newskoseli.Com

राष्ट्रपति–उपराष्ट्रपतिले कति पाउँछन् तलब ? अरु सुविधा के–के ?

बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बीमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायतका सेवा–सुविधा पाउँछन् । ती सेवा–सुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ ।

उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवा–सुविधाको व्यवस्था गरेको छ । ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकवापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन् । राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था छ । उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा वार्षिक २० हजार पोसाक भत्ता पाउने व्यवस्था छ ।

राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर नै अतिरिक्त रकम दिने व्यवस्था समेत गरिएको छ । उक्त रकम भने अतिथि सत्कार तथा भैपरी आउने खर्च शीर्षकअन्तर्गत छुट्याइन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशका अस्पतालमा भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था समेत सोही ऐनले गरेको छ ।

ऐनअनुसार राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भए त्यसवापत तीन जनासम्मको खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिकोे उपचार खर्चवापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्ने व्यवस्था ऐनमा छ ।

‘राष्ट्रपति तथा उपराष्ट्रपतिको आवासका लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिनेछ, घरको मर्मत र सम्भार नेपाल सरकारबाट हुनेछ तथा घरका लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुनेछ’– ऐनमा उल्लेख छ । राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो धर्म–संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष उपलब्ध गराउने व्यवस्था पनि छ ।

ऐनअनुसार आफ्नो पदीय काममा सहयोग पुर्‍याउन राष्ट्रपतिले सातजना र उपराष्ट्रपतिले पाँचजना विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम–कारबाहीका विषयमा पदमा रहँदा वा सेवानिवृत्त भएपछि पनि अदालतमा मुद्दा चलाइने छैन भनी ऐनमा उल्लेख छ । यसैगरी २५ लाख रूपैयाँ बराबरको बीमाको व्यवस्था गरिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशमा भ्रमण गर्दा ३ हजार ३ सय रूपैयाँ तथा विदेश भ्रमणमा जाँदा २ सय ५० अमेरिकी डलर दैनिक भत्ता तोकिएको छ । युरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुबेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमणमा जाँदा भने उल्लेखित दरमा ३३ प्रतिशत रकम थपेर दिने व्यवस्था पनि ऐनमा गरिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट श्रेणीसरह) एक–एकजना कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ । स्वकीय उपसचिव (रा.प. प्रथम श्रेणीसरह) राष्ट्रपतिका लागि २ जना तथा उपराष्ट्रपतिका लागि १ जना व्यवस्था गरिएको छ । यसैगरी, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उपस्वकीय सचिव (रा.प. द्वितीय श्रेणीसरह), स्वकीय अधिकृत (रा.प. तृतीय श्रेणीसरह), कम्प्युटर सहायक, फोटोग्राफर, प्रेस संयोजक (रा.प. अनंकित प्रथम श्रेणीसरह), सवारी चालक (श्रेणीविहीन) तथा कार्यालय सहयोगीको समेत व्यवस्था गरिएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर