newskoseli.Com

‘रेशम फिलिली’ २०७२ काे हिट नेपाली चलचित्र

गत वर्षकाे  वैशाख ११ गते रेशम फिलिली भन्ने नेपाली चलचित्र काठमाडाैंका हलहरूमा प्रदर्शन शुरू भयाे । पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । भाेलिपल्ट बैशाख १२ गते भूकम्प अायाे र सबै हलहरू बन्द भए । याे चलचित्रकाे एउटा गीत, पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला …”, अति नै चर्चित गीत हो । गत वैशाखमा नयाँ वर्ष सुरु हुन अघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुञ्जिएको थियो ।

यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश विदेशका दर्शक र श्रोताले कैयौं नृत्यका दृश्य छायाँङ्कन गरेर यु ट्युबमा राखे । कतिपयले त यो गीतमा राजनीतिक नेता, नेत्री र चर्चित व्यक्तिहरु नाचेको व्यङ्ग्यचित्र समेत बनाए ।

भूकम्पका कारण देशको धेरै क्षेत्रमा क्षति पुग्यो । चलचित्र क्षेत्र पनि अछूतो रहेन । त्यसमा पनि धेरै क्षति त ‘रेशम फिलिली’लाई भयो । धेरै व्यापार गर्ने आश गरिएको चलचित्रको प्रदर्शंन रोकियो । त्ससपछि हलमा दुई महिनाभन्दा बढी समयसम्म कुनै चलचित्र चलेनन् ।

नायक विनय श्रेष्ठले निर्माण गरेको तथा प्रणव जोशीले निर्देशन गरेको ‘रेशम फिलिली’ भदौ ५ गते पुनः प्रदर्शनमा आयो । यसले औसतभन्दा राम्रै व्यापार गर्यो तर ‘पिरतीको छाता ओढाउँला’ गीत जस्तै लोकप्रिय र राम्रो नभएको समीक्षा आयो ।

त्यसो त यसै वर्ष देशले भोगेका विनाशकारी भूकम्प, संविधान निर्माणसँगै भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दी जस्ता समस्याले करिव आधा वर्ष सबै क्षेत्र ठप्प रहँदा त्यसको मार चलचित्र क्षेत्रले पनि भोग्नुपर्यो । यति हुँदाहुँदै पनि ‘रेशम फिलिली’सँगै ‘होस्टेल रिटन्र्स’, ‘भैरब’, ‘वडा नं ६’, ‘परदेशी’, ‘लुटेरा’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’लगायत करिब एक दर्जन चलचित्र सफल भए । नेपाली चलचित्र उद्योगकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ भूकम्पलगायतका विविध समस्या रहे पनि केही चलचित्र सफल हुनुलाई नराम्रो सङ्केत मान्नुहुन्न । उहाँ भन्नुहुन्छ, “भूकम्पपछि ५÷६ महिना चलचित्रसम्बन्धी केही काम भएन । तर पनि यस क्षेत्रमा मिश्रित फल आयो, यो सकारात्मक हो ।”

भूकम्पपछिको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पशुपतिप्रसाद’ र वैदेशिक रोजगारीमा जाने युवाको कथा समेटिएको ‘राहदानी’ले उत्कृष्ट कथा भएका चलचिलको दर्जा पाए । रङ्ग पत्रकार विदुर गिरी यस्ता चलचित्रलाई नै अब मूलधारका चलचित्र मान्ने परिपाटीको विकास गर्नुपर्ने तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ अलिकति राम्रो कथाका चलचित्र बने भने बेग्लै धार भन्ने चलन छ तर अहिले जे चलिरहेको छ, दर्शकले जे रुचाउँछन् त्यही नै मूलधार हो ।”

‘फागु द कलर्स अफ द लाइफ’, ‘बागमती’, ‘चकलेट’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रले धेरै प्रचारप्रसार गरेपनि सफलता पाएनन् । यो वर्ष बनेका कतिपय चलचित्र कहिले आए, कहिले प्रदर्शन भए र कहिले गए भन्ने नै पत्ता भएन । त्यसैले, चलचित्र समीक्षक प्रकाश साय्मी यो वर्ष नेपाली चलचित्र बढी हल्लामा चलेको आरोप लगाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो वर्षका प्रायः चलचित्र पहिलाको तुलनामा गम्भिर विषयवस्तुका छैनन् । पुरानै धार छ, मात्र अभिनय शैलीमा थोरै फरक ल्याएको हो ।”

यो वर्ष ‘भैरब’ चलचित्रको निर्माण र निर्देशन गर्दै करिव ५ वर्षपछि फर्किएका निखिल उप्रेती सफल रहे । त्यस्तै, आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, र अनमोल केसी सफल नायकमा गनिए भने प्रियङ्का कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा जस्ता नायिकाको अभिनय मन पराइयो । त्यस्तै, नवप्रवेशी नायक प्रदीप खड्का, आमेश भण्डारी, पल शाह र नायिका साम्राज्ञी शाह, आँचल शर्मा, वर्षा राउतलाई सम्भावना बोकेका कलाकारको दर्जा दिइयो ।

सदाबहार नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको चर्चा भएपनि राजेशले खेलेको ‘बागमती’ र करिश्माले बनाएको ‘फागु द कलर्स अफ द लाइफ’ले दर्शकको मन जित्न सकेनन् । कतिपय चलचित्र सफल भएपनि नायक÷नायिका सफल भएनन् भने कतिपय चलचित्र नचलेपनि केही कलाकारले चर्चा पाए ।

चलचित्र विकास बोर्डमा यो आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० वटा चलचित्र दर्ता भए । त्यसमा केही चलचित्र गुरुङ, थारु र भोजपुरीजस्ता भाषाभाषीका पनि छन् ।

बोर्डका निर्माण अधिकृत गिरिश शर्मा भन्छन् –पछिल्लो वर्षको तुलनामा यो वर्ष कम चलचित्र प्रदर्शन भयाे। उनकाे भनार्इमा  “भूकम्प, नाकाबन्दी, आन्दोलन र चलचित्र निर्माण सम्बन्धी मापदण्डका कारण यो वर्ष कम चलचित्र निर्माण भएका हुन् ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर