newskoseli.Com

ठाकुर–महतोलाई उपेन्द्रको प्रश्न : एक घन्टाअघि प्रतिगमनकारी, एक घन्टापछि महान् ?

प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख देखिएको छ । सो पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित उनीहरू पक्षधर झन्डै आधाजसो नेता र सांसदहरू खड्ग ओली नेतृत्वको वर्तमान सरकार टिकाउनुपर्ने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवसहित उनीहरू पक्षधर आधाभन्दा बढी नेता र सांसदहरू अविश्वासको प्रस्तावलाई समर्थन गरेर ओली सरकार ढाल्नुपर्ने पक्षमा उभिएका छन् ।

यसै सन्दर्भमा ठाकुर–महतो पक्षको अनुपस्थितिमै बाबुराम–उपेन्द्र पक्षीय बहुमत नेताहरूले लुम्बिनी प्रदेशमा भर्खरै मन्त्री बनेका चारजना प्रदेश सांसदमाथि कारबाही गर्ने र केन्द्रमा ओलीविरूद्ध आउने अविश्वासको प्रस्तावका पक्षमा उभिने निर्णय गरेको खबर शुक्रबार सार्वजनिक भएको छ । यसै सेरोफेरोमा उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले भनेका छन्– ‘ओली प्रतिगमनकारी हुन् भनेर ठाउँ–ठाउँमा सभा गरेर बोल्ने पनि त उहाँहरू हो । त्यसको जवाफ जनतालाई के दिने ? जनता सडकमा उत्रिए, लडे । त्यसैको बलमा प्रतिगमनको एक स्टेप खारेज भयो । अहिले पनि प्रतिगमनको प्रयास भइरहेका छन् । एक घन्टाअगाडि प्रतिगमनकारी भन्ने र एक घन्टा पछाडि महान् नेता भन्ने ! त्यो प्रवृत्ति ठीक होइन । पार्टीको निर्णय नै हो, प्रतिगमनकारी शक्तिका कारण लोकतन्त्र र संघीयता खतरामा छ, त्यसबाट मुलुकलाई जोगाउनुपर्छ ।’

ओली सरकारले ‘मधेसवादी’ नेता–कार्यकर्तामाथिको मुद्धा फिर्ता गरिरहेकाले उनैलाई सघाउनुपर्छ भन्ने ठाकुर–महतो पक्षको दलिलको प्रतिवाद गर्दै अध्यक्ष यादवले भनेका छन्– ‘केही सामान्य मुद्दा फिर्ता गरिएको छ, ती मुद्दा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदैखेरी लगाइएका हुन् । मुद्दा लगाउने र गलत तरिकाबाट जनतालाई हैरान पार्ने काम उनैले गरेका हुन् । आज अलिकति आफू अप्ठ्यारोमा परेका बेला समर्थन खोज्नका लागि मुद्दा फिर्ता गर्ने ? सबै झूट्टा मुद्दा खारेज गर्नुपर्छ । सबै राजबन्दी रिहा गर्नुपर्छ, हाम्रो माग हो, त्यसमा कुनै अन्यथा छैन र त्यो प्रशासनिक कार्य हो । त्यसको बदलामा राजनीतिक विचार, उद्देश्य, लक्ष्य परिवर्तन हुँदैन, त्यो साटासाट वा कम्प्रोमाइज हुने विषय होइन; उनीसँगै सती जाने र प्रतिगमनको मतियार हुने कार्यबाट बच्नुपर्छ ।’ अध्यक्ष यादवसँगको यो अन्तर्वार्ता शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर