newskoseli.Com

ढुक्क होऔं– गठबन्धनले बहुमतको सरकार बनाउँछ

गिरिराजमणि पोखरेल, उपमहासचिव, नेकपा (माओवादी केन्द्र)

महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँचदलीय गठबन्धनको साथ छ । पोखरेल चुनावी अभियानमा छन् र अहाेरात्र मतदाताको घरदैलोमा पुगेर भाेट मागिरहेका छन् । चुनावी सन्दर्भमा केन्द्रित रहेर धनवीर महतोले माओवादी नेता पोखरेलसँग गरेको कुराकानीकाे सम्पादित अंश–

पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा उत्रनुभएको छ, कहिलेसम्म टिक्ला यो गठबन्धन ?

हामी पाँचदलीय गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौं । देशभरिमा नै सिट बाँडफाँट गरेर गठबन्धनकै तर्फबाट चुनावी प्रतिस्पर्धामा छौं । यो गठबन्धनकै आधारमा देशले बहुमतको सरकार पाउनेमा कुनै शंका छैन । अहिले देशलाई विकासको माध्यमले निकास दिनु आवश्यक छ, जुन काम गठबन्धनले मात्रै गर्न सक्छ । अहिले देशको मुहार परिवर्तनका लागि सत्तारुढ गठबन्धनको आवश्यकता परेकाे हाे । त्यसैले यो गठबन्धनको आयु लामै छ । यो गठबन्धन खड्ग ओली प्रवृत्तिले मुलुकमाथि बलात् थोपरेको प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा गर्न बनेको हो । हामी पाँचै दल त्यसमा एकमत छौं । संविधानको सफल कार्यान्वयनका लागि पनि यो गठबन्धन आवश्यक छ ।

यसअघिको निर्वाचनमा यहाँको पार्टी एमालेसँग ‘वाम गठबन्धन’ मा आबद्ध थियो तर त्यो त टिकेन नि ?

२०७४ काे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी एकताकै कारण देशले तत्कालीन समयमा केपी ओलीको नेतृत्वमा झन्डै दुईतिहाइको सरकार पायो । तत्पश्चात एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । समयक्रमसँगै ओली गुटकै कारण हाम्रो पार्टी पूर्ववत् रूपमा फर्किनुपर्‍यो । म पनि देशहितका लागि मन्त्री पद त्यागेर पार्टीको काममा लागें । त्यसकारण त्यो बेलाको गठबन्धन र अहिलेको गठबन्धनको तुलना हुँदैन । अहिले संविधानको रक्षा गर्नु र प्रतिगमन रोक्नु नै हाम्रो मुख्य उद्देश्य हो ।

माओवादीका कतिपय नेता–कार्यकर्ताहरूले पार्टी छाडे, यसबारेचाहिँ के भन्नुहुन्छ ?

केपी ओलीका कारण नेकपा विभाजित भएपछि हाम्रो पार्टीका केही नेता-कार्यकर्ताहरू एमालेमा लाग्नुभएको कुरा साँचो हो । तर, उहाँहरू जुन गतिमा पार्टी छाडेर एमालेमा जानुभयो, त्योभन्दा तीव्र गतिमा पार्टीमा फर्कंदै हुनुहुन्छ । एमालेमा गएका साथीहरू वाक्क भएर माओवादीमा फर्कंदै हुनुहुन्छ । तपाईं मुलुकभरको स्थिति हेर्न सक्नुहुन्छ । म अहिले ती कुराहरूबारे धेरै चर्चा गर्न चाहन्नँ । महोत्तरीका टेकबहादुर बलम्पाकी माओवादीमै फर्किनुभयो भने रौतहटका प्रभु साह एमाले परित्याग गरी स्वतन्त्र ढंगले चुनावमा हाेमिनुभएको छ । यो तस्बिरले नै तपाईंले सोधेको यस प्रश्नको उत्तर दिँदैन र ?

आसन्न चुनावको परिणाम कस्तो आउला ?

सतारुढ पाँचदलीय गठबन्धनका कारण हामी बलिया छौं । यो गठबन्धनले बहुमत पाउनेछ । यसैका आधारमा सरकार बन्नेछ । ढुक्क हुनाेस्, गठबन्धनले बहुमत ल्याउँछ । गठबन्धनको पक्षमा धेरै माहोल बनेको छ । गठबन्धन बाहिरका कतिपय नेताहरूको हिसाब फेल हुने गरी गठबन्धले मत ल्याउँछ ।

तपाईं महोत्तरी क्षेत्र नं. १ बाट चौथौ पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, तपाईंलाई किन जिताउने ?

मैले यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान निर्माणमा आफ्नो भूमिका खेलें । जनताको पक्षमा संविधान बन्यो । भूकम्प, मधेश आन्दोलन, कोरोना महामारीका कारण निकै चुनौतीपूर्ण अवस्थामा पनि म यहाँका जनतासँग जोडिएर काम गरें । तपाईं १५ वर्ष पहिलेकाे र अहिलेको बर्दिबासको तुलना गर्नाेस् । महोत्तरीमा निकै विकास भएको छ । यो क्षेत्रमा रणनीतिक महत्त्वका कामहरू भएका छन् । भन्नलाई त नेताले केही गरेनन् भन्न सजिलो होला । तर, हामीले गरेका काम हेर्नाेस् । यहाँका जनताले पटक–पटक माया त त्यसै गर्नुभएको होइन होला नि ! सोही कारण यहाँको विकास, संविधानको रक्षा र समृद्धिका लागि यहाँका जनताले मलाई पुनः मत दिनुहुन्छ ।

शिक्षामन्त्री हुँदा देशकै गौरवका रूपमा परिचित बर्दिबास मेडिकल कलेजको प्रक्रिया शुभाराम्भ गरें । गौशाला आयुर्वेदिक शिक्षालय र गौशालामा रेल्वे इन्जिनियरिङ कलेजको पठनपाठन गराउने योजना अगाडि ल्याएको छु । त्यस्तै, निगौल गाई गौशालामा गाईको अनुसन्धान र पशु तथा कृषि शिक्षाका लागि नगरपालिकाको समन्वयनमा चितवनको रामपुर कलेजको आंगिक कलेजका रूपमा पठनपाठन गराउने प्रक्रिया अन्तिम चरणमा छ ।

मतदाताको अपेक्षाचाहिँ कस्तो पाउनुभयो ?

यहाँका जनताको मुख्य चिन्ता र चासो शिक्षा र स्वास्थ्यको विकासमा रहेको छ । म चाहन्छु, यहाँका सर्वसधारणले स्वास्थ्य र शिक्षा सर्वसुलभ र सहज रूपमा पाऊन्, त्यसबाट कोही पनि वञ्चित हुनु नपरोस् । जनताको अपेक्षा पनि यही छ । त्यसका लागि यस क्षेत्रका जनता मलाई नै नेतृत्व दिन उत्सुक हुनुहुन्छ । म यो क्षेत्रको विकासका लागि ठूलठूला योजनाहरू ल्याउनेछु ।

तर, गत स्थानीय चुनावमा यस क्षेत्रमा माओवादीले अपेक्षाकृत नतिजा निकाल्न सकेन नि, हाेइन ?

स्थानीय निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बीचमा धेरै भिन्नता छ । प्रतिनिधिसभाको निर्वाचनमा जनता राष्ट्रिय एवम् दीर्घकालीन मुद्दाको सम्बोधन होस् भन्ने चाहना राख्छन् । त्यसका लागि दक्ष, अनुभवी, प्रखर वक्ता अनि जुझारु नेताहरू छानिन्छन् । यस क्षेत्रका जनताको मनशाय पनि त्यस्तै देखेको छु । अहिलेका मतदाता हरेक विषयवस्तुलाई सूक्ष्म ढंगले मनन गरिरहनुभएको छ । त्यसैले स्थानीय निर्वाचनमा जे–जति कारणले उम्मेदवारहरू पराजित हुनुभयो, अहिले त्यस्तो स्थिति छैन । तर, दुवै चुनावका लागि साझा विषय भनेको जनताको मत नै हो । म ती चुनावमा भएका कमी–कमजोरी पहिल्याउने कोसिसमा छु । म ती गतिविधिलाई एकदमै नजिकबाट नियाल्दै र मनन् गर्दै अगाडि बढिरहेछु । वैशाखमा असन्तुष्ट रहनुभएका नेता-कार्यकर्ताहरू पनि अहिले पार्टीको र हाम्राे पक्षमा हुनुहुन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर