर्ष समिति बनाइएको थियो । यही क्रममा २०५० सालदेखि देशका विभिन्न ठाउँबाट आएका बाढीपहिरो पीडित भूमिहीनहरु बस्दै आएका थिए । यही प्रक्रियामा २०६६ चैत २७ र २८ गते सुकुम्बासी, परियोजना प्रमुख जीवनकुमार ठाकुर, उपसचिव तीर्थराज चन्द, उपसचिव विनोदकृष्ण मानन्धरलगायतका, कुमार पौडेल, ज्ञानबहादुर तामाङ, भगवान मैनालीसहितको त्रिपक्षीय वार्ता गरी वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्ने, टाकिया वस्ती निर्माण गर्ने, परियोजनामा आर्थिक विपन्नहरुको जीविकोपार्जनको व्यवस्था गर्ने, जनसहभागिता र लाभांश बाँडफाँड गर्ने क्षतिपूर्तिको व्यवस्था गर्ने लिखित सहमति भएको थियो ।’

चन्दले विज्ञप्तिमा अगाडि लेखेका छन्– ‘यही सहमतिबमोजिम त्यहाँ लगभग ४ हजार सुकुम्बासीहरुले यहाँको जमिन भोगचलन गर्दै आएका थिए । उक्त सहमतिको पूर्ण उल्लंघन गर्दै कुनै पूर्वजानकारीबिना सरकारले २१ गते एकाएक दमन गरेको छ । दमनका क्रममा सयौं सशस्त्र र जनपद प्रहरी परिचालन गरेको, सयौं राउन्ड अश्रुग्यास र रबरका गोली चलाएको, ३६ जना घाइते हुनुका साथै सञ्जीव बम्जनको आँखा गुमेको, उनको टाउकामा २ वटा गोली अहिले पनि रहेको, उनको ६ घन्टा शल्यक्रिया गरिएको, २१ जना महिलासहित ३१ जनालाई हिरासतमा लगी चरम यातना दिएको छ, ३५ घर तोडफोड गरेको, ६ वटा मोटरसाइकल, ३५ वटा साइकल तोडफोड गरेको, गाईभैंसीमाथि कुटपिट गरेको छ । हाम्रो पार्टीका जिल्ला सचिव कुमार पौडेललगायतलाई वारेन्ट जारी गरेको छ । सयौं बिगाह जमिनको उखु, धान, मकैबाली पूर्णरुपले नष्ट गरेको छ । कथित कम्युनिस्ट र माओवादीको सहभागिता रहेको यो सरकारले सुकुमबासीमाथि गरेको यो दमनलाई तुरुन्त बन्द गरोस् । त्यहाँ बसेका सबै सुकुम्बासीको उचित व्यवस्था गरोस् । घाइतेहरुको उपचार, क्षति भएको सम्पत्तिको क्षतिपूर्ति देओस् भन्ने जोडदार माग गर्दछौं । अन्यथा, हाम्रो पार्टी सुकुम्बासीले उठाउँदै आएका जायज मागको समर्थन गर्दै दमनका विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने छ । यसबाट निस्कने परिणामको भागेदारी सम्बन्धित पक्ष हुने जानकारी गराउन चाहन्छौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर