newskoseli.Com

राजतन्त्र फर्कने–नफर्कने सर्वसाधारणलार्इ सोध्नोस् : पूर्वराजा ज्ञानेन्द्र

तस्बिरः सविना कार्किकाे ट्विटरबाट

पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार ७०औं जन्मदिन मनाए । शुभकामना दिन उनका सयौं शुभेच्छुक निर्मलनिवास पुगे । गणतन्त्र नेपालका उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगे ।

त्यही भीडमा सञ्चारकर्मी सविना कार्की पनि निर्मलनिवास पुगिन् । उनले पूर्वराजालाई जन्मदिनको शुभकामना दिइन् र अन्तर्वार्ता समेत लिइन् । सविनाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई दिएको अन्तर्वार्ता सम्भवतः पहिलो अडियो अन्तर्वार्ता हो ।

अन्तर्वार्तामा ज्ञानेन्द्रले मनका कुरा खोलेका छन् भने धर्मका नाममा राजतन्त्र ब्युँताउन खोजेको आरोप लगाउने गणतन्त्रवादीलाई ‘कडा जवाफ’ समेत दिएका छन् । अन्तर्वार्ताका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपाली हुनुमा सबैले गैरव गर्नुपर्ने बताए । यहाँ प्रस्तुत छ– शाहसँग सञ्चारकर्मी सविना कार्कीले लिएकाे सोही अन्तर्वार्ताको सम्पादित अंश ।

आफ्नो जीवन समग्रमा कस्तो रह्योजस्तो लाग्छ ?

राम्रै लाग्या छ । जीवन भनेकै प्रयत्नशील छ– कहिले घाम लाग्छ, कहिले पानी लाग्छ । जीवन नै त्यही हो– फूल पनि हो, काँडा पनि हो । दुइटै मानी धैर्यसाथ जिउनु, राम्ररी जिउनु ।

हामीले तपार्इंका निकै मिठा रचना सुनेका छौं, अहिले केही त्यस्ता लेटेस्ट रचना छन् कि छैनन् ?

छन्, नभा होइनन् ।

हामी प्रतीक्षारत छौं, कहिलेसम्म आउँछन्, तपार्इंका नवीनतम रचना ?

त्यो अब हेर्दै जाऔं । कुनै दिन फेरि निकालौंला ।

तपार्इंको नवीनतम रचनाका केही लाइन हामीसँग शेयर गर्न मिल्छ ?

हाँस्दै… अहिले म भन्दिन त्यो ।

बुबाभन्दा पहिले श्रीपेच पहिरिनुभएका तपाईंको जीवन इतिहासविदहरुका लागि समेत अद्वितीय छ । तपाईंका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्छन् । यस्तो पृष्ठभूमिमा नेपालको एउटा राजालाई साधारण नागरिकको जीवनमा सीमित हुनुपर्दा कस्तो लागिरहेछ ?

हाँस्दै… मलार्इ त नेपाली भएर बाँच्नुमा असाध्यै खुसी लाग्या छ । राजा होस् या नहोस्, त्यो अर्को कुरा भयो । त्यो पनि मैले चाहेर भएको होइन । परिस्थितिले मलाई त्यस्तो जिम्मेवारी दिएको जस्तो लाग्छ । र, अहिले सर्वसाधारण भएर बाँचिरहँदा, यो समयमा नेपालीहरुबाट केही अप्ठ्यारो भा छैन, राम्रै लाग्या छ । नेपालमा बाँच्नु नै मेरा लागि सौभाग्य होजस्तो लाग्छ ।

विगततर्फ फर्केर हेर्दा कुनै कुरामा ग्लानि छ यहाँलाई ?

त्यस्तो केही छैन, मलाई त्यस्तो केही छैन ।

फेरि राजतन्त्र पुनरागमनको आशा पनि कतिपयले राखिरहेको देखिन्छ, कत्तिको सम्भव देख्नुहुन्छ ?

यो मलाई सोध्ने होइन तपाईंहरुले, सर्वसाधारण जनतालाई सोध्नुपर्छ ।

मठमन्दिर घुम्नुहुन्छ, पूजापाठमा सक्रिय देखिनुभएको छ । तपार्इंका यी कामलार्इ हिन्दू धर्ममा आस्था राख्नेहरूलाई राजतन्त्रप्रति आकर्षित गर्ने रणनीति भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । हेर्नुस् धर्म भनेको सबै धर्मको उद्देश्य हुन्छ भने शान्ति ल्याउनु । यो देशमा शान्ति छाओस्, अमनचयन होस् भनेर नै सबैले एउटा आस्थालाई विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडि बढ्नुपर्छ, अरु अर्थ लाएर हिँड्नु हुँदैन ।

तपार्इं सक्रिय राजनीतिमा आउने कत्तिको सम्भावना छ ?

त्यो पनि तपाईंले सर्वसाधारणलाई नै सोध्नुपर्छ, मलाई होइन ।

हिमानी ट्रष्टमा तपाईंको सम्बद्धता छ कि छैन ?

हिमानी ट्रष्टमा मेरो सम्बद्धता साँच्चिकै छैन । संरक्षक भनेर मेरी श्रीमतीको नाम छ, मेरो होइन । तर, आफ्नै बुहारी (हिमानी शाह) ले गरेको काममा मेरो चासो नहुने कुरा हुँदैन, त्यसो भए त त्यो असाधारण नै हुन्छ ।

नातिनातिना के बनून् जस्तो लाग्छ ?

हाँस्दै… सबभन्दा पहिले नेपाली बनून् जस्तो लाग्छ ।

दैनिक नेपालबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर